चीनमा फैलिएको कोरोना भाइरसजस्तै मानिने ह्यूमन मेटान्युमोभाइरस (एचएमपीभी) भारतमा पनि देखिन थालेको छ।
पछिल्लो पटक गुजरातको अहमदाबादमा दुई महिने शिशुमा यो भाइरस पाइएको हो। यसअघि, कर्नाटकमा तीन महिनाको बालीका र आठ महिनाको बालकमा यो भाइरस पुष्टि भएको थियो।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कर्नाटकका दुई बालबालीकाहरु नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका थिए। परीक्षणपछि उनीहरूमा एचएमपीभी पुष्टि भएको हो।
यध्यपि कर्नाटक स्वास्थ्य विभागले भने बच्चाहरूको नमुना निजी अस्पतालमा परीक्षण गरिएकाले सरकारी प्रयोगशालामा पुष्टि नभएको जानकारी दिएको छ।
अहमदाबादस्थित ओरेन्ज अस्पतालका डा. नीरव पटेलका अनुसार, ‘दुई महिने शिशुलाई १५ दिनअघि गम्भीर अवस्थाका कारण अस्पताल भर्ना गरिएको थियो। शिशुलाई चिसो र उच्च ज्वरो थियो। पाँच दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। त्यसपछि परीक्षण गर्दा एचएमपीभी पुष्टि भयो।’
कर्नाटकका मुख्यमन्त्री सिद्धारमैयाले यो भाइरस पुष्टि भएपछि स्वास्थ्य मन्त्री दिनेश गुन्डु रावसँग छलफल गरेका छन्। उनले सरकारले भाइरस नियन्त्रणका लागि सबै उपाय गर्ने बताए।
स्वास्थ्य मन्त्री दिनेश गुन्डु रावले भने, "यो कुनै गम्भीर भाइरस होइन। यो एक प्रकारको फ्लु भाइरस हो। डराउनु आवश्यक छैन। हामीले यसबारे भारत सरकारसँग छलफल गरिरहेका छाैं।"
एचएमपीभी संक्रमित व्यक्तिहरूमा चिसो, ज्वरो, खोकि, गलेमा खराश, र सास फेर्न गाह्रो हुने लक्षण देखिन्छ। यो भाइरसबाट साना बालबालिका, विशेष गरी दुई वर्षमुनिका, बढी प्रभावित हुने देखिएको छ।
भाइरसबारे भारतको केन्द्र सरकारले भनेको छ ‘चीनमा यो भाइरसको कारण आपतकालीन अवस्था जस्तै देखिए पनि भारतमा यो सामान्य फ्लु भाइरसकै रूपमा देखिएको छ। हामी सास सम्बन्धी रोगको उपचार र निगरानीका लागि पूर्ण तयार छौं।’
एचएमपीभी के हो ?
यो एक आरएनए भाइरस हो, जसले चिसो, ज्वरो, र सास फेर्न गाह्रो हुने समस्या निम्त्याउँछ।
यो कसरी फैलिन्छ ?
संक्रमित व्यक्तिको सम्पर्कबाट, हाच्छ्युँ या खोकीबाट यो भाइरस सजिलै फैलिन्छ।
लक्षण के हुन् ?
प्रारम्भिक लक्षण सामान्य फ्लुजस्तै हुन्छन्। गम्भीर अवस्थामा निमोनिया र ब्रोंकाइटिस हुन सक्छ।
को जोखिममा छ ?
साना बालबालिका, वृद्धवृद्धा, र कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरू।
के यसको उपचार छ ?
हालसम्म यो भाइरसको विशेष औषधि वा खोप छैन। गम्भीर अवस्थाका बिरामीलाई अक्सिजन थेरापी र अन्य सहायक उपचार गरिन्छ।
प्रकाशित: २२ पुस २०८१ १४:४१ सोमबार