चीन सरकारले नेपाललाई करिब ९ अर्ब बराबरको अनुदान सहयोगको घोषणा गरेको छ । नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चीन सरकारले नेपाललाई उक्त अनुदानको घोषणा गरेको हो ।
जसमा पाँच अर्ब ६० करोड जति नेपाली रकम विभिन्न परियोजना सञ्चालन गर्न र साढे तीन अर्ब सरकारलाई नगद(बजेटरी) अनुदान उपलब्ध गराउने चीनको घोषणा प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।
चिनियाँ सहयोगमा निर्माण हुने परियोजना सञ्चालन गर्न प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी सम्झौता नै भएको छ । उक्त बजेट नेपाल र चीनले पहिचान गरेका उत्तरी सीमा क्षेत्रका योजनाहरूमा खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ ।
यस्तै बजेटरी सहयोग अनुदानका लागि पनि सम्झौता भएको छ । साढे तीन अर्ब रकम नेपाल सरकारले आफ्ना आवश्यकताअनुसार खर्च गर्न सक्ने अर्थ मन्त्रालयले बतायो । जुन नेपालकै सरकारी कोषमा जम्मा हुनेछ ।
प्रकाशित: १८ मंसिर २०८१ १९:३४ मंगलबार