नेपाली कांग्रेसका नेतात्रय प्रकाशमान सिंह, विमलेन्द्र निधि र शशांक कोइरालाबीच बुधबार (आज) दोस्रो 'ट्रायलग' भयो। यसलाई उनीहरूले 'लञ्च मिटिङ' पनि भन्दछन्।
उपप्रधान तथा सहरी विकासमन्त्रीसमेत रहेका सिंहले निधि र कोइरालालाई आफ्नै निवास चाक्सीबारी बोलाएर संवाद गरे। ठीक यसैगरी गत असोज ६ गते कोइरालाले सिंह र निधिलाई आफ्नै निवास महाराजगञ्ज बोलाएर संवाद गरेका थिए।
तीन नेताले आफूहरूबीचमा भइरहेको कुरोको चुरो भने बाहिर्याउँदैनन्। संवादका विषयबारे सोध्दा आफूहरूको बीचमा पार्टी जीवन, सरकारको सन्दर्भमा कुरा भएको बताउँछन्। बुधबारको संवादबारे निधिले नागरिकसँग भने, 'पार्टी र सरकारलाई कसरी सफल बनाउने भन्नेबारे कुरा भयो। अरु केही होइन।'
नेताहरूले संवादको विषय नबाहिर्याए पनि उनीहरूको बीचमा पार्टीको १५औं महाधिवेशनबारे छलफल हुने ठम्याउन गाह्रो छैन। रोचकचाहिँ के भने लामो राजनीतिक विरासतबाट आएका यी तीनैजना १५औं महाधिवेशनमा पार्टी सभापतिका आकाङ्क्षी हुन्।
२०७८ को मंसिरमा सम्पन्न १४औं महाधिवेशनमा पनि निधि र सिंह त सभापतिको उम्मेदवार नै बनेका थिए। तर, सम्मानजनक मत नपाएका उनीहरूले दोस्रो चरणको मतदानमा शेरबहादुर देउवालाई नै सघाए।
विधानत: कांग्रेसमा सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत पाउनुपर्छ। पहिलो चरणको मतदानमा ५० प्रतिशतभन्दा बढी मत नपाएका देउवालाई निधि र सिंहसहित अरु उम्मेदवारहरूले पनि सघाउँदा सभापति निर्वाचित भएका थिए।
तर, अब भने देउवा सभापतिका उम्मेदवार बन्न पाउँदैनन्। विधानअनुसार कांग्रेसमा दुई पटकभन्दा बढी सभापतिको उम्मेदवार बन्न पाइँदैन। १३औं महाधिवेशनमा पहिलोपटक सभापति बनेका देउवा १४औं महाधिवेशनमा दोस्रोपटक सभापति निर्वाचित भए।
अब भने उनले उम्मेदवार बन्न पाउँदैनन्। जसै उनले अब आफू सभापतिबाट बिदा हुने घोषणा गरिसकेका छन्। सँगै उनले यो पनि भनेका छन् कि आफ्नो समर्थन पार्टीलाई जीवन्तता दिन सक्ने नेतालाई रहन्छ।
त्यसो त चर्चा के पनि गरिन्छ भने देउवाले आफ्ना निकटस्थहरूसँग एकपटक एउटा सन्दर्भमा अब आफ्नो समर्थन 'बीपीका छोरालाई' हुने बताएका थिए। बीपीका छोरा कोइराला हुन्। १४औं महाधिवेशनमा उनले देउवालाई नै समर्थन जनाउँदै उम्मेदवारी दिएका थिएनन्।
कोइरालाले निधि र सिंहसहितको पहिलो लञ्च मिटिङ आयोजना गरेका थिए। अहिले भने उनी सिंह निवास चाक्सीबारी पुगेर मिटिङमा सहभागी भए। सिंह र कोइरालाको लञ्च मिटिङमा आफू सहभागी भएको र अब आफूले पनि चाँडै दुई नेतालाई बोलाउने निधि बताउँछन्।
'पहिले पनि हामी बसेका थियौँ। आज पनि बस्यौँ, यो पहिलेकै मिटिङको निरन्तरता हो। अझै पनि बस्छौँ। अब मेरो पालो छ। म पनि चाँडै उहाँहरूलाई बोलाउँछु,' निधि भन्छन्।
१५औं महाधिवेशनबारे संवाद गर्नुभएको हो भन्ने जिज्ञासामा उनी भन्छन्, 'महाधिवेशनबारे कुरा गरेका छैनौँ। पार्टी सरकारमा छ, यस्तो अवस्थामा कसरी पार्टी र सरकार दुबैलाई सफल बनाउने भन्नेबारे कुरा हुने गरेका छन्। महाधिवेशनको त मिति नै तोकिएको छैन।'
उसो त कांग्रेसको १५औं महाधिवेशन ०८२ को मंसिरभित्र भइसक्नुपर्छ। विभिन्न कारणले असम्भव देखिएमा ६ महिना समय थप गर्न सकिने कांग्रेसको विधानमा उल्लेख छ। तदनुरूप कांग्रेसको १५औं महाधिवेशन कम्तीमा ०८३ को जेठसम्म भइसक्नुपर्छ।
यसरी हेर्दा अब डेढ वर्ष पनि राम्रो छैन। सबै नेताहरू एक हिसाबले १५औं महाधिवेशनको तयारीमा जुटिसकेका छन्। अझ सभापतिका आकाङ्क्षीहरू आक्रामक तयारीमा जुटेका छन्।
त्यसमा खासगरी डा. शेखर कोइराला, गगन थापालगायतका नेताहरू छन्। अहिलेका लागि यी सबै नेताहरूको नीति देउवालाई रिझाउने देखिन्छ।
एकपटक देउवा रिझाउन तम्सिएका तर, सम्भव नदेखेपछि आफैँ आक्रामक तयारीमा जुटेका छन् डा. शेखर कोइराला। अहिले गगन थापा त्यो लाइनमा छन्। उनी संस्थापन बन्ने दाउमा देखिन्छन्। त्यसमा देउवा पनि सकारात्मक रहेको थापानिकट नेताहरूको दाबी छ। उनीनिकट एक नेता नागरिकसँग भन्छन्, 'उहाँ (शेरबहादुर देउवा) गगन थापासित सकारात्मक हुनुहुन्छ। उहाँले गगन थापाले पार्टीका तर्फबाट उठाउनुभएको विभिन्न विषयका लागि धन्यवादसमेत दिने गर्नुभएको छ।'
डा. शेखर कोइराला र गगन थापापछि भने सभापतिका सशक्त उम्मेदवार लञ्च मिटिङ गरिरहेका यी तीन नेता नै हुन्। के भनिन्छ भने यी तीन नेताले संवाद गरेर एक जनाको मात्रै नाम देउवालाई बुझाउन कसरत गरिरहेका छन्।
यो आश्वासन देउवाले नै दिएको बताइन्छ। तीन जनामध्ये सर्वसम्मतिमा एक जनाको मात्रै नाम आए त्यसलाई आफूले सहर्ष स्वीकार्ने देउवाले बताएको चर्चा कांग्रेस राजनीतिक वृत्तमा छ।
यसबारे सोध्दा देउवा निकट नेता मीन विश्वकर्मा भन्छन्, 'उहाँ (शेरबहादुर देउवा) ले सभापतिमा नउठ्ने घोषणा गरिसक्नुभएको छ। उहाँले नेताहरूलाई मिलेर अगाडि बढ्न भन्नुभएको छ।'
यसर्थ, निधि, सिंह र कोइराला त्यसकै कसरतमा छन् ? निधि यो कुरा अस्वीकार गर्छन्। 'मूलत: पार्टी र सरकार नै हाम्रो छलफलको एजेन्डा हो। तर, मिलेर अगाडि बढ्ने कुरा छँदैछ,' उनले भने।
तर, कांग्रेसमा यतिचाहिँ हो कि देउवाको समर्थन जसलाई हुन्छ, त्यो नै भावी सभापति हुने निश्चितप्राय: देखिन्छ। यो लाइनमा अहिले गगन थापासमेत छन्। डा. शेखर कोइराला त यो मामिलामा धेरै अगाडि पुगिसकेका छन्।
जे होस्, निधि, सिंह र कोइराला सर्वसम्मत रूपमा एक जनाको मात्रै नाम चयन गर्न कसरतमा छन् सम्भवत:!
यो पनि पढ्नुहोस्
संस्थापन बन्ने दाउमा गगन, सभापतिको तीव्र तयारीमा शेखरप्रकाशित: १७ पुस २०८१ २०:५५ बुधबार