सञ्चारकर्मीका रूपमा प्रशिद्धि कमाएका रवि लामिछानेले ०७९ असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घोषणा गर्दा एक तन्नेरी डाक्टर उनीपछि पार्टीको प्रमुख कार्यकारी पदीय जिम्मेवारीमा देखिए। उनी थिए, महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाल। तीनै मुकुलले रास्वपाको प्रारम्भिक दस्तावेजहरू तयार पारेको बताउने गरेका छन्।
पार्टी निर्माणका क्रममा त्यसपछिका दुई वर्ष मुकुल रविको दाहिने हातझैँ देखिइरहे। पार्टी निर्माणको पाँच महिनामै भएको प्रतिनिधिसभा निर्वाचनमा रास्वपा देशको चौथो ठुलो दल बन्यो। त्यसपछि राष्ट्रिय राजनीतिमा जसरी रविको हाइहुकुम चल्नथाल्यो, त्यसैगरी रास्वपाभित्र मुकुलको हाइहुकुम चल्थ्यो।
लगत्तै रास्वपाको सत्तारोहणसँगै रविका अनेक विवादहरू सामुन्ने आउनथाले। ती विवादको प्रतिरक्षामा मुकुल चट्टानजस्तै उभिइरहे। रविका हरेक निर्णय र पाइलाहरूमा साथ दिइरहे।
यसैक्रममा ०८० फागुनमा रास्वपा पुनः सत्तामा फर्कियो। रवि दोस्रो पटक उपप्रधानसहित गृहमन्त्री बने। त्यसपछि रवि जोडिएको सहकारी ठगी मुद्दा सतहमा आयो। रवि, जिबी राई र छबिराज जोशी मिलेर खोलेको गोर्खा मिडिया नेटवर्कमा नियमविपरीत सहकारीको रकम लिएर हिनामिना गरेको आरोपसँगै रवि अर्को नयाँ विवादमा तानिए।
यसैक्रममा इलाममा भएको उप-निर्वाचनमा रास्वपाले अपेक्षाकृतभन्दा निकै खराब नतिजा प्राप्त गर्यो।
यसलगत्तै जेठ ६ गतेदेखि असार ५ गतेसम्म ‘समीक्षा यात्रा’ भन्दै मुकुलले देशका ३८ जिल्ला चहारे। जसमा भेटिएको तथ्य भन्दै उनले ३२ पेजको प्रतिवेदन बनाए। त्यो प्रतिवेदनमा जे तथ्य उनले उल्लेख गरे त्यसबाट रवि र उनका निकटस्थहरू भड्किए। त्यही प्रतिवेदनकै कारण पहिले स्पष्टीकरण सोधेर रास्वपाको केन्द्रीय समितिले असार २५ गते उनलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट हटायो। त्यसपछि भदौ ११ बाट उनलाई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निकाल्यो।
यसरी मुकुलमाथि कारबाही गर्दा रास्वपाभित्र उनको पक्षमा बोल्ने एकजना पनि देखिएको थिएन। सबै केन्द्रीय सदस्यको एकमतबाट उनीमाथि कारबाही गरिएको बताइएको थियो।
पहिलो कारबाहीको ६ महिनापछि बल्ल मुकुलको कारबाहीविरुद्ध पहिलो पटक रास्वपाभित्र कुरा उठेको छ। कोसी प्रदेश सभापति राजेश तिम्सिनाले कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई लिखित पत्र नै लेखेर कोर्ष करेक्सन गरेर मुकुललाई पुरानै जिम्मेवारीमा फर्काउनुपर्ने भनेका छन्। मधेस प्रदेश सभापति तपेश्वर यादवले पनि मुकुलमाथिको कारबाहीकै आशय दिने किसिमले पत्र लेखेका बताइएको छ। दुवैजना केन्द्रीय सदस्य समेत हुन्।
यसरी आफैले खोलेको पार्टीबाट कारबाहीमा पर्दा मुकुलको पक्षमा कोही चुइँक्क नबोलेको स्थितिदेखि आज कोही बोल्न थालेको प्रशंगबारे नागरिककर्मी अरूण बमले उनै डा. मुकुल ढकालसँग कुराकानी गरेका छन्। प्रस्तुत छ, त्यही कुराकानीको सम्पादित अंशः
–तपाईंलाई पार्टीले कारबाही गरेपछि पहिलो पटक ‘कोर्ष करेक्सन’ सहित कारबाही फिर्ता लिएर पुरानै जिम्मेवारीमा फर्काउने कुरा रास्वपाभित्र उठेको छ। यसलाई कसरी लिनुभएको छ ?
साथीहरूले यसरी लोकतान्त्रिक रूपमा यसरी बुझिदिन थाल्नुभएकोमा खुसी लागेको छ। मैले कहीँकतै गल्ती गर्दैन भन्ने पनि होइन्। साथीहरूले म बाट भएका गल्ती सच्याउनुपर्छ भने सच्याउँला। वैचारिक मतभिन्नतामा भएका समस्यामा सबैले बुझ्ने क्षमता राख्नुपर्छ। म इगो राखेर बस्नेमा छैन। मिलेर जानुपर्छ, पार्टी जोगाउनुपर्छ। ०८४ को जो हाम्रो मिसन छ त्यसलाई तुहिन दिनुहुँदैन भन्नेमा म छु।
–तपाईंले जुन तहमा पुगेर रवि लामिछानेको आलोचना गर्नुभयो त्यसपछि रवि र मुकुल एउटै ठाउँमा मिलेर बस्ने सम्भावना कहीँकतै बाँकी छ र ? यस्तो अवस्थामा कसरी हुन्छ कोर्ष करेक्सन ?
कुरो के हो भन्दा मैले आलोचना गरेको तहको परिणामको कुरा आइसक्यो। अदालतले फैसला गरिसकेको अवस्थामा अदालतले उहाँलाई निर्दोष भनिदियो भने त मैले माफी माग्नुपर्छ। म माफी माग्न तयार छु। यदि अदालतले उहाँलाई निर्दोष होइन भन्यो भने त त्यतिबेला ठिक म विषय उठाउन्न साथीहरूले त्यहाँ ‘मिड प्वाइन्ट’ त हुनसक्छ नि त। जुन विषयले प्रारम्भ भयो त्यो कुरा प्रक्रियामा छिरेर परिणाम दिन लागिसक्यो, त्यो परिणामलाई स्विकार्नु भनेको नै मिलनबिन्दू हो। त्यहाँ पनि एकले अर्कालाई निषेधको रूपमा होइन, मिलमिलापको कुरा गर्नुपर्छ। बिपी कोइरालाले मेलमिलापको नीति लिएर आउनुभएको थियो, कांग्रेसको मान्छेले लिएर आएको हामी नमान्ने भन्ने त हुन्न। हाम्रो पार्टीले बिपिलाई पनि धन्यवाद भनेको छ, पुष्पलाललाई पनि धन्यवाद भनेको छ। मेरो मात्र होइन, सभापति रवि लामिछानेकै भाषणमा सुन्नुभएको होला। त्यो मेलमिलाप जसरी हामी सबै मिल्नुपर्छ। नमिलिकन हुँदैन। मिल्ने किन त भन्दा अदालतको फैसला निष्पक्ष हुन्छ, मैले पनि मान्नुपर्यो। विधिको शासन मान्ने, लोकतान्त्रिक देश चाहनेले अदालतको फैसला मान्नुपर्यो। अदालतको फैसला मानौं अगाडि बढौं।
–भनाईको अर्थ रवि लामिछानेको मुद्दामा आउने अदालतको फैसलामा रास्वपाभित्रको द्वन्द्व समाधान र कोर्ष करेक्सन सम्भवना छ भन्नुभएको हो ?
हो, अदालतको फैसलालाई स्विकार गर्नु नै लोकतान्त्रिक, विधिको शासनको, पार्टीको मूल्यमान्यता अनुसार हाम्रो मुख्य कुरा नै त्यही हो। मैले स्विकार्दिनँ भने म पनि अराजक हो, अर्को कोही भन्छ भने त्यो पनि अराजक हो। पार्टीको मूल्यमान्यता विपरीतको मान्छे हो। हामी जुन संवैधानिक समाजवादको कुरा गर्छौं, प्रस्तावनादेखि लिएर पार्टीको विधानमा पनि लेखिएको छ। लोकतान्त्रिक विधि मान्छौं, कतिपय अन्तर्राष्ट्रिय प्रचलित अभ्यासहरू पनि मान्न सक्छौं नि त।
–अदालतले रविजीलाई निर्दोष देखाए म माफी माग्छु भन्नुभो। यदि उहाँलाई अदालतले दोषी करार गरे अहिलेको कार्यवाहक अध्यक्ष नेतृत्वको रास्वपाले तपाईंलाई पार्टीमा फर्काउने सम्भावना देख्नुहुन्छ ?
अब कुरा के हो भने राजनीतिक रूपले लोकतान्त्रिक पार्टीले त्यो लेभलको स्विकार्यता हामीमा ल्याएनौं भने जब जनतामा गइन्छ, जनताले के बुझ्छन्। जनतालाई त्यति मुर्ख सोच्नुभएन, जनताले सबै कदम हेरेका हुन्छन्। व्यक्तिगत इगो राखेर हामी अगाडि बढ्यौ भने कहाँ देश अगाडि बढ्छ। हामी पुरानो भन्दा फरक भएनौं नि त। मानवीय रूपमा कुनै बेला इगो आउनसक्ला, जब राष्ट्रको कुरा, पार्टी संकटको कुरा आइसक्यो त्यो बेलामा पनि इगो साँधेर हुन्छ ? सक्किने स्तरको कुरा हो नि त यो।
तपाईंले देश दौडाहापछि ‘समीक्षा यात्रा’ को जुन प्रतिवेदन बनाउनुभयो, त्यसपछि रास्वपाभित्र तपाईं कुनै शक्तिबाट परिचालित भएको आरोप लाग्यो। कारबाही पनि भयो, त्यहाँदेखि अहिलेसम्मको स्थितिलाई कसरी हेरिराख्नुभा छ ?
त्यो प्रतिवेदनको कुनचाँही अंशले पार्टीको विरुद्ध भूमिका खेल्यो ? त्यसको वास्तविक जवाफ त दिनुपर्ला आरोप लगाउनेले। प्रतिवेदनले पार्टीलाई बलियो बनाउने, लोकतान्त्रिक बनाउने, जनमुखी बनाउने, गरिब, श्रमिक वर्गका लागि पार्टी बनाउने कुरा छ। समग्र प्रतिवेदनमा कहाँ आपत्ती जनाउनुपर्ने कुरा छ ? विषय तोक्नुपर्यो, कुरा पनि तार्किक हुनुपर्यो। विषय नतोकी हावादारी कुरा गर्दा बौद्धिक बहस भएन। बौद्धिक बहस नै नभए जान्नेलाई छान्ने कुरा कहाँ पुग्यो ? त्यो पनि सोच्नुपर्छ। यसरी हामीले बौद्धिक बहस नै गर्दैनौं भनेर पुरानाभन्दा नयाँले कसरी राम्ररी देश चलाउँछौं ? विश्वास कसरी गर्ने ? कुन किसिमले परिचालित भएँ भन्नुपर्ला ?
रवि लामिछानेमाथिको आरोपमा मैले भनिसके अदालतको फैसला बमोजिम स्विकार्न तयार छु। उहाँहरूले पनि अदालतको फैसला मान्छौं भन्नुभएको छ। भनेपछि अब त हामी मिड प्वाइन्टमा आइसकेका छौं। झगडा गरेर हुन्न, मिलेर पार्टी बनाउनुपर्यो, देश अगाडि बढाउनुपर्यो।
प्रकाशित: १७ पुस २०८१ २१:०४ बुधबार