आन्तरिक र बाह्य हवाई सेवाको उडान तालिका फेरबदल हुँदा घुम्न आएका विदेशी पर्यटकको बसाई अवधि पनि प्रभावित हुन थालेको छ। यात्रा तालिका प्रभावित भएको भन्दै पर्यटकले बसाई अवधि छोट्याउन थालेको व्यावसायीले बताए। यात्रा तालिका प्रभावित भएसँगै पर्यटकको बसाई अवधि घट्दै जाँदा त्यसको मार पर्यटन क्षेत्रमा परेको व्यावसायीले बताए।
तोकिएको उडानको यात्रा तालिका पछाडि धकेल्दा थप शुल्क तिर्नुपर्ने र हवाई कम्पनिले दिएको समयमा यात्रा गर्न खोज्दा बसाई अवधि नै प्रभावित भएको व्यावसायीको भनाई छ। माउन्ट कैलाश रिसोर्टका संचालक नरेश भट्टराईले भने, ‘घुम्न आउने नयाँ पाहुना त कम भईसके। पहिल्यै आएका पाहुनाको पनि यात्रा प्रभावित भएको छ। पर्यटकले नेपाल बसाई अवधि नै छोट्याईसकेका छन्।’
उनका अनुसार पोखरा आएका पर्यटकको बसाई कम्तिमा पनि एकदिनका लागि घटेको छ। ‘आउने बेलामा सहजै आए। तर, फर्किने बेलामा हवाई उडान तालिका नै फेरबदल भयो। तोकिएको भन्दा अगाडि उडान हुने भएपछि विदेशीले बसाई अवधि नै कटौती गरेका छन्,’ उनले भने, ‘उडान तालिका पछाडि धकेल्दा पनि उनीहरु मर्कामा परेका छन। किनकी कनेक्टिङ फ्लाइटका कारण झनै झन्झट पर्ने गरेको छ। कनेक्टिङ फ्लाईटलाई असर नपरोस भनेर पाहुनाले नेपाल बसाई अवधि घटाएका छन्।’ पर्यटकको नेपाल यात्रा प्रभावित हुँदा उनीहरुको घुमघामको योजना बिथोलिएको उनले बताए।
‘पाँचदिनका लागि नेपाल बस्न भनेर आएका पाहुना चारदिनपछि फर्किने गरेका छन्। किनकी रात्रीकालिन यात्रा बढी प्रभावित छ। त्यसैले गर्दा यात्रा कि त अगाडि सार्नुपर्ने अवस्था आयो। नत्र पछाडि धकेल्दा पनि कनेक्टिङ फ्लाइट छुट्ने अवस्था आउँछ। त्यसले झनै असर पार्ने अवस्था आएपछि पर्यटकहरु बसाई अवधि घटाउन बाध्य भएका छन्।’
पर्यटकले कम्तिमा एकरातको बसाई अवधि छोट्याउनु भनेको व्यावसायमा मार पर्नु रहेको उनको भनाई छ। ‘पर्यटकको यात्रा अधुरो भयो, हामीलाई व्यावसायमा मार परेको छ,’ उनले भने।
पर्यटकको लिएको हवाई टिकट पछाडि सार्न खोज्दा झर्न महंगो परेकाले पनि समस्या थपिएको उनले बताए। ‘उडान तालिका पछाडि सार्न खोज्दा रकम थप्नुपर्ने अवस्था आउँछ। किनकी अहिले हवाई कम्पनिले धेरै नै भाडा बढाएका छन्। सहजै टिकट सर्ने अवस्था रहन्न,’ उनले भने, ‘हामीले दिएको भन्दा मुल्य बढी परेपछि पाहुनाहरु यात्रा नै रद्द गर्न बाध्य पनि छन्।’ नेपालमा तोकिएको बेलामा काम नसक्ने प्रवृत्तिका कारण आगामि सिजन पनि प्रभावित हुने अवस्था रहेको उनले बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले गत कात्तिक २३ देखि व्यावसायिक उडानलाई राति १० बजेदेखि बिहान ८ बजेसम्म रोकेर पूर्वाधार विस्तार तथा निर्माण कार्य थालेको छ। यो सँगै आगामि चैत १८ गतेसम्म दैनिक १० घण्टा आन्तरिक र अन्तर्राष्ट्रिय व्यवसायिक उडान प्रभावित हुनेछन्। त्यसले गर्दा आन्तरिक र बाह्य सबैखाले हवाई उडान प्रभावित भएका छन्। उडान तालिका फेरबदल र कटौती हुँदा त्यसको मार पर्यटन क्षेत्रमा परिरहेको गुनासो पनि व्यावासायीले गरिरहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कारण ३० प्रतिशत उडान कटौती हुँदा ४० प्रतिशत बढी आगमन प्रभावित हुने व्यावसायीले बताउँदै आएका छन्।
होटल संघ गण्डकीका अध्यक्ष हरि शर्मा पनि आन्तरिक र बाह्य उडान तालिकाले गर्दा पाहुनाको नेपाल बसाई अवधि कम भएको बताउँछन्। उनका अनुसार आन्तरिक उडानको तालिका फेरबदलले पनि पाहुनाको बसाईमा असर पारेको छ। ‘पोखराबाट राती अबेरसम्म काठमाडौंका लागि हुने उडान अहिले बेलुकीबाटै सकिन थालेको छ। पाहुनाले चाहेको समय बस्न र घुम्न पाएका छैनन्,’ उनले भने, ‘यही अवस्था अन्तर्राष्ट्रिय उडानमा पनि परेको छ। पर्यटकहरु हतारको यात्रा र घुमफिर गर्न बाध्य छन्।’
पोखरा पर्यटन परिषद् (पिटिसी)का पूर्व अध्यक्ष सोम थापा यात्रा सहज नहुँदा अगाामि सिजन पनि प्रभावित हुने त्रास रहेको बताउँछन्। व्यावसायीका अनुसार फेब्रुअरी–अप्रिलसम्म राम्रो सिजन मानिन्छ। मे देखि जुनसम्मको समय मध्यम सिजन हुने उनी बताउँछन। ‘झन्झटपूर्ण यात्राका कारण विदेशी पर्यटकले नेपाल घुम्न योजना बनाउन छाड्ने बेला आएको छ। हवाई टिकट पनि निकै नै अकाशिएको छ,’ उनले भने, ‘नेपाल आउने तयारीमा रहेका विदेशी अन्यत्र डाईभर्ट भएका छन।’
पर्वतारोहणका लागि भनेर तोकेरै आउने बाहेक नितान्त घुमफिरका लागि आउने मान्छे अन्यत्र जान थालेको उनले बताए। बाली, श्रीलंका, लाओस, भीयतनाम, भुटानतिर पाहुना डाइभर्ट भएको थापा बताउँछन्। ‘यात्रा सहज छ, त्यतैको यात्रामा अहिले विदेशी जान्छन। नेपालको यात्रा झन्झटपूर्ण छ भन्ने सन्देश फैलिएको छ। आएका पाहुना पनि फर्किने हतारोमा हुने गरेका छन,’ थापाले भने।
परिषद्का अध्यक्ष तारानाथ पहारी पनि पर्यटकीय क्षेत्र पछिल्लो समय खल्बलिएको बताउँछन्। उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहूँदा पोखराले बढी मार खेपेको बताउँछन्। पोखराबाट अन्तर्राष्ट्रिय उडानको पहल गर्न आग्रह गर्र्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोखराका व्यावसायीले ज्ञापनपत्र समेत बुझाएका थिए।
चीन भ्रमणमा जान थालेको प्रधानमन्त्री शर्मालाई भेटेरै पोखरासम्म चिनियाँ सहरदेखि सिधा हवाई उडान संचालनका लागि पहल गरिदिन आग्रह गरेको परिषद्का अध्यक्ष पहारीले जानकारी दिए। ‘प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै गरेको अवस्थामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलायमान बनाउनका लागि पहल गर्न हामीले आग्रह गरेका हौ। प्रधानमन्त्रीले त्यसमा सहयोग गर्ने वचन दिनु भयो,’ पहारीले भने, ‘पर्यटन क्षेत्र डामाडोल अवस्थामा पुग्न लागेकोले प्रधानमन्त्रीलाई गुहारेका हौ।’
अध्यक्ष पहारीले पनि पछिल्लो समय विदेशी पाहुनाको नेपाल यात्रा असहज बनेको बताए। ‘हवाई उडान प्रभावित हुँदा पाहुना आगमन निकै नै खस्केको छ। आएका पाहुना पनि गतिलो गरेर घुम्न पाएका छैनन,’ उनले भने।
प्रकाशित: ५ मंसिर २०८१ १७:४६ बुधबार