१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेपाली तयारी पोसाकलाई एनटीपीपी समावेश गर्न सरकारले पहल गर्नुपर्छ: अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा अत्याधिक माग भएका नेपाली तयारी पोसाकलाई नेपाल ट्रेड प्रिफेरेन्स प्रोग्राम थप गर्न सरकारले पहल गर्नुपर्ने बताएका छन् ।

सोमवार काठमाडौंमा उद्योग वाणिज्य महासंघद्वारा आयोजित नेपाल–अमेरिकामा व्यापारका सम्भावना र चुनौती विषय कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो धारणा राखेका हुन  । उनले अमेरिकाले नेपाललाई नेपाल ट्रेड प्रिफेरेन्स प्रोग्राम (एनटीपीपी)मा समावेश ७७ वस्तुमा तयारी पोसाक लगायत अमेरिकामा अत्याधिक माग भएका वस्तु थप गर्न आवश्यक रहेको बताए। उनले अमेरिकाले नेपाललाई नेपाल ट्रेड प्रिफेरेन्स प्रोग्राम  (एनटीपीपी) अन्तर्गत विभिन्न ७७ प्रकारका नेपाली वस्तु अमेरिका निर्यात गर्दा शून्य भन्सार महसुल सुविधा प्रदान गर्दै आएको बताए ।

उनले उक्त सूचिमा रहेका वस्तुहरू सोचे जस्तो नेपालबाट अमेरिका निर्यात गर्न नसकेकाले निर्यातको लागि बढी सम्भावना भएका तयारी पोसाक लगायतका थप वस्तुहरू (एनटीपीपी)समावेश गर्नको लागि सरकारले निजी क्षेत्रको सहकार्यमा पहल गर्न जरुरी रहेको बताए । उनले नेपाल र अमेरिकाबिच व्यापारमा चुनौतीहरू रहेको बताउँदै  (एनटीपीपी)बाट नेपालले उच्च प्रतिफल लिन नसकेको दाबी गरे । उनले (एनटीपीपी)को म्याद २०२५ डिसेम्बरमा सकिन लागेको भन्दै म्याद थपको लागि पहल गर्न आवश्यक रहेको उल्लेख गरे ।

उनले अल्पविकसितबाट विकासोन्मुख मुलुकमा २०२६ मा स्तरोन्नति हुँदा नेपाललाई हुने फाइदा र बेफाइदाका विषयमा छलफल गर्न आवश्यक देखिएको धारणा राखे । उनले नेपालबाट निर्यात हुने वस्तु गलैँचा पहिलो नम्बरमा रहेको भन्दै नेपाली तयारी पोसाक ७७ प्रतिशतबाट खुम्चिएर १४ प्रतिशतमा झरेको बताए । उनले नेपाली तयारी पोसाकको माग अमेरिकामा दिनप्रतिदिन बढी रहेको पनि दाबी गरे ।

अध्यक्ष ढकालले निजी क्षेत्रका मुद्दाहरूमा सहजिकरण गरे व्यावसायिक गतिविधिमा वृद्धि हुने बताए । उनले सरकारले विदेशमा नेपाली उत्पादन निर्यात गर्दा  निर्यात कर्ताहरूले फाइदा लिन्छ भन्ने परम्परागत हिसाबको सरकारको सोच परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले पछिल्लो समय गतिशील रुपमा निजी क्षेत्रले काम गर्ने वातावरण मुलुकभित्र नभएको भन्दै सरकारले लगानीको वातावरण बनाउन जरुरी रहेको बताए । 

प्रकाशित: २४ भाद्र २०८१ १८:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App