३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

अमेरिकामा इन्ट्रा कप भलिबल: रुकुम र बेलमण्ट विजयी

अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा सम्पन्न इन्ट्रा कप भलिबल प्रतियोगितामा पुरुषतर्फ रुकुम टिम र महिलातर्फ बेलमण्ट टिम विजयी भएका छन्।

सोमवार भएको फाइनल खेलमा रुकुम टिमले सजनी टिमलाई ३—२ को सेटले हराउँदै जित हात पारेको हो।

रुकुमबाट आएर अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्ने खेलाडीहरु रुकुम टिममा सम्मिलित छन् भने नेपालको नेपालको सुदूर पश्चिमबाट अमेरिका आई टेक्सासमै बसोबास गर्ने खेलाडीहरु सजनी टिममा समावेश छन्।

प्रथम हुने रुकुम टिमले १० तोला सुनको गोल्ड कप र १२ हजार अमेरिकी डलर अर्थात् नेपाली १६ लाख ९ हजार जितेका छन्। उनीहरुलाई आयोजक संस्था इन्ट्रा—नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले सो पुरस्कार हस्तान्तरण गरेका थिए।

त्यसैगरी महिला भलिबलतर्फ मेरिल्याण्ड राज्यको नेपाली क्लब बेलमण्टले जित हात पारेको छ। चर्चित नेपाली राष्ट्रिय खेलाडीहरु सिपोरा गुरुङ्ग र रमिला तण्डुकारसम्मिलित बेलमण्टले १० तोला सुनको गोल्ड कप र ९ हजार अमेरिकी डलर अर्थात् नेपाली १२ लाख ६ हजार  जितेको छ।

यसैगरी सो प्रतियोगितामा पुरुषतर्फ उपविजेता बनेको सजनी टिमले ८ हजार अमेरिकी डलर अर्थात् नेपाली १० लाख ७२ हजार र महिलातर्फको उपविजेता बीवाईएससी मिनिसोटाले ६ हजार अमेरिकी डलर अर्थात् ८ लाख ४ हजार पुरस्कार प्राप्त गरेको छ।

खेलको नियमअनुसार, सुनको ट्रफी पूर्णरुपले जित्नको लागि लगातार ३ पल्ट जित्नुपर्ने हुन्छ।

पुरस्कार वितरण गर्दै फाउण्डेसनका अध्यक्ष अधिकारीले खेल जितेर पुरस्कार रकम, ट्रफी र कपमात्र लिएर खेलाडीहरु फर्किएको नभई नेपालीपन, नेपाली मन र नेपाली जातीय एकतालाई मजवुत बनाइएको बताए।

उनले नेपालीपन र नेपाली सांस्कृतिक एकतालाई संसारभर मजबुत बनाउन फाउण्डेसनले मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको दोस्रो संस्करण सन् २०२५ मा देखि शुरु गर्ने बताए।

पुरस्कार वितरण गर्दै नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले नेपालीपन र नेपाली मनलाई अमेरिकामा एकताबद्ध बनाई खेलकुद प्रतियोगिता गराएको देख्न पाउंदा आफूलाई गर्व लागेको बताए।

खेल व्यवस्थापन समितिका संयोजक ओमराज गुरुङ्गले दिएको जानकारीअनुसार, इन्ट्रा कप भलिबलको सर्बोत्कृष्ट खेलाडीमा महिलातर्फ बेलमण्टकी सिपोरा गुरुङ्ग र पुरुषतर्फ रुकुम टिमका डेमोण्ड खड्का घोषित भएका थिए।

प्रतियोगितामा तेस्रो हुन सफल पुरुषतर्फ सानफ्रान्सिस्को टिमले ५ हजार अमेरिकी डलर अर्थात् नेपाली ६ लाख ७० हजार र महिलातर्फ फ्रेण्डसिप ओहायो टिमले ३ हजार अमेरिकी डलर अर्थात् ४ लाख २ हजार प्राप्त गरेका छन्।

प्रकाशित: १ आश्विन २०८१ ०९:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App