३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपालमा दूतावास स्थापना गर्न क्यानडालाई मन्त्री राणाको आग्रह

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले क्यानडा सरकारलाई नेपालमा आफ्नो दूतावास स्थापनाका लागि आग्रह गरेकी छिन्।

क्यानाडाली विदेशमन्त्री मेलानी जोलीबीच बुधवार क्यानाडाको ओटावामा द्विपक्षीय भेटवार्ताको क्रममा उनले सो आग्रह गरेकी हुन्।

उनले भनिन्, ‘अध्ययनका लागि क्यानाडा जाने नेपाली विद्यार्थीको सङ्ख्या दिनप्रतिदिन बढ्दै छ भने नेपाल आउने क्यानाडाली पर्यटकको सङ्ख्या पनि पछिल्लो समय बढ्दो छ। त्यसैगरी अनुसन्धानदाता, व्यवसायी तथा अरु पनि दुई देशका धेरै क्षेत्रका नागरिकबीच भ्रमणहरु आदानप्रदान भइरहेको छ। त्यसैले क्यानाडाले नेपालमा दूताबास स्थापना गर्नु मनासिब हुनेछ, म यो अनुरोध गर्न चाहन्छु।’

उनले एसियाका दुई ठूला देशका बीचमा रहेको नेपालजस्तो प्रजातान्त्रिक मुलुकमा आफ्नो राजदूताबास स्थापना गर्नु क्यानाडाका लागि आवश्यक छ भनेर पनि सोचिदिन सो अवसरमा विदेशमन्त्री जोलीसमक्ष आग्रह पनि गरिन्।

भेटवार्तामा नेपाल–क्यानाडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवं साझेदारी लगायतका विषयमा कुराकानी भएको थियो।

भेटका क्रममा दुबैजनाले दुई देशबीच सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर सम्बन्ध रही आएको बताइन्। नेपाल र क्यानाडाले आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव मनाउँदैछन्।

त्यस भेटमा परराष्ट्रमन्त्री डा राणाले नेपालको लोकतान्त्रिक प्रक्रिया र वर्तमान संविधान निर्माणमा क्यानाडाले पुर्याएको सहयोगको सराहना गरिन्।

नेपालको संसदले हालै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पास गरेको र यसबाट अब बाँकी रहेका शान्ति प्रक्रियाका कामहरु पनि पूर्ण हुने जानकारी मन्त्री डा. राणाले दिइन्।

साथै सो वार्तामा मन्त्री डा राणाले नेपालमा पछिल्लो महाभूकम्प, कोभिड महामारीजस्ता अप्ठेरो अवस्थामा पुर्याएको सहयोगका लागि क्यानाडा सरकारलाई धन्यवाद ज्ञापन गरिन्।

नेपाललाई विभिन्न क्षेत्रमा विभिन्न शीर्षकबाट विगत लामो समयदेखि क्यानाडाले पुर्याउँदै आएको आर्थिक सहायता तथा विकास साझेदारका रुपमा गर्दै आएको सहयोगको त्यस अवसरमा मन्त्री डा राणाले स्मरण गरिन्।

अतिकम विकसित राष्ट्रका रुपमा सन् २००३ देखि नै क्यानाडाले नेपाली उत्पादनहरुलाई क्यानाडा प्रवेशका लागि ड्युटी फ्रि सुविधा उपलब्ध गराउँदै आएको छ। नेपाल सन् २०२६ मा एलडिसीबाट ग्राजुएट हुने योजनामा रहेकाले त्यसपछि पनि नेपाललाई व्यापारिक र लगानीसम्बन्धी सुविधामा क्यानाडाको निरन्तर सहयोगको अपेक्षा गरेको मन्त्री डा राणाले बताइन्।

जलविद्युतका क्षेत्रमा क्यानाडाको विगत लामो समयदेखिको अनुभव र विज्ञता रही आएको उल्लेख गर्दै मन्त्री डा राणाले नेपालमा जलविद्युतका क्षेत्रमा लगानीको धेरै ठूलो सम्भावना रहेकाले लगानी गर्न क्यानाडालाई आग्रह गरिन्।

आगामी डिसेम्बरमा काठमाडौँमा द्विपक्षीय वार्ता हुने र त्यस क्रममा दुई देशबीच पर्यटन र शिक्षासम्बन्धी समझदारीको आधार तय गरिने सो वार्तामा सहमति भएको थियो। साथै आगामी बर्ष मनाइने नेपाल क्यानाडा कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ बर्षगाँठका दौरानमा यी समझ्दारीमा हस्ताक्षर हुनेगरी काम गरिने सहमति पनि यो वार्तामा भएको छ।

नेपालमा महिला सशक्तिकरणका क्षेत्रमा क्यानाडाले पुर्याउँदै आएको सहयोगलाई निरन्तरता दिँदै क्यानाडाले अघि सारेको ‘फेमिनिस्ट फरेन पोलिसी’ विषयमा मिलेर अघि बढ्ने सहमति पनि सो वार्तामा भएको थियो।

सो पोलिसीमा एकसाथ अघि बढ्न क्यानाडाली विदेशमन्त्री जोलीले आग्रह गरिन्। उनले पछिल्लो समयमा समावेशिताका साथै महिला अधिकारका क्षेत्रमा नेपालले गरेको प्रगतिको पनि सराहना गरिन्।

त्यसैगरी उनले क्यानाडेली पेन्सन फण्डका माध्यमबाट नेपालमा आवश्यक सहयोग गर्न क्यानाडा सरकार तयार रहेको बताइन्। उनले परराष्ट्रमन्त्री डा राणाले राखेको नेपालमा क्यानाडाली दूतावास स्थापनाको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया पनि दिइन्।

उनले नेपालमा महिला सशक्तिकरणका क्षेत्रमा सहयोग निरन्तर रहने जनाउँदै छात्रा विश्वविद्यालय स्थापनाका साथै छात्रा शिक्षाका क्षेत्रमा क्यानाडाले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।

प्रकाशित: ३ आश्विन २०८१ ०८:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App