२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

गण्डकीमा पर्यटकको औसत बसाई १२ दिन, दैनिक खर्च ८ हजार

गण्डकी प्रदेशमा पर्यटकको औसत बसाई अवधि १२ दिन रहेको पाइएको छ।

नेपाल राष्ट्र बैंक, पोखरा कार्यालय अन्तर्गतको अनुसन्धान इकाइले गरेको अध्ययन प्रतिवेदन अनुसार  गण्डकी प्रदेश भ्रमणमा आउने विदेशी पर्यटकको नेपाल बसाई अवधि कुल २२ दिन भएपनि गण्डकीमा भने १२ दिन हुने गरेको पाइएको हो।

घुम्न आउने पर्यटकमध्ये पुरुषको भन्दा महिलाको बसाई अवधि बढी हुने गरेको पनि देखिएको छ। नेपाल भ्रमणमा आउने पर्यटकमध्ये पुरुषको बसाई अवधि २० दिन हुँदा महिलाको २५ दिन पाइएको छ भने गण्डकीमा पुरुषको बसाई अवधि ११ दिन हुँदा महिलाको १३ दिन हुने गरेको पाइएको छ।

ती पर्यटकले दैनिक ६२.८९ अमेरिकी डलर अर्थात ८ हजार ३ सय ५५ रुपैयाँ २९ पैसा नेपाली रुपैयाँ खर्च गर्ने गरेको पाइएको छ। गण्डकी आउने पर्यटकमध्ये अधिकांशले नगदको माध्यमबाट भुक्तानी गर्ने गरेको तथ्याङ्कले देखाएको छ। प्रतिवेदनमा ९४.९३ प्रतिशतले नगदको माध्यमबाट र कार्डको माध्यमबाट ४.९७ प्रतिशतले र ०.१० प्रतिशतले मोबाइल वालेटको माध्यमबाट भुक्तानी गर्ने गरेको उल्लेख छ।

गण्डकी प्रदेशमा गत आर्थिक वर्षमा ४१ देशका पर्यटक आएको देखिएको छ। तीमध्ये सबैभन्दा धेरै भारत, फ्रान्स, अमेरिका, बेलायत र अस्ट्रेलियाका पर्यटक आएको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै महादेशका आधारमा युरोपबाट सबैभन्दा धेरै ४६.२५ प्रतिशत र सबैभन्दा कम दक्षिण अमेरिकाबाट ०.७५ प्रतिशत पर्यटक आएको पाइएको छ। अफ्रिकाबाट भने कुनैपनि पर्यटक गण्डकी प्रदेशमा नआएको पाइएको छ।

उमेरगत आधारमा गण्डकीमा आउने विदेशी पर्यटकमध्ये ३१ देखि ४५ वर्ष उमेर समूहका सबैभन्दा धेरै ३३ प्रतिशत र सबैभन्दा कम २० वर्षसम्म उमेर समूहका १.५ प्रतिशत रहेका छन्। गण्डकीमा आएका पर्यटकहरू फरक÷फरक उद्देश्य लिएर आउने गरेको जनाइएको छ।

आएकामध्ये साहसिक क्रियाकलापमा संलग्न हुन आउने सबैभन्दा धेरै ४०.१८ प्रतिशत र सबैभन्दा कम व्यापारिक प्रयोजनका लागि आउने पर्यटक २.९८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ। ३१ देखि ४५ वर्ष उमेर समूहका पर्यटकहरू बढी साहसिक क्रियाकलाप, मनोरञ्जन र सांस्कृतिक क्रियाकलापमा संलग्न हुने गरेको र ४६ देखि ५५ वर्ष उमेर समूहका पर्यटकहरू धार्मिक कार्यका लागि आउने गरेको पाइएको छ।

गण्डकीमा गत आर्थिक वर्षमा पहिलो पटक भ्रमणमा आउने पर्यटक ६८ प्रतिशत पाइयो भने एक वा सो भन्दा बढी आएका पर्यटकको संख्या ३२ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ। यहाँ आउने पर्यटकमध्ये ३४.७५ प्रतिशत पर्यटक एकल रुपमा भ्रमणमा आउने गरेको, २८.७५ साथीसँग, २२.५० प्रतिशत पर्यटक परिवारसँग र १४ प्रतिशत पर्यटक समूह बनाएर आएको पाइएको प्रतिवेदनमा उल्लेख छ।

गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकहरूको प्रमुख गन्तव्य मनाङ र दोश्रो रोजाई म्याग्दी भएको पाइएको छ। उनीहरूको बसाई अवधि मनाङमा सर्वाधिक १८.१३ दिन र म्याग्दीमा १३.६२ दिन पाइएको छ। सबैभन्दा कम गोरखामा ४.३७ दिन बसाई पाएको छ भने कास्कीमा १०.६७, नवलपरासी पूर्वमा ७ दिन पाइएको प्रतिवेदनमा उल्लेख छ।

गण्डकी प्रदेश भ्रमणमा आउने पर्यटकले भाषागत समस्या, पर्यटन सूचनाको कमी, यातायातको समस्या, सुरक्षालगायतका समस्या भोगेको बताएका छन्। गण्डकी आएका पर्यटकमध्ये २८.४१ प्रतिशत पर्यटकले कुनैपनि समस्या अनुभव गर्नु नपरेको बताएका छन् तर ७१.५९ प्रतिशत पर्यटकले समस्या भोग्नुपरेको बताएका छन्। प्रतिवेदनका अनुसार यातायातको समस्या भोगेका २३.११ प्रतिशत, भुक्तानीको समस्या भोगेका १५.३४ प्रतिशत र भाषागत समस्या भोगेका १२.३१ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ।

गण्डकी भ्रमणमा आउने विदेशी पर्यटकहरूले सबैभन्दा धेरै खानपिनमा खर्च गर्ने गरेको जनाइएको छ। उनीहरुले खानपिनमा २८.२२ प्रतिशत, बसोबासमा २७.६ प्रतिशत, यातायातमा २१.७, मनोरञ्जनका लागि १२.३, किनमेलमा ५.७७, करबापत २.२४, धार्मिक खर्चमा १.११ र अन्य खर्चमा १.०६ प्रतिशत रकम खर्च गरेको प्रतिवेदनमा उल्लेख छ।

गत वर्ष आएका पर्यटकहरूमध्ये ८७ प्रतिशतले गण्डकी प्रदेशबाट प्राप्त गर्न सकिने सम्पूर्ण आनन्द लिन पाएको बताएका छन् भने १३ प्रतिशतले पूर्ण आनन्दका लागि थप दिन आवश्यक पर्ने बताएको प्रतिवेदनमा जनाइएको छ। उनीहरुले औसत बसाई अवधिमा २३ दिन थप गर्न सके मात्र पूर्ण आनन्द लिन पाइने बताएको उल्लेख छ।

प्रकाशित: ११ श्रावण २०८१ १७:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App