२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

गण्डकीको आयोजना अवधारणा पत्र सार्वजनिक

गण्डकी प्रदेशको आयोजना अवधारणापत्र सार्वजनिक गरिएको छ। गण्डकी प्रदेश नीति तथा योजना आयोगले तयार गरेको आयोजना अवधारणा पत्र विहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सार्वजनिक गरेका हुन्।

अवधारणा पत्रमा गण्डकी प्रदेशका आयोजना बैंक प्रस्ताव गरिएको छ। जहाँ गण्डकीका ठूला आयोजनाहरु राखिएका छन्। जसका लागि लगानीको आंकलन, श्रोत, सम्भाव्यताबारे विस्तृत रुपमा प्रस्तुत गरिएको छ। आयोजना अवधारणा पत्र प्रस्तुत गर्दै योजना तथा पूर्वाधार विज्ञ समूहका टिम लिडर मनिराम सिंह महतले आयोजनाको सम्भाव्यतासँगै लगानीको आंकलन गरिएको बताए।

आयोजना पत्र गण्डकीको विकासको आधार भएको बताउँदै उनले यो कार्यान्वयन गर्नसके प्रदेशको मुहार फेर्न मद्दत पुग्ने बताए। उनले भने, ‘आयोजना बैंकमा रहेका आयोजनामा लगानी जुटाउनुपर्छ। त्यसका लागि स्थानिय, प्रदेश र संघबीच समन्वय र सहकार्य आवश्यक छ।’ आयोजना बैंक भन्ने तर लगानी आफूले पनि नगर्ने र लगानीका लागि वातावरण पनि नबनाउने हो भनेचाहिं यसको औचित्य नरहने उनको भनाई थियो।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आयोजना बैंक सफल बनाउनु सबैको दायित्व भएको बताए। अहिलेपनि पहुँचको भरमा योजना छनौट भइरहेकाले त्यसको अन्त्य जरुरी भएको उनको भनाई छ। पहुँचको भरमा योजना छनौट अहिलेपनि भइरहेको छ, चाहे त्यो स्थानिय तहको भन्नूस् वा प्रदेश र संघको भन्नूस्,’ उनले भने,‘आवश्कता अनुसार गरौं भन्यो मान्दैनन्। कसैले भन्दैन भइरहेको बाटो बाह्रैमहिना राम्रोसँग चल्ने बनाईदेऊ भनेर। बरु उसले पहिला मेरो घरको बाटो बनाईदेउ भन्छ, त्यसपछि गाउँजाने बाटो, वडा जाने बाटो र त्यसपछि अन्तिममा पालिका बाटो।’ दीगो र समानुपातिक विकासका लागि सोंचाई परिवर्तन आवश्यक रहेको उनले बताए।

मुख्यमन्त्री पाण्डेले संघले ५ करोडको सिलिङलाई ३ करोडमा झारेको तर हाल्नेबेला प्रदेशलेजस्तै ५ लाखका योजनापनि हालेको भन्दै व्यंग्यात्मक टिप्पणी गरे। त्यस्तै स्थानिय तहलाई १ करोडसम्मको सिलिङ तोकेपनि त्यसमा पुनरावलोकन गरेर ५० लाखसम्ममा झार्न सकिने बनाउनुपर्ने उनले बताए।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्णप्रसाद देवकोटाले आयोजना बैंक सफल बनाउन सके यसले प्रदेशको मुहार फेर्नसक्ने बताए। त्यसका लागि राजनीतिक नेतृत्वले ईच्छाशक्ति देखाउनुपर्नेमा उनले जोड दिए।

प्रकाशित: ३ श्रावण २०८१ १६:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App