१६ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

चौदण्डीगढीको बजेट पारित, बेलकाको छलफल हुँदै

आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम उदयपुरका ८ स्थानीय तहमध्ये केहीको पारित भईसकेको छ। केहीको छलफल हुँदैछ भने एउटाको पेश हुनै बाँकी छ। असार १० गते तोकिएकै मितिमा प्रस्तुत गरेका ७ स्थानीय तहमध्ये केहीको पारित भएको छ, केही स्थानीय तहको छलफल हुने क्रममा रहेको छ।

चौदण्डीगढी नगरपालिकाको नीति कार्यक्रम तथा बजेट पारित भएको छ। असार १० गते  आयोजित नगरसभाको १४ औँ अधिवेशनमा प्रस्तुत २०८१/०८२ को नीति कार्यक्रम तथा बजेट व्यापक छलफल र बहसपछि मङ्गलबार साँझ पारित भएको प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार नगरप्रमुख कालुमान लामाले प्रस्तुत गरेको नीति कार्यक्रमसँगै उपमेयर मणिकादेवी दुलालले पेश गरेको ७९ करोड ६३ लाखको बजेट पारित भएको हो। पुँजीगततर्फ ६४ करोड ४८ लाख र चालुतर्फ १५ करोड १५ लाख विनियोजित बजेट नगरसभामा घनिभूत छलफल गरी पारित भएको श्रेष्ठले बताए।

अधिवेशनले बजेटको मुख्य स्रोतको रुपमा संघ र प्रदेशबाट प्रापत हुने वित्तीय समानीकरण र सशर्त अनुदान, राजश्व बाँडफाँड, समपूरक, विशेष, आन्तरिक स्रोत र स्थानीय राजश्वलाई मानेको छ। जस अनुसार आगामी वर्ष संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १३ करोड १५ लाख प्राप्त हुनेछ भने सशर्त ३३ करोड ४८ लाख आउने अनुमान गरिएको छ।

त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरण ८८ लाख ८७ हजार र समानीकरण ३४ लाख ५४ हजार प्राप्त हुने अनुमान गरिएको बजेटमा त्यस्तै राजश्व बाँडफाँडतर्फ संघीय सकारबाट १४ करोड ४४ लाख, प्रदेशबाट १ करोड ७० लाखलाई पनि बजेट प्राप्त हुने प्रक्षेपण गरिएको छ।

चौदण्डीगढीले आन्तरिक आय ९६ करोड ४४ लाख हुने प्रक्षेपण गरेको छ भने स्थानीय राजश्व २ करोड ९० लाख उठ्ने अनुमान बजेटमा गरिएको श्रेष्ठले बताए।

नगरसभाले शिक्षा, स्वास्थ्य, पूर्वाधार, विद्युत, खानेपानी, जनता आवास, वन, वातावरण र विपत व्यवस्थापनमा विशेष ध्यान दिने नीति लिएको छ।

त्यस्तै कृषिलाई आधुनिकीकरण गर्दै व्यवसायिक कृषि तथा फलफुल खेती गर्न प्रोत्साहन गर्ने, स्वरोजगारमुखी कार्यक्रम अघि बढाउने, युवा तथा महिला लक्षित कार्यक्रमहरु गर्ने नीति लिइएको छ।

खास गरी त्रियुगा नदीले वर्षेनी दुःख दिने गरेको चौदण्डीगढी नगरमा स्थानीय खोलाहरु लुहाले, दुवार, लामा, कालीखोलालगायत दर्जन हाराहारी खोला खहरेको व्यवस्थापन गर्ने पनि नीति कार्यक्रमले औँल्याएको छ।

त्यसका लागि स्थायी र अस्थायी तटबाँध निर्माण, नदी खोलाको पानीलाई सिँचाई गरी गरी उन्नत कृषि कार्यमा लगाई उत्पादन बढाउने नदी नियन्त्रणलाई पनि मुल विषयमा समेटेको मेयर लामाको नीति कार्यक्रममा उल्लेख छ।

त्यसैगरी नगरको १ नं. वडास्थित ऐतिहासिक तथा पर्यटकीयस्थल चौदण्डीगढी दरवारक्षेत्रको संरक्षण, विकास र प्रबद्र्धन गर्दै सो ठाउँलाई मुख्य पर्यटन केन्द्र बनाउने लक्ष्य पनि नीति कार्यक्रमले समेटेको छ।

बेलकाले ७६ करोड ५७ लाखको बजेट छलफलमा

उता जिल्लाको बेलका नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत गरेको नीति कार्यक्रम तथा पौने अर्ब बढीको बजेट भने पारित हुन बाँकी छ। असार १० गते आयोजित ‘१४ औँ अभिवेशन’मा प्रस्तुत नीति कार्यक्रम तथा बजेटलाई नमूना र नगरमैत्री बनाउने उदेश्यले व्यापक छलफल गर्न छलफल खुल्ला गरिएको जनाइएको छ।

अधिवेशनमा नगरप्रमुख अशोक कार्कीले नीति तथा कार्यक्रम र उपमेयर जीरा राईले ७६ करोड ५७ लाख ३१ हजार ५ सय १ रुपैँयाको वार्षिक अनुमानित आयव्यय प्रस्तुत गरेकी छिन्। बेलकाले पनि संघ र प्रदेशबाट प्राप्त हुने ३७ करोड ३० लाख ७३ हजार १ रुपैयाँलाई विभिन्न समष्टिगत शीर्षकमा खर्च गर्ने प्रस्ताव गरेको छ।

जसमा सबभन्दा ठूलो हिस्सा १४ करोड १७ लाख ८ हजार १ रुपैँया बजेट संस्थागत विकास, सुशासन तथा सेवा प्रवाह शीर्षकमा विनियोजन भएको छ। त्यस्तै पूर्वाधार विकासतर्फ १२ करोड ५१ लाख १५ हजार छुट्याइदा सामाजिक विकासमा ६ करोड ८२ लाख ५० हजार, आर्थिक बिकास २ करोड ४९ लाख र वन, वातावरण तथा विपद व्यवस्थापनमा १ करोड ३१ लाख विनियोजन गरिएको छ।

संघबाट प्राप्त हुने सशर्ततर्फ ३९ करोड २६ लाख ५८ हजार ५ सय रुपैँयाको पनि व्यय अनुमान नगरसभाले प्रक्षेपण गरेको छ।

अधिवेशनमा नगरप्रमुख अशोक कार्कीद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उपमेयर राईले प्रस्तुत गरेको बजेटमाथि सुक्ष्म अध्यन गरी आवश्यक सुझाव सल्लाह र छलफल, वहस गर्ने बाटो खुल्ला गरिएको छ।

बजेट पारित गर्ने समयसीमा आगामी २५ गतेसम्म रहेकाले त्यसबकेलासम्म खुल्ला छलफल गरी नमूना बजेट निर्माण गर्न नगरसभा सदस्यहरुलाई जिम्मा दिइएको मेयर कार्कीलाई उद्धृत गर्दै प्रेस सल्लाहकार ध्रुब कोईरालाले बताए।

कोईरालाका अनुसार आगामी वर्षको बजेट तथा नीति कार्यक्रम अन्य स्थानीयतहको भन्दा राम्रो, उत्कृष्ट र नमुना बनाउने योजना अनुरुप खुल्ला छलफल गर्न नगरसभासदहरुलाई मेयर कार्कीले अनुृरोध गरेका छन्। १४ औँं नगरसभाले बेलकालाई समृद्ध र विकसित बनाउँदै नगरबासीको दीर्घकालीन हितको दिशा निर्देश गर्न यो अवसर दिइएको कोईरालाको भनाइ छ।

प्रकाशित: १४ असार २०८१ १०:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App