१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

कर्णालीका स्थानीय सरकारका बजेटः पूर्वाधार केन्द्रीत

कर्णालीका स्थानीय तहहरुले पूर्वाधार निर्माणलाई केन्द्रमा राखेर बजेट ल्याएका छन्। कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरले आर्थिक वर्ष २०८१/०८२ का लागि ३ अर्ब ५९ करोड १८ लाख ६८ हजार ९ सय ९९ रुपैयाँको बजेट ल्याएको छ। यो मध्ये पुँजीगततर्फ एक अर्ब ८३ करोड पैतालिस लाख रुपैयाँ छ। पुँजीगततर्फको बजेट मध्ये भेरीको पानी लिफ्टिङ्ग आयोजना अगाडि बढाउन १० करोड म्याचिङ फण्डमा राख्ने निर्णय नगरपालिकाले गरेको छ।

राजधानी केन्द्रित शहरी सौन्दर्यताका पूर्वाधार निर्माणका लागि ७ करोड ५० लाख र मंगलगढीमा आकाशे पुलका लागि १ करोडसहित नगरको विविध भौतिक पूर्वाधार विकासका लागि २५ करोड ८५ लाख ५० हजार वजेट विनियोजन गरिएको छ। यस्तै प्रत्येक वडामा कम्तिमा एक वटा ५० लाख भन्दा ठूला नगर गौरव पूर्वाधार आयोजना हुने गरी प्रत्येक वडामा ९० लाख भन्दा वढीका पूर्वाधार विकासको वजेट ब्यवस्था मिलाइएको छ। वीरेन्द्रनगरमा १६ वटा वडाहरु छन्।

यस्तै वडास्तरीय योजना तथा कार्यक्रमका लागि १७ करोड २० लाख, मेयरसँग महिला किसान कार्यक्रमका लागि १ करोड ६० लाख, वडास्तरीय नगर गौरव आयोजनाका लागि ८ करोड बजेट छुट्याइएको छ।  

कृषि विकास कार्यक्रमतर्फ ५६ लाख ५० हजार, पशुपन्छी विकास कार्यक्रमतर्फ ४५ लाख ६० हजार, उद्यम सहकारी तथा उपभोक्ता हिततर्फ ६१ लाख ५० हजार, जनस्वास्थ्य प्रवद्र्ध तथा नगर अस्पतालतर्फ ४ करोड ५ लाख ५८ हजार, महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गलगायत अन्य लक्षित वर्गतर्फ १ करोड १६ लाख ३० हजार, शिक्षा, युवा तथा खेलकुदतर्फ ७ करोड ९० लाख ६७ हजार, वन, वातावरण, फोहरमैला तथा विपद व्यवस्थापनतर्फ २ करोड ६४ लाख २० हजार बजेट छुट्याइएको छ।

वीरेन्द्रनगरले सार्वजनिक सेवा तथा सुशासनतर्फ २ करोड १७ लाख ४५ हजार, नगर स्तरीय विविध पूर्वाधार विकासतर्फ २५ करोड ८५ लाख ५० हजार, कृषि, पशु, खानेपानी, शुसासन तथा पूर्वाधार, स्वास्थ्य, शिक्षा, रोजगार, झोलुङ्गे पुल जस्ता कार्यक्रमका लागि १ अर्व ६९ करोड २८ लाख ५१ हजार रुपैयाँ छुट्याएको छ।

सुर्खेतको गुर्भाकोट नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याएको ९२ करोड ७ लाख २३ हजार ४५९ बजेट मध्ये भौतिक पूर्वाधार निर्माणमा १४ करोड रुपैयाँ छुट्याएको छ। पुँजीगततर्फको बजेट सडक, सिंचाई, खानेपानी, पुल पुलेसा निर्माण र स्तरोन्नतिमा खर्च गरिने उल्लेख छ।

कालिकोटको तिलागुफा नगरपालिकाले ६४ करोड ८९ लाख ७३ हजार ९३६ रुपैयाँको बजेट ल्याएको छ। तिलागुफा नगरपालिकाले आगामी आर्थिक वर्षबाट नगर बस संचालन गर्ने जनाएको छ भने विद्यालय नर्स कार्यक्रम पनी लागू गर्ने भएको छ।

नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई परिमार्जन गरी कायन्वयन गर्ने, एक घर एक घारा निर्माण गर्ने, नगरस्तरीय सडकलाई प्राथमिकक्ता दिने गरी कार्यक्रम ल्याएको नगर उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए।

नगरपालिकाकाले ११ वटै वडामा जोड्ने गरी चक्रपथको निर्माण गर्ने, विद्युत नपुगेका सबै वडामा विद्युत विस्तार गर्ने, कर्णाली राजमार्गसँग सबै वडाहरुलाई जोड्ने गरी बजेट ल्याएको नगर प्रमुख शंकरप्रसाद उपाध्यायले बताए।

कालिकोटकै सान्नीत्रिवेणी गाउँपालिकाले ३८ करोड बजेट ल्याएको छ। बजेट सडक, कृषि, स्वास्थ्य, शिक्षामा केन्द्रीत रहेको गाउँपालिका उपाध्यक्ष पार्वती सिंहले बताइन्।

रास्कोट नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५१ करोड ९ लाख ७२ हजार ५७६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बजेटमा १०० जना युवालाई रोजगारी दिनेदेखि गोठालो भत्तासम्म उपलब्ध गराइने उल्लेख छ। पचालझरना गाउँपालिकाले ३९ करोड ७३ लाखको बजेट ल्याएको छ।

लेकवेशीले मगर भाषा पढाउने

सुर्खेतको लेकवेशी नगरपालिकाले मगर भाषाको पाठ्यक्रम तयार गर्ने भएको छ। झण्डै पचास प्रतिशत जनसंख्या लेकवशीमा मगर समुदायको छ । मेयर उमेश पौडेलले १५ औं नगरसभा अधिवेशनमा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षदेखि मगर भाषाको पाठ्यक्रम तयार गरेर विद्यालयमा कार्यान्वयनमा ल्याइने उल्लेख छ।

यस्तै दिवा खाजामा एकरुपकता ल्याउने नीति पनि नगरपालिकाले ल्याएको छ । ‘विद्यालयमा स्थानीय उत्पादनम आधारित दिवा खाजाको व्यवस्था गरिनेछ,’ नीति कार्यक्रममा भनिएको छ, ‘त्यसका लागि पालिकाभरीका विद्यालयहरुमा एउटै मेनु प्रयोग गर्ने व्यवस्था मिलाइनेछ।’ पालिकाले विद्यार्थी संख्या धेरै भएका विद्यालयहरुलाई बस सेवा सञ्चालनका लागि प्रोत्साहन गर्ने पनि जनाएको छ।

नगरपालिकाले पालिकाभित्रका झोलुङ्गे पुलको सुरक्षाका लागि पुल हेरालु राख्ने भएको छ। ‘पुलको मर्मत संभार गर्न र त्यसको सुरक्षाका लागि आगामी आर्थिक वर्षदेखि हेरालु राख्ने व्यवस्था गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ। नगरपालिकाले प्लाष्टिकका झोला विस्थापन गर्नका लागि ‘म पनि बजार जाने, मेरो झोला नि लाने’ नीति ल्याएको छ।

‘दैनिक प्रयोग हुने प्लाष्टिक झोलाले पर्यावरणका साथै कृषि उत्पादनमासमेत असर पर्ने भएकाले प्लाष्टिकका झोलाको प्रयोगलाई निरुत्साहित गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘स्थानीय रुपमै उत्पादन भएका कपडाका झोलालाई प्रयोगमा ल्याइनेछ।’ नगरपालिकाले राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सनको बाँधस्थलमा होम–स्टे, होटल र लज सञ्चालनका लागि प्रोत्साहन गर्ने जनाएको छ। ‘भेरीमा ड्याम बाँध्दा ठूलो समुन्द्र बन्ने भएकाले भोलिको प्रमुख पर्यटकीयस्थल हो,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘छोटेमा होम–स्टे, होटल, लज र पिकनिक स्थलको रुपमा विकास गरिनेछ।’

नगरपालिकाले रोजगारी, उद्यम, व्यापार–व्यवसाय नभएका प्रत्येक परिवारका एकजना सदस्यलाई स्थानीय पूर्वाधार निर्माणमा रोजगारी दिए र कोही पनि भोकै नपर्ने अवस्थाको सृजना गर्ने जनाएको छ।  

नगरसभा बहिस्कार

सुर्खेतको भेरीगंगा नगरपालिकाको १५ औं नगरसभा स्थगित भएको छ। नगरसभामा गणपुरक संख्या नपुगेपछि नगरसभा स्थगित गरिएको हो। कार्यपालिका सदस्यहरुले नगर प्रमुख यज्ञप्रसाद ढकालले एकलौटी गर्नुका साथै आफूहरुसँग छलफल नगरेको भन्दै नगरसभा बहिष्कार गरेका थिए।

उनीहरू नगरसभामा उपस्थित नभएपछि गणपुरक संख्या नपुगेको भन्दै नगर प्रमुख ढकालले नगरसभा स्थगित गरेको जानकारी दिए। बहिष्कार गर्ने कार्यपालिका सदस्यहरुले नगरप्रमुख ढकालले नीति तथा कार्यक्रममा आफूहरुसँग छलफल नगरी एकलौटी गरेको आरोप लगाएका छन्। भेरीगंगा नगरपालिकाका कार्यपालिका सदस्य शेरबहादुर कामीले नगर प्रमुख ढकालले जुनसुकै कुरामा पनि मनोमानी गरेको आरोप लगाए।

पुरानै कार्यक्रमलाई निरन्तरता

दैलेखका प्रायः स्थानीय तहले भौतिक पूर्वाधारमा जोड दिएर बजेट ल्याएका छन्। प्रस्तुत गरिएको नीति, कार्यक्रममा नयाँ कार्यक्रम समेटिएका छैनन्। प्रायः पालिकाले पुरानै कार्यक्रमलाई समेटेर बजेट ल्याएका छन्। पूर्वाधार, शिक्षा, स्वास्थ्य केन्द्रमा राखेर बजेट स्थानीय तहले सार्वजनिक गरेका छन्।

बजेट शिक्षा, स्वास्थ्य र पूर्वाधारमा केन्द्रित भएको ठाँटीकाँध गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसीप्रसाद उपाध्यायले बताए। नीति तथा कार्यक्रम नयाँ कुरा आउन सकेको छैन। बजेटको सिमितताका कारण ठाँटीकाँधले नयाँ कार्यक्रम ल्याउने नसकेको जनाएको छ। ठाँटीकाँध गाउँपालिकामा भौतिक पूर्वाधारमै बढी जोड् दिदैं पुरानै योजनाहरु प्राथमिकतामा राखिएको गाउँपालिकाका अध्यक्ष रक्ष बहादुर शाहीले बताए।

नारायण नगरपालिकाले प्रत्येक २ महिनाको १ पटक अनिवार्य गर्भवतीको रक्त समुह र अल्ट्रा साउण्ड चेकजाँच गर्ने निति तथा कार्यक्रममा ल्याएको छ। त्यस्तै बजार क्षेत्र सुन्दर राख्न प्रत्येक घरमा दुई विरुवा, दुई गमला राख्ने आफ्नो कार्यक्रममा नारायण राखेको छ। नारायणले नयाँ कार्यक्रम ल्याउन नसकेपछि पुरानो कार्यक्रम दोहोराएको छ। स्वास्थ्य, शिक्षा लगायतका कुराहरु समेटिने गरि निति कार्यक्रमहरु ल्याईएको नारायण नगर पालिकाका नगर प्रमुख लोमन शर्माले बताए।

चामुण्डा विन्द्रासैनीमा नारा जुलुश

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा नगरसभा स्थगित भएको छ। नगरसभा उद्घाटन भएलगत्तै नेपाल मजदुर किसान पार्टी र नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने नगर सभा सदस्यहरुको नारा जुलुशका कारण नगर सभा स्थगित भएको हो।

नेमकिपा र एमालेबाट नगर सभामा प्रतिनिधित्व गर्ने सदस्यहरुले बजेट बाँडफाडमा अनियमितता भएको भन्दै नगरसभा रोक्न नाराजुलुश गरेका छन्। जसका कारण उद्घाटन लगत्तै असार १८ गतेसम्मका लागि नगरसभा स्थगन गरिएको छ।

नगरसभा हुनुअघि कार्यपालिकाको बैंठकबाट बजेट लगायतका विषयमा हुनुपर्ने छलफल समेत नगरि सिमा निर्धारण समितिले बजेट बडामा पठाएको भन्दै आफुले विरोध गर्नुपरेको चामुण्डाविन्द्रासैनी नगरपालिका ७ का वडाअध्यक्ष ईन्द्र चौलागाईले बताए। ‘कार्यपालिका बैठकमा नबोलाएर बजेट सिलिग वडामा पठाईएको छ। वडाअध्यक्ष चौलागाईले भने, सिमा निर्धारण समिति कार्यपालिका बैठकभन्दा माथि कसरी हुन्छ।’ बलमिच्याई तरिकाले सभा चलाउन खोजिएपछि आफुहरुले रोकेको र नगर सभाका सदस्यहरुलाई ७ दिन अघि नै बोलाउनुपर्नेमा नबोलाईएको आरोप चौलागाईले लगाए। नगर सभामा आफुहरुलाई प्रहरी लगाएर प्रवेशमा रोक लगाईएको दुखेसो वडाअध्यक्ष चौलागाईले गरे। चौलागाई नेपाल मजदुर किसान पार्टीबाट प्रतिनिधित्व गर्छन्।

सहमति सहकार्यबाट अगाडी बढ्नुपर्छ भन्ने चाहना हुँदा हुँदै पनि सहमति विना नगर सभा तानाशाह प्रवृती एकल रुपमा उद्घाटन गरेको आरोप वडा नम्बर ५ वडाअध्यक्ष हरिप्रसाद शर्माले लगाए। ‘नगरसभामा बजेट टुक्रएर योजना सहित जाने कुरा थियो।’ वडाअध्यक्ष शर्माले भने, आफुखुसी नगर सभा चलाउन खोजेको पाईयो। सहमति अनुसार बजेट बाडँफाड भएमा सभा सञ्चालन हुन्छ।’

असार ७ गतेदेखि कार्यपालिका बैठक चलेको छ। त्यहाँ केही कार्यपालिका सदस्यहरु सहभागी नहुँने निर्णय गरेको र ज्ञापनपत्र मार्फत नगरसभा स्थगनको माग समेत केही कार्यपालिका सदस्यले गरेको पाईएको छ। नगर सभा उद्घाटनपछि नाराजुलुशसहित नगर सभा सदस्यहरुको विरोधपछि १८ गतेसम्मलाई स्थगित गरिएको चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर उपप्रमुख मन्सरा कुमारी शर्माले बताईन्। नगर सभा स्थगन भएपछि सहमति खोज्ने प्रयासहरु भईरहेको शर्माको भनाइ छ।

प्रकाशित: ११ असार २०८१ १३:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App