सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ का सफेउल मन्सुरी बिहानै इनरुवा–१ शान्ति चौकमा सिरक डसना उद्योगमा आइपुग्छन्। उनी बिहानै इनरुवा बजारमा रहेका कपडा पसलबाट आएको मागका आधारमा सिरक डसना बनाउने कार्यमा लागिपर्छन्।
मन्सुरीको दैनिकी अहिले सिरक र डसना बनाउने कार्यमै बित्ने गरेको छ। केही दिनयतादेखि बढेको चिसोका कारण सुनसरीमा न्यानो लुगाको कारोबारमा वृद्धि भएको छ।
उपभोक्ता चिसोको बेला आवश्यक पर्ने न्यानो लुगा किनमेल गर्न आएपछि यहाँ न्यानो लुगाको कारोबारमा वृद्धि भएको व्यापारीले बताएका छन्।
चिसोका बेला आवश्यक पर्ने सिरक, डसना, रुवा, कुर्ता सुरुवाल, टोपी, बल्याङकेटलगायत लुगाको कारोबारमा वृद्धि भएको इनरुवा–१ स्थित साडी महलका सञ्चालक शम्भु मेहताले जानकारी दिए।
सिरक डसना बनाउनको सङ्ख्यामा वृद्धि भएको भोक्राहा–५ का खालीद मन्सुरीले बताए। इनरुवा, इटहरी, रामधुनी, झुम्का, धरान, बराहक्षेत्रलगायत स्थानमा दैनिक रुपमा २० लाखभन्दा बढीको न्यानो लुगाको कारोबार हुने गरेको उद्योग वाणिज्य सङ्घ इनरुवाका सहसचिव गौतम झाले बताए।
इनरुवामा करिब एक सय कपडा पसलमा सेवाग्राहीको दैनिक चाप बढ्दो क्रममा रहेको व्यापारीले बताएका छन्। तयारी पोसाकमा ज्याकेट, स्विटर, गलबन्दी, टोपी, ट्रयाक्सुट, जम्फरलगायतको बिक्री बढ्नुका साथै सिरक डसना बनाउने क्रम बढेको व्यवसायीले बताएका छन्।
चिसोका बेला सिरक र डसनाको माग बढेपछि व्यापारीले मूल्य वृद्धि गरेको स्थानीय उपभोक्ता चन्दन मेहताले बताए।
प्रकाशित: ६ मंसिर २०८१ २०:३६ बिहीबार