मुलुकमा विदेशबाट खाद्यान्नदेखि अधिकांश सामानहरू ल्याउने अनि उपभोग गर्ने परनिर्भतातिर बढ्दै गएको भन्दै युवा कलाकर्मी कैलाश के श्रेष्ठ चिन्तित छन्।
आफनै देशमा बनेको उत्पादनको बजार विस्तार नीति नबनाइएपछि बजार नपाउनु, बजार नपाएपछि आर्थिक उपार्जन नहुनु र अर्थाेपार्जन नभएपछि कला मरेको देखेर उनलाई असाध्यै दुःख पनि लागेको छ।
यही कारण नै देशबाट दिन प्रतिदिन वैदेशिक रोजगारीका लागि युवाहरू विदेश जानु मुख्य कारण लाग्छ उनलाई। यही चिन्तालाई थोरै मात्रै भए पनि कम गर्न उनी लागिपरेका छन्।
भक्तपुरमा भइरहेको सेरामिक्स कार्यशाला यसको एउटा उदाहरण भएको उनी बताउँछन्। नेपाली माटोबाट बनेका सामानहरूमा कलाकारले कला बनाउने र त्यसलाई देशभरि मात्रै नभई संसारभरि नै बिकाउन सकून् भन्ने इच्छाले कार्यशाला गोष्ठीका लागि संयोजन गरेको उनले बताए।
कार्यक्रमका लागि अमेरिकाबाट प्रख्यात दुई कलाकार दम्पती मार्क नाफजिगर र जोइस नाफजिगर अहिले भक्तपुरमा छन्। कार्यक्रम सुरु भएको दिन अक्टोबर २२ देखि उनीहरू दैनिक भक्तपुरमै नेपाली कलाकर्मीहरूसँगै छन्।
अमेरिकी आर्ट्स एन्भोय कार्यक्रमअन्तर्गत नोभेम्बर १८ देखि २२ सम्म आयोजना भइरहेको पाँचदिने माटोको हस्तकला र सिरेमिक कला कार्यशालामा उनीहरू नेपाली कलाकर्मीहरूसँग छलफल, अनुभव आदानप्रदानमा छन्।
यसका लागि देशभरिबाट १० प्रतिभाशाली महिला कलाकारहरूसँग भक्तपुरमा छन्। उनीहरू समूहमा मिलेर आ-आफनो सीपलाई निखार्ने, कलात्मक आवाजलाई सशक्त बनाउने र आर्थिक तथा उद्यमशीलताका नयाँ अवसरहरूको खोजी गर्ने अवसर प्रदान गर्न भक्तपुरमा छलफलमा छन्।
"यस कार्यक्रमले प्रेरित गर्ने रचनात्मकता र प्रगतिका क्षणहरू हेर्न हामी आतुर छौँ," अमेरिकी कलाकारको दम्पतीले बिहीबार नागरिक न्युजसँग भने। अमेरिकी आर्ट्स एन्भोय कार्यक्रमअन्तर्गत कलाकार मार्क नाफजिगर र नेपाली प्रतिभाशाली कलाकारहरूको समूहले भक्तपुरको प्रसिद्ध पोटरी स्क्वायरस्थित कल्चर क्याफे एन्ड बारमा बसेर घनीभूत छलफलमा छन्।
कार्यशालामा दैनिक अमेरिकी कलाकार दम्पतीले आफनो देशको अनुभव सुनाउने र नेपालीहरूले नेपालको अनुभव सुनाउनुका साथै पोटरी स्क्वायरमा भइरहेको माटोको भाडा बनाउने कलाहरूको भ्रमण गरेर सिक्ने सिकाउने अवसर चलिरहेको छ।
समूहले परम्परागत माटोको भाँडाकुँडा बनाउने प्रविधि र पकाउने प्रक्रिया नजिकबाट अनुभव गर्दै नेपालको माटोको भाँडाकुँडा परम्पराबारे व्यावहारिक ज्ञान हासिल गरिरहेका छन्।
यस अनुभवले पुराना परम्पराहरू र आधुनिक कलाबीचको संयोजनबारे आवश्यक छलफलहरूको सुरुवात गरेको छ, कार्यक्रममा सहभागी टोलीका सदस्यहरूले भने, "यो कार्यशालाको रचनात्मक यात्राको लागि एक उत्कृष्ट सुरुवात हो।"
नेपालमै बनेका यी नेपाली माटाका भाडाहरूलाई उत्कृष्ट कला दिँदै नेपालमा मात्रै नभई संसारभरि नै बिक्री गराउन सकून् भन्ने आशय उनीहरूको छ।
तर, विडम्बना कुमालेले पाङ्ग्रा घुमाएर माटोबाट बनाउने गाग्रो, घ्याम्पो, चिलिम, गमला, मकल, घैँटो, देवताहरूका मूर्ति आदिइत्यादि अहिले विस्तार विस्थापित हुँदैछन्। यसको ठाउँ लिँदैछ प्लाष्टिकका भाडाहरूले। प्लास्टिकका रङ्गीचङ्गी भाँडावर्तन भित्रिए। भारत र चीनका भाँडावर्तन घरघर भित्रिए। ग्राहकका रुचि बदलिए। जीवनशैली फेरिए। माटाका भाँडावर्तन प्रयोगमै आउन छाडे। अनि पूर्वजको पेशा छोडिँदै गयो। यससँगै नेपाली कलाकारहरूको कला पनि हराए, बिलाए।
सेरामिक्स प्रविधिमा पेन्टिङ, डेकोरेसन, ग्लेज राखेर पोल्नेजस्ता पद्धतिको निरन्तर ओरालो लागेकामा सहभागीहरू दुःख व्यक्त गर्छन्। उनीहरूले भने, “मस्तिष्कमा सृजना छ, हातमा सफाइ छ। धर्तीमा माटो छ। तर प्रवीणता दिने ज्ञानको खाँचो छ। व्यावसायिकता र उद्यमको कमी छ। यही कारण हामी समूहमा छलफलमा छौँ।"
कार्यक्रमअन्तर्गत आठ सयदेखि एक हजार दुई सय ५० डिग्री सेल्सियस तापक्रममा माटोको भाडाहरू बोलिरहेका छन् उनीहरू। कमसल खालका माटोका वस्तु (अर्थनवेयर) ११ सय डिग्रीभन्दा तलको तापक्रममा नै उत्पादन हुन्छन् उनीहरूका अनुसार। तर, १३ सय डिग्री वा सोभन्दा माथिको तापक्रममा उत्पादन हुने वस्तुलाई (स्टोनवेयर) जुन निकै कडा हुने गर्दछन्।
परम्परागत विधिबाट फूल रोप्ने गमला, हाँडी, घैँटो, बत्ती बाल्ने पालालगायत बन्थे भने आधुनिक शैलीमा माटोका कप, गिलास, चियादानी र सजावटका वस्तुहरू उत्पादन गरे उनीहरूले। विशेषतः माटोलाई पोलेर विभिन्न प्रकारले कलाको रूप दिइरहेका छन्।
एकपटक पोलिसकेपछि पनि पुनः पोलेर आफूले खोजेको रङ, इफेक्ट, टेक्चर, चमक ल्याउन अनेक प्रयोग गरिरहेका छन् उनीहरू। यसैलाई पोटरी, टेराकोटा, सेरामिक्स कला आदि नामले पुकारिन्छ। यही समूहले बनाएको माटोको भाडाहरूलाई भक्तपुरकै पोटरी स्वायरमा कार्यशालाको अन्तिम दिन शुक्रबार प्रदर्शन गरिँदैछ।
सेरामिक्स आर्ट (माटोको कला) सम्भवतः मानव सभ्यताकै प्राचीन कला हो। नेपालको तराई, मधेश र काठमाडौं उपत्यकामा सबैतिर माटो कलाको रैथाने सीप, ज्ञान र प्रविधि छ। इसापूर्व तेस्रो शताब्दीका सम्राट अशोकले स्थापना गरेको स्तम्भ कला पनि माटोकै थियो। तर, यही सेरामिक्स आर्ट गर्न थ्रीडी अर्थात् डेन्जर, डर्टी, डिफिकल्टलाई सामना गर्नुपरिरहेको छ। यही कलामा युवाहरू विकर्षित भइरहेका छन्।
प्रकाशित: ६ मंसिर २०८१ २०:५२ बिहीबार