११ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

भारतीय पाहुनाले धानिएको पर्यटन क्षेत्र

भारतीय पाहुना छन् र त पर्यटन क्षेत्र चलेको होः व्यावसायी

पोखरा घुम्दै भारतीय पाहुना। तस्बिरः सन्तोष पोखरेल/नागरिक

प्रचण्ड गर्मीले यतिबेला भारतीय सहर हायलकायल छन्। गर्मीमा अत्तालिएका तिनै भारतीय सहरका पाहुनाले अहिले पोखरालाई गन्तव्य बनाएका छन्।

पर्यटकीय क्षेत्र लेकसाइडमा अहिले भारतीय पाहुनाको भीडभाड देखिन्छ। निजी गाडीमा हुइँकिने देखि समूह बनाएर घुम्न आउने भारतीय पाहुनाका कारण पर्यटन क्षेत्र चलायमान बनेको व्यावसायीको भनाई छ।

लेकसाइडका होटल देखि मुख्य सडकमा भारतीय पाहुना सवार सवारीको ठुलै पार्किङ देखिन्छ। त्यसबाहेक मूल सडकमा गुड्नेमा पनि भारतीय सवारी पर्याप्त देखिनछन् । पर्यटन व्यावसायीका अनुसार यो बेला आन्तरिक पाहुना कम छन्। तर, भारतीयको भीडभाडले होटल, रेस्टुरेन्ट देखि पर्यटकीय गन्तव्यसम्म भीडभाड बढेको उनीहरुको भनाई छ। अझ मठमन्दिरमा त झनै भीड देखिन्छ।

‘होटलमा अहिले भारतीय पाहुनाको भीडभाड छ। गर्मी छल्न आएका भारतीय पाहुनाले गर्दा सबैजसो होटलले पाहुना पाएका छन्,’ होटल बाराहीका महाप्रबन्धक राजकुमार केसीले भने, ‘खासमा यो बेला तेस्रो मुलुकका विदेशी कम हुन्छन्।

आन्तरिक पाहुनाको आउजाउ पनि कमै छ। तर, भारतीय पाहुनाले गर्दा पर्यटन क्षेत्र चलायमान बनेको छ।’ उनका अनुसार मध्यदेखि महँगा होटलमा समेत भारतीय पाहुनाको भीडभाड छ। केही समूहमा त कतिपय पाहुना पारिवारिक रुपमा घुमघाममा आएका छन्।

 ‘खासमा पर्यटन क्षेत्र गएको सिजनमा पनि उत्ति सारो चहलपहल हुन सकेको थिएन। व्यवसायीले आशा गरे अनुरूप पाहुना आएका होइनन, तर, यतिबेला भारतीयको आकार भने राम्रो छ। पर्यटन व्यवसाय धान्ने आधार आन्तरिक पछि भारतीय पाहुना बनेका छन्,’ केसीले भने।  

पर्यटन बोर्डका अनुसार पछिल्लो समय नेपाल आउने विदेशी पर्यटक मध्ये सबैभन्दा बढी भारतीय छन्। यो मे महिनामा मात्र ३८ हजार भन्दा बढी भारतीय पाहुना हवाई मार्गबाट भित्रिएका थिए। स्थल मार्गबाट समेत भित्रिएका भारतीय गणना गर्ने हो भने यो संख्या निकै नै बढी हुन्छ। तर स्थल मार्गको आगमनको गणना कतै पनि हुँदैन।

बोर्डका निर्देशक मणिराज लामिछाने भन्छन्, ‘पर्यटन क्षेत्र धानेकै यतिबेला भारतीय पाहुनाले हो। यो बेला भारतीय पाहुनाको आकार निकै नै राम्रो छ । गर्मी छल्नका लागि पनि भारतीय पाहुना नेपाल आएका हुन।’

पर्यटन क्षेत्रले भारतीय सहरमा अघिल्ला वर्ष प्रवर्द्धन अभियान चलाउँदै गर्मी छल्नका लागि नेपाल आउनु भनेर पाहुनालाई बोलाएकोले पनि त्यसको प्रभाव पर्दै गएको लामिछानेले बताए। ‘भारतमा उखरमाउलो गर्मी छ।

त्यो गर्मीमा केहीदिनका लागि सुस्ताउने गन्तव्य पोखरा बनेको छ। दिनहुँको गर्मीले अत्तालिएका भारतीय पाहुनाले यो बेला पोखरालाई मुख्य गन्तव्य बनाएका हुन। त्यसको लाभ पर्यटन क्षेत्रमा परेको छ,’ उनले भने, ‘आगामी दिनमा पनि यही तरिकाले भारतीय सहरमा प्रवर्द्धन गर्ने तयारी छ। ’

भारतीय पाहुना पनि गर्मी छल्नका लागि पोखरा आएको बताउने गरेका छन्। भारतको बैंगलोरबाट आएका शंकर एसले भने, ‘भारतमा यो बेला ५० डिग्री हाराहारीमा तापक्रम छ। म बस्ने सहरमा पनि ४० डिग्री हाराहारीमा तापक्रम हुन्छ। पोखरामा दिनहुँ पानी पर्ने हुँदा निकै नै शीतल महसुस भएको छ,’ उनले भने, ‘तातो सहरबाट चिसोमा आउँदा शरीरले भिन्दै राहत महसुस गर्दो रहेछ।’

तीस जनाको समूहमा आएका उनीहरुले नेपालमा सात रातको प्याकेज बनाएका थिए। ‘मुक्तिनाथ, पोखरा र काठमाडौं घुमेर फर्किने तयारी छ। कम्तीमा एक साताको यो भ्रमणले शरीरमा ऊर्जा दिएको अनुभव भएको छ,’ उनले भने, ‘निकै गर्मी सहरमा बसेर आएकोले पनि पोखराको गर्मीले खासै फरक परेन। पोखरा, काठमाडौंको गर्मी हाम्रा लागि सामान्य हो।’

व्यावसायीका अनुसार पछिल्लो समय सधैंजसो भारतीय पाहुना नेपाल आउन थालेका छन्। गर्मी छल्नका लागि मात्र नभई सहज आउजाउ भएकोले कुनैपनि समय नेपालमा भारतीयको आगमन उत्साहजनक रहेको व्यावसायीको भनाई छ।

‘भारतमा निर्वाचनका कारण केही समय अघि अलि सुस्ताएको आगमन यतिबेला पुन उत्साहजनक छ,’ होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले भने, ‘यो बेला भारतीय पाहुनाको आगमनले होटलको अकुपेन्सी पनि उकालो लागेको छ। ६० प्रतिशत हाराहारीमा अकुपेन्सी छ । कतिपय होटलको अकुपेन्सी त सतप्रतिशत पनि होला।’  

पोखराका पर्यटन व्यवसायीले केहीवर्षदेखि भारतीय सहरमा ‘चलिए पोखरा’ अभियान चलाएकोले पनि त्यसको प्रभाव स्वरुप अहिले भारतीय पाहुना आउन थालेको उनले बताए। पोखराका होटलको यति बेलाको अकुपेन्सीमा ३० प्रतिशत हिस्सा भारतीयले ओगट्ने उनले सुनाए।

उनका अनुसार भारतीय पर्यटकको पोखरा बसाई अवधि कम भएपनि यो आगमनले कुनै न कुनै रुपमा पर्यटनमा लाभ भने दिएको उनले बताए। उनका अनुसार पोखरामा भारतीय पाहुनाको औसत बसाई दुई रात हुने गरेको छ।

व्यावसायीका अनुसार पोखराभित्र मात्र नभई आसपासका गन्तव्यमा पनि अहिले भारतीय पाहुना छन्। पर्यटकीय क्षेत्र लेकसाइडमा त बिहान र बेलुकी भारतीय पाहुनाको बाक्लै भीड देखिन्छ। रेस्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराका अध्यक्ष नरेश भट्टराई भन्छन्, ‘भारतीय पाहुनाको आकार त राम्रो छ। तर, पर्यटन क्षेत्रको समग्र अवस्थामा भने उतारचढाव छ । कुनै दिन ह्वात्तै पाहुना आउँछन्। कुनै दिन सुस्ताउँछन्।’

सस्तो देखि महँगासम्मका होटलमा भारतीय पाहुना रहेका छन्। भारतीय पाहुना आएकै कारण वर्षायाममा पनि पर्यटन क्षेत्र केही धानिन सकेको पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटा बताउँछन्। ‘अब त भारतीय पर्यटकको सिजन भन्नै पर्दैन।

सधैंजसो भारतीय पाहुना पोखरा आउँछन्। तर, उनीहरुको बसाई अवधि कम छ। पर्यटकको बसाई अवधि बढाउन सक्ने हो भने पर्यटन क्षेत्रले लाभ पाउँछ,’ सापकोटाले भने।

व्यावसायीका अनुसार स्थलमार्गबाट पोखरासम्म आउँदा भारतीय पर्यटकलाई सहज छ। सुनौली नाका पार गरेको ६ घण्टामै भारतीय पाहुना पोखरा भित्रिन सक्छन्। त्यत्तिकै अवधिमा वीरगन्ज नाकाबाट आएका पाहुना पनि पोखरा आउन सक्छन्।

साना आकारका सवारीमा छोटो समयमै पोखरा आउन सक्ने भएपनि भारतीयले पोखरालाई गन्तव्य बनाएका उनीहरुको भनाई छ। ‘पहिला पहिला धार्मिक पर्यटक मात्र बढी हुन्थे। यो बेला भने धार्मिक मात्र नभई पारिवारिक र सामूहिक यात्रामा आएका पाहुना पनि बढी छन्,’ सापकोटाले भने।

प्रकाशित: २३ जेष्ठ २०८१ १४:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App