दश वर्षपहिले गएको कहालीलाग्दो भुइँचालोको डर धेरै नेपालीको मनमस्तिष्कबाट अझै हट्न सकेको छैन। शक्तिशाली भूकम्पले धेरैको ज्यान लियो, लाखौं नेपालीलाई महिनौं दिनसम्म बाहिर राख्यो। भूकम्प सुन्दैमा मानिसको मनमा एक प्रकारको त्रास उत्पन्न हुन थाल्यो। भूकम्पलाई बढी सम्झनाका लागि उद्धारमा खटिएका पात्रहरू नै पहिल्याउनुपर्ने हुन्छ। भूकम्पले थिचिएर सड्न सुरु गरेका शवमाथि मन बलियो बनाउँदै धेरैलाई जीवितै उद्धार गरेका त्यतिबेलाका धेरै नायक छन्।
२०७२ साल वैशाख १२ गते बिहान ११.५६ मा गएको ७.६ रेक्टरको भूकम्प र त्यसपछि १३ र २९ गते गएका शक्तिशाली पराकम्पका कारण देशका १४ जिल्ला अति प्रभावित भएका थिए। नेपाल सरकारले ती जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर आएको यो भूकम्पले राजधानी काठमाडौंसहित एक दर्जन जिल्लामा प्रभाव पारेको थियो। भूकम्पमा परी १० हजारभन्दा बढीको ज्यान गएको थियो।
सरकारले भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण गर्न पुनर्निर्माण प्राधिकरण गठन गरेको थियो। भूकम्पबाट सर्वसाधारणका घर, सरकारी भवन, स्कुल, स्वास्थ्य चौकी, प्रहरी चौकी, पुल, पुरातात्त्विक सम्पदालगायत पाँच लाखभन्दा बढी संख्यामा भौतिक संरचना भत्केका थिए। उद्धारका क्रममा केही साहसी नायकहरू रहेको देखाइदियो। तिनैमध्येका सशस्त्र प्रहरीका तत्कालीन निरीक्षक र हालका डिएसपी लक्ष्मण बस्नेत एक मुख्य पात्र हुन्। रौतहटको चन्द्रपुर नगरपालिका–१० सन्तपुरका स्थायी बासिन्दा लक्ष्मणबहादुर बस्नेत त्यति बेलाका साँच्चै नायक थिए ।

भूकम्प गएको पाँच दिनपछि अर्घाखाँचीका ऋषिराम खनाल र ६ दिनपछि नुवाकोटका पेम्बा लामालाई बस्नेतले सामान्य औजार प्रयोग गरेर जीवितै उद्धार गरेका थिए। ‘उद्धार कार्यमा म एक्लै थिइनँ, मेरो टिम थियो,’ तर उनी त्यसको जस आफू मात्र लिन खोज्दैनन्।
२०६४ साल असार ६ गतेदेखि सशस्त्र प्रहरीमा सेवामा प्रवेश गरेका बस्नेत अहिले पनि विपद् प्राधिकरणमा सशस्त्र प्रहरीको तर्फबाट विज्ञका रूपमा कार्यरत छन्। देशभर भूकम्पबाट सुरक्षित हुने विषंयमा प्रशिक्षण दिइरहेका छन् ।
डिएसपी बस्नेत यतिबेला अर्खाखाचीका ऋषिरा खनाल र नुवाकोटका पेम्बा लामा सम्झँदै भन्छन्– ‘भित्र कोही हुनुहुन्छ! हुनुहुन्छ भने प्लिज बोल्नुस्, हामी सशस्त्र प्रहरी हौं। हामी उद्धारकर्मी हौं। तपाईंलाई हामी जीवितै उद्धार गर्छौं भन्यौं तर कोही बोल्ने अवस्थामा थिएनन्। थिए भने पनि उनीहरूको मृत्यु भइसकेको थियो। निकै कहालीलाग्दो अवस्था थियो ।’ वैशाख १२ पछि सशस्त्र प्रहरीका तर्फबाट खटिएका तथा उद्धारका लागि खटिएका अन्य सुरक्षाकर्मीहरूले ठुलो जोखिमको पहिलो काम गर्नुपरेको उनको अनुभव छ।
जतिबेला उद्धारमा खटिएका सुरक्षाकर्मीहरू अप्ठ्यारोमा परेर जीवनमरणको अवस्थामा रहेका मानिस जीवित उद्धार गर्न पाए हुन्थ्यो भन्ने उनीहरूलाई लागिरहेको थियो। ‘भित्र कोही भएको थाहा पाउँदा आफूलाई कतिबेला उद्धार गरौं भन्ने हुटहुटी लागिरह्यो। सयौं घाइतेको उद्धार गरियो, अस्पताल पु¥याइयो। भत्किन लागेका संरचना सकुशल हटाइयो,’ उनले आफ्नो अनुभव सुनाए। त्यतिबेला सबैजसो सुरक्षाकर्मीहरूले द्रूत गतिमा काम गरेका थिए। ‘सशस्त्र प्रहरी मात्र होइन, सेना, नेपाल प्रहरी र सर्वसाधारण उद्धारकर्मीहरू पनि यसमा खटिएका थिए। आफ्नो स्रोत साधनले भ्याएसम्म काम गरेका थिए,’ डिएसपी बस्नेतले त्यति बेलाको उद्धार कर्मबारे बताएका छन् ।
वैशाख १२ गते शनिबार गोरखा केन्द्रविन्दु भएर भूकम्प गएपछि उनकै नेतृत्वमा खोज तथा उद्धारका लागि काठमाडौंमा खटिएको थियो। बस्नेतको टोलीले काठमाडौंको गोंगबु, नयाँ बसपार्क, मित्रनगर क्षेत्रमा खोजतलास गर्यो। उनका अनुसार टोलीमा उद्धार उपत्यका गण, विदेशबाट खटिएको उद्धार टोली साथमा थियो।
बढी प्रभावित जस्ता देखिएका हिल्टन र सँगै जोडिएको दीपावली गेस्ट हाउसबाट खोजतलास र उद्धारमा खटिएको सम्झाना गर्दै उनले भने– ‘सात तलाको गेस्ट हाउसबाट १३ गते नै खोजी सुरु गरिएको थियो। त्यहींबाट हो जस्तो लाग्छ बालक जोन केसीलाई दुई दिनपछि १५ गते बिहान जीवितै उद्धार गरेका थियौं। ती बालकलाई उपचारका लागि भारत पठाएको थाहा छ। त्यसपछि उनको अवस्थाबारे मलाई जानकारी छैन।’
‘ती दिनलाई सम्झियो भने अहिले पनि अत्याश लाग्छ,’ उनी ती दिनबारे स्मरण पनि गर्न नपारोस् भन्छन्। ‘सुरक्षित हुने कुनै भरपर्दा साधन थिएनन्। जति थियो त्यति मात्र पर्याप्त थिएन। अहिले त केही स्रोत साधन सम्पन्न छन्,’ त्यतिबेलाको परिस्थिति सम्झँदै भने, ‘भूकम्प गएको तेस्रो चौथो दिनसम्म मानिसमा कोलाहल थियो, आत्तिएका थिए। त्यही क्रममा हाम्रो टोली गाेंगबुको सयपत्री गेस्ट हाउसमा पुग्यो। त्यहाँ मानिस पुरिएको हुनसक्ने आशंका थियो। काम सुरु गरेको केही घण्टापछि कोही जीवितै छ भन्ने संकेत पाएपछि अझ होसियारीपूर्वक काम थालियो।’
उनका अनुसार त्यहाँ भित्रबाट आवाज आउने अवस्था थिएन तर भित्रबाट ढकढक पारेको आवाज आएपछि झ्याल फोडेर ढलान काट्दै घरको माथिल्लो तलामा गएर झ्यालबाट तल झरेपछि २८ वर्षका ऋषि खनाललाई उद्धार गरिएको थियो। ‘उनलाई जीवितै निकाल्न सफल भयौं। अप्ठ्यारोमा फसेकालाई निकाल्न थालेको काम त्यतिकै छोड्न मिल्दैन। भोक तिर्खा भन्दा मानिसको ज्यान ठुलो हो भन्ने सम्झेर काम गर्नुपर्छ,’ डिएसपी बस्नेतले पुरानो सम्झना मानसपटलमा घुमाए। उनले गर्वसाथ भने, ‘आफ्नो ज्यानको बाजी लगाएर अरूको ज्यान बचाउनुजत्तिको आनन्द जीवनमा अरू कुनै आनन्द छैन ।’
उद्धारपछि पनि उनीहरू डिएसपी बस्नेतको सम्पर्कमा रहेका छन्। खनालसँग काठमाडौं आएका बेला कुराकानी हुने गरेको र अर्का पेम्बा लामासँग भने कहिलेकाहीं मात्र कुराकानी हुने गरेको बताउछन्। खनालको उद्धार गरेकै भोलिपल्ट नुवाकोटका पेम्बा लामाको पनि उद्धार गरिएको थियो। उनको उद्धार एक सय २० घण्टापछि बस्नेत नेतृत्वको टिमले गरेको थियो ।
त्यतिबेला सुरक्षाकर्मीले खेलेको भूमिकालाई लिएर सरकारी तथा सर्वसाधारणबाट मुक्त कण्ठले प्रशंसा गरिएको थियो। जनशक्तिको अभाव, क्षमता अभिवृद्धि र साधनस्रोत अपुगजस्तो परिस्थितिमा पनि सुरक्षा अंगमा कार्यरत सबैले ज्यानको बाजी लगाएर काम गरेका थिए।
महाभूकम्पपछि कुनै पनि सुरक्षा निकायले बिदा लिएका थिएनन्। सुरक्षाकर्मी स्वयं घाइते हुँदासमेत उनीहरू उद्धारमा नै खटिइरहेका थिए। ‘हाम्रो तालिम, उपकरण र राज्यले दिएको दायित्व त्यहीं गएर सकिन्छ। हाम्रो जिम्मेवारी र औचित्य पुष्टि हुन्छ। हामीसँग उपकरण हुँदै नभएको होइन, तर कतिपय उपकरण यस्ता विपद्मा काम लाग्दैनन्। किनभने हाम्रा संरचना र उपकरणको तालमेल मिल्दैन। यहाँ साँघुरा गल्ली छन्, त्यहाँ कसरी ठुला साधन लैजाने भन्ने समस्या छ। एक हातले गर्नुपर्ने काममा गह्रौं उपकरण कसरी चलाउने समस्या नै छ,’ त्यसबेलाको अभावको विश्लेषण गर्दै डिएसपी बस्नेतले भने, ‘तर जे थिए, त्यसको उच्चतम प्रयोग भने गरेजस्तो लाग्छ। साधारण घरमा काठ र ढुंगा माटो हुन्छ। त्यसलाई हटाउन सजिलो हुन्छ। तर छड सिमेन्ट जोडिएका भवनमा काम गर्न निकै कठिन हुन्छ ।’
प्रकाशित: १३ वैशाख २०८२ १०:४० शनिबार





