१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

पदयात्रा व्यावसायीको अनुरोधः निषेधित क्षेत्रमा दुईजना अनिवार्य नगरौं

मुस्ताङको माथिल्लो क्षेत्र लोमान्थाङ। तस्बिरः नागरिक

पदयात्रा व्यावसायीले हिमाली जिल्लाको निषेधित क्षेत्रको पदयात्रामा जाँदा दुईजना विदेशी पाहुना हुनैपर्ने बाध्यकारी प्रावधान संशोधन गर्न सुझाएका छन। निषेधित क्षेत्रको पदयात्रामा जाँदा कम्तिमा दुईजना विदेशी हुनैपर्ने बाध्यकारी नियमका कारण एक्लै आएका कतिपय विदेशी पाहुना त्यस क्षेत्रमा जान नपाएको समेत व्यावसायीको भनाई छ।  

एकजना विदेशीको हकमा पनि निषेधित क्षेत्रमा जान पाउनेगरि प्रावधान लागु गर्न व्यावसायीको माग छ। पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थीका अनुसार निषेधित क्षेत्रमा एक्लो विदेशी (साथमा नेपाली गाइड भने अनिवार्य) पनि पदयात्रामा जान पाउनेगरि अध्यागमन विभागलाई अनुरोध गरिएको छ।  

‘निषेधित क्षेत्रमा दुईजना विदेशी हुनैपर्ने सर्तका कारण एक्लै पदयात्रामा जान खोज्ने कतिपय पदयात्रीले उक्त क्षेत्र घुम्नै नपाउने अवस्था छ। त्यसलाई सच्चाएर एक्लै पनि निषेधित क्षेत्रको पदयात्रामा जान पाउनुपर्ने प्रावधानको व्यवस्था गर्न विभागलाई अनुरोध गरेका हौ,’ उनले भने, ‘साथमा गाइड अनिवार्य भएपछि एक्लै जाँदा पनि पदयात्रा सुरक्षित हुने हाम्रो ठहर हो।’  

पछिल्लो समय एक्लै पनि पदयात्रामा जाने विदेशी पाहुना हुने भएकोले एक्लै पदयात्रामा जान पाउनेगरि प्रावधान सच्चाउनुपर्ने जरुरी रहेको उनले बताए। टानले हालैमात्र विभागलाई पत्र लेखेरै निषेधित क्षेत्रमा एक्लै पनि पदयात्रामा जान पाउनुपर्ने गरि व्यवस्था मिलाउन अनुरोध गरेको उनले बताए।

‘निषेधित क्षेत्रको पदयात्रामा जाने पर्यटकको हकमा हालको अनिवार्य दुईजना हुनुपर्ने झन्झटिलो व्यबस्थाले गर्दा उक्त क्षेत्रमा पदयात्रामा जाने पर्यटकको संख्या न्युन हुने गरेको छ,’ उनले भने, ‘उक्त नियमलाई शंसोधन गरि एकजनाको लागि मात्र पनि अनुमतिपत्र जारी हुनुपर्ने व्यवस्था भएमा सहज हुन्छ।’ पदयात्रामा जाँदा गाइड अनिवार्य भएकोले निषेधित क्षेत्रमा जाँदा पनि त्यो नियम लागु हुनुपर्ने उनले बताए।  

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रभित्र पर्ने मुस्ताङको उपल्लो मुस्ताङ र मनाङ नार र फू निषेधित क्षेत्र हुन्। ती ठाउँमा जाँदा कम्तिमा दुइजना विदेशी पाहुना हुनैपर्र्ने प्रावधान रहेको छ। ती दुवै ठाउँमा जाँदा विदेशी पाहुनाले अतिरिक्त शुल्क पनि तिर्नुपर्छ। दुइजना अनिवार्य भएको प्रावधानलाई सच्चाएर एकजना पनि जान पाउनेगरि सच्चाउनुपर्ने उनले बताए। ‘साथमा गाइड हुने भएपछि असुरक्षाको समस्या आउँदैन। हिजोका दिनमा यातायात र संचारको पहुँच नहुँदा कम्तिमा दुइजना विदेशी हुनुपर्ने नियम लागु भएपनि अब त्यो प्रावधान सच्चाउनुपर्छ,’ पन्थीले भने।

एक्यापका अनुसार मुस्ताङको निषेधित क्षेत्रमा मात्र सन् २०२३ मा ३ हजार ४ सय ८४ जना विदेशी पर्यटक पुगेका थिए। यो संख्या सन् २०२२ मा ३ हजार १ सय १२ थियो। २०२१ मा भने जम्मा ३ सय ३७ जना मात्र गएका थिए। पछिल्लो २० वर्षमा सबैभन्दा बढी सन् २०१४ मा मुस्ताङको निषेधित क्षेत्रमा जाने विदेशीको संख्या ४ हजार १ सय ४७ रहेको थियो। निषेधित क्षेत्रमा एक्लै जान नपाउने र समूहमा जाँदा पनि महंगो प्रवेश शुल्कका कारण त्यस क्षेत्रको पदयात्रामा जानका लागि विदेशी पर्यटक हच्किने गरेको व्यावसायीको भनाई पनि छ।

एक्याप प्रमुख रवी कडरियाले गृहमन्त्रालयको नियम अनुसार नै निषेधित क्षेत्रमा पदयात्रामा जाँदा कम्तिमा दुइजना विदेशी पाहुना हुनैपर्ने नियम रहेको बताए। ‘निषेधित क्षेत्रमा जाँदा कम्तिमा दुइजना विदेशी हुनैपर्ने नियम छ। तर, त्यो नियमलाई सच्चाएर एकल रुपमा पनि निषेधित क्षेत्रमा जान पाउनेगरि व्यवस्था गर्ने हो भने त्यस क्षेत्रमा विदेशी पाहुना बढ्छन,’ कडरियाले भने, ‘पदयात्रामा जाँदा गाइड अनिवार्य भएकोले दुइजना हुनैपर्ने बाध्यकारी नियमलाई संशोधन गरेर एकजना पनि जान पाउनेगरि सहज गर्ने हो भने अझै धेरै पर्यटक त्यस क्षेत्रमा उक्लिनेछन।’

अध्यागमन कार्यालय पोखराका प्रमुख नवराज शर्मा दोरङगाले निषेधित क्षेत्रको पदयात्रामा अहिलेसम्म दुइनना अनिवार्य रहेको बताए। ‘एक्लै पनि पदयात्रामा जान दिने की भन्ने विषयमा छलफल भईरहेको छ। तर, निर्णय भईसकेको छैन। तर, यो विषयले प्राथमिकता भने पाएको छ,’ उनले भने, ‘अहिलेसम्मको अवस्थमा भने दुइजना अनिवार्य नै हो। समूहमा पदयात्रा जाने गरि यो व्यवस्था लागु भएको हो।’  

मुस्ताङका निषेधित क्षेत्रमा प्रवेश गर्दा विदेशी पर्यटकले पहिलो १० दिनका लागि प्रतिव्यक्ति ५ सय अमेरिकी डलर शुल्क तिर्नुपर्छ। १० दिन कटेपछि प्रतिदिन ५० अमेरिकी डलरका दरले अतिरिक्त शुल्क तिनुपर्छ। मनाङको निषेधित क्षेत्रमा जाँदा भने सेप्टेम्बरदेखि नोभेम्बरसम्म एकसाताका लागि एकजनाले ९० अमेरिकी डलर शुल्क तिर्नुपर्छ। तर डिसेम्बर–अगष्टको समयमा भने एकसाताका लागि एकजनाले ७५ अमेरिकी डलर शुल्क तिर्नुपर्छ।  

प्रकाशित: २ जेष्ठ २०८१ १५:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App