५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

पर्यटन व्यावसायीको चिन्ताः वायु प्रदूषणले पाहुना तर्सिन सक्छन्

अहिलेको प्रदूषणले आगामि सिजनमा पनि असर पर्न सक्छ

अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गबाट देखिएको दृष्य। तस्बिर सौजन्यः विजय केसी

पदयात्रा व्यावसायी विजय केसी यति बेला अन्नपूर्ण आधारशिविर (एबिसी) को पदयात्रामा छन्। उनी आन्तरिक पाहुनाको समूह लिएर आधारशिविरको पदयात्रामा निस्केका थिए। आधार शिविर पुगेर पोखरा फर्किँदै गर्दा उनले आसपासका डाँडाकाँडा, हरियाली, खोलानाला, हिमाली चुचुरा स्पष्ट देख्न पाएका छैनन्।

‘सबैतिर तुवाँलोले ढाकेको छ। पदयात्रामा आएका पाहुना पनि यो बेला किन आइएछ भनेर गुनासो गरिरहेका छन्,’ एबिसीबाट पोखरा फर्कँदै गर्दा आइतबार दिउँसो छोमरोङमा रहेका उनले भने, ‘पोखरामा जत्तिको निस्सासिदो प्रदूषण त होइन। तर, अरुबेलाजस्तो स्पष्ट दृश्य यता पनि देख्न पाइन्न। हिमाली चुचुरासम्म पनि तुवाँलो छ। आधार शिविर पुगेपछि मात्र स्पष्ट दृश्य देख्न सकिन्न।’

 उनका अनुसार आधारशिविरमै पुगेपछि त हिमाल पनि देखिएको छ। तर, तल्लो भेगबाट हेर्दा हिमाल पनि लुकेको छ। स्पष्ट दृश्य देख्न नपाउँदा पर्यटक पनि निराश हुने गरेका छन्। उनका अनुसार पदयात्रामा रहेका पर्यटकहरु माथिल्लो भागमा जाँदा समेत केही नदेखेपछि खिन्न हुने गरेका छन्। केसीले भने, ‘आन्तरिक पाहुना पनि खुसी छैनन्। विदेशी त झनै खुसी हुँदैनन्।’

पदयात्रामा जानु आफैमा पनि सहज र सधैँ सम्भव नहुने भएकोले आएको बेला राम्रो दृश्य हेर्ने चाहना सबैको हुने उनले बताए तर, अहिले पदयात्रा क्षेत्रसम्म पनि वायु प्रदूषणको प्रभाव रहेको उनले बताए। ‘विदेशी पर्यटक त पटक्कै खुसी छैनन्। हवाई जहाज पनि उडेका छैनन्। केही दिन अघि चिनियाँ पर्यटकको एक समूह दिनभर उडान नभएपछि रातारात गाडीमा पोखरा आए। ती पर्यटकले दोहोर्याएर नेपाल यात्रा नगर्न पनि सक्छन्। यो सिजनमा नेपाल नजानु भनेर अरूलाई पनि भन्न सक्छन्,’ उनले भने।

वायु प्रदूषणले गर्दा अत्तालिएको काठमाडौं र पर्यटकीय सहर पोखरा निसास्सिएको छ। यो सिजन नेपालका लागि यात्रा गर्न अनुकूल हुँदैन भनेर विदेशी पाहुनाले सन्देश प्रवाह गर्न सक्ने र त्यसको मार आगामी सिजनमा पनि पर्न सक्ने जोखिम रहेको उनले बताए। ‘वायु प्रदूषणले अहिलेका लागि त असर पारेको छ नै। यसको प्रभाव आगामी सिजनमा पनि पर्न सक्छ,’ उनले भने।  

वायु प्रदूषणले पोखरा अत्तालिन थालेको दुई साता पुगेको छ। नेपालमा घुम्न आउने विदेशी पर्यटकको सिजन चलिरहँदा यहाँ प्रदूषणले अत्याउन थालेको थियो। प्रदूषणको त्यो अत्यासलाग्दो अवस्था अझै कम भएको छैन। वर्षा भएपछि वा जोडले हावा चलेमा मात्र अहिलेको प्रदूषण कम हुने वातावरणका जानकारहरुले बताइरहेका छन्।

वायु प्रदूषणको असर यत्तिसम्म परेको छ की पोखराबाट अरुबेला देखिने हिमाली श्रृंखला नदेखिएको झन्डै महिना दिन हुन लागेको छ। पर्यटकीय क्षेत्र लेकसाइडबाट अरुबेला सहजै देखिने विश्व शान्ति स्तूप र पुम्दीकोटको शिव मन्दिर पनि तुवाँलोभित्र लुकेका छन्। यसले गर्दा घुम्न आउने पर्यटकले यतिबेला कुनैपनि दृश्य देख्न पाएका छैनन्। त्यत्तिमात्र नभई प्रदूषणले स्वास्थ्यमा पनि असर पारेको गुनासो पर्यटकले व्यवसायीसँग गर्ने गरेका छन्।  

पर्यटक आउने यो सिजनमा वायु प्रदूषणले पारेको असर अहिलेका लागि त परेको छ नै आगामी सिजनमा पनि पर्ने चिन्ता व्यावसायीको छ। किनकि अहिले आएका पर्यटकले पोखराबाट कुनैपनि दृश्य देख्न पाएका छैनन्। दृश्य देख्न नपाएर खिन्न भएका पर्यटकले पुर्‍याउने सन्देशले आगामी दिनमा प्रभाव पर्न सक्ने चिन्ता व्यावसायीको छ।  

पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटा भन्छन्, ‘अहिले घुम्न आएका पर्यटकले केही पनि दृश्य हेर्न पाएनन्। खान र बस्नका लागि मात्र आएको अनुभव उनीहरुले गरेका छन्। उनै पर्यटकबाट पोखरा र सिंगो नेपालबारे गलत सन्देश प्रवाह हुनसक्छ।’ उनका अनुसार अहिले आएका पाहुना खुसी छैनन्। कुनै पनि दृश्य देख्न नसक्दा उनीहरु दुखि भएर फर्केका छन्। कतिपय पर्यटकले त बसाई अवधि पनि छोट्याएका छन्।  

‘यो सिजनमा नेपालमा घुम्न जानै लायक हुँदैन भनेर अहिले आएका पर्यटकले स्वदेश फर्केर बताउनेछन्। त्यसले गर्दा आगामी सिजनको आगमनमा असर पर्न सक्छ,’ उनले भने। त्यसबाहेक अहिले पर्यटकले तोकिएको गन्तव्यमा तोकिएको समयमा आउजाउ गर्न पनि सकेका छैनन्। त्यसको असर पनि आगामी दिनमा पर्न सक्ने सापकोटाको भनाई छ।  

‘एकसाता भन्दा बढी समयदेखि पोखरासँगको हवाई सम्पर्क अनिश्चित बनेको छ। त्यसले गर्दा पर्यटकले चाहेर पनि पोखरा आउजाउ गर्न पाएका छैनन्,’ उनले भने, ‘त्यसले गर्दा पनि गलत सन्देश प्रवाह हुने निश्चित छ।’ पोखरा आउजाउका लागि घन्टौँसम्म विमानस्थलमा कुरेर बस्नुपरेको तितो अनुभव पर्यटकसँग रहेकोले पनि त्यसले असर पार्ने उनको भनाई छ।

यो समयमा नेपालमा घुमघाम स्वास्थ्यमा हिसाबले जोखिमपूर्ण रहेको भन्ने सन्देश प्रवाह हुँदा त्यसले पर्यटन क्षेत्रमा भविष्यमा झनै असर पर्ने उनले बताए।

‘पोखराको मात्र नभई काठमाडौंको वायु प्रदूषण पनि विषाक्त रहेको दिनदिनै सन्देश प्रवाह भएको छ। त्यसले गर्दा पर्यटकले आगामी दिनका लागि नेपाल भ्रमणको योजना नबनाउन सक्छन्,’ उनले भने, ‘त्यसको मार पर्यटनमा पर्नेछ। सिजनको बेलाको आगमन प्रभावित हुन सक्छ।’

व्यावसायीका अनुसार अहिले पोखरा आएका पर्यटकले तोकिएको गन्तव्यमा सहजै आउजाउ गर्न नपाउँदा सकस खेपेका छन्। यतिसम्मकी हवाई उडान नभएपछि पर्यटक रातारात स्थलमार्गको यात्रा गर्न बाध्य भएका छन्। किनकि कनेक्टिङ फ्लाईट छुट्ने त्रासले हतारमा र रातारात यात्रा गर्न बाध्य भएका छन्। होटल बाराहीका महाप्रबन्धक राजकुमार केसी भन्छन्, ‘पाहुनाले हिँडडुलमा निकै नै समस्या खेपेका छन्। तोकिएको समयमा गन्तव्यमा पुग्न नपाउँदाको गलत सन्देश पनि प्रवाह हुनसक्छ।’

पर्यटन व्यावसायीका अनुसार पोखरा आउने पर्यटक प्रकृतिसँग रमाउन चाहन्छन्। हिमाली श्रृंखला देखेर रमाउने चाहना उनीहरूको हुन्छ। पदयात्रामा जाँदा पनि खोलानाला, वनजंगल, पाखा पखेरा, सूर्योदय र सूर्यास्तमा रमाउने पाहुना पर्याप्त हुन्छन्। तर, ती दृश्य अहिलेका लागि गुमनाम जस्तै छन्।  

‘विदेशी पर्यटक नेपालमा खान र बस्न आउने होईनन। उनीहरु रमाउन आउने हुन। तर, पर्यटक रमाउने प्रकृति नै वायु प्रदूषणमा लुकेको छ। त्यसले गर्दा आगामी सिजनमा असर पार्न सक्छ,’ केसीले भने, ‘मनोरम दृश्य देख्न नपाउँदाको मन खिन्न बनाएर पर्यटक फर्किने गरेका छन्।’ नेपालको वायु प्रदूषणबारे विदेशी मार्फत अन्तर्राष्ट्रिय स्तरमा सन्देश प्रवाह हुँदा त्यसले नेपाल आउने पर्यटकलाई अन्यत्र डाइभर्ट गर्न सक्ने जोखिम रहने उनले बताए।

प्रकाशित: २३ वैशाख २०८१ १५:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App