१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सहकारीपीडितबारे भाेलि राज्य व्यवस्था समितिमा छलफल

फाइल तस्वीर

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले सहकारी ठगीको विषयलाई केन्द्रमा राखेर भाेलि बुधबार बैठक बोलाएको छ। कार्यसूचीमा गृह मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल भन्ने विषय राखे पनि मुख्य गरी अहिले उठेको विषयलाई नै प्रमुख रुपमा ध्यानमा राखेर छलफल गराउन खोजेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए।

उनले समितिले सहकारी ठगीको विषयलाई ध्यानमा राखेको तर, महासचिवको दुईवटा नागरिकताको उजुरीलाई बुधबारको छलफलमा नराखिएको संकेत गरे। समितिले गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बोलाएको छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने भने गृह मन्त्रालयसँग सम्बन्धित छलफल भएका कारण समितिको पदेन सदस्यका नाताले आउने उनले जानकारी दिए।

‘समिति सबैको हो, यहाँ कुनै पार्टीको कुराभन्दा माथि उठेर समितिले छलफल गर्ने छ,’ उनले भने। प्रमुख प्रतिपक्षी दल कांग्रेसले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका निक्षेपकर्ताको रकम हिनामिना गर्नमा गृहमन्त्री पनि दोषी रहेको भन्दै राजीनामा माग गर्दै आएको छ भने, प्रधानमन्त्रीले  संसद्मा गृहमन्त्री निर्दोष भएको बताएका छन्। तर, सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रभावित पीडितले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा गत चैत ८ गते निक्षेप रकम फिर्ता गराउने व्यवस्था मिलाउन उजुरी दिएका थिए।

पीडितले आठ महिना बितिसक्दा पनि न्याय नपाएको भन्दै सहकारीका सञ्चालक गितेन्द्रबाबु राई (जिबी राई) सहित १४ जनालाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन्। यिनीहरूलाई कसले संरक्षण गरेको छ, जवाफ चाहियो भन्दै ज्ञापनपत्रमा उल्लेख गरेका छन्।

सूर्यदर्शन सहकारी संस्थामा १८ हजार सात सय बचतकर्ताको एक अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना भएको पोखरा महानगरपालिकाको अध्ययन समितिले निष्कर्ष निकालेको छ। 

प्रकाशित: १३ चैत्र २०८० ०९:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App