१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

पर्यटकीय सिजन: एकनासको छैन आगमन

कहिले बढेर ह्वात्तै ६० प्रतिशत त कहिले ३० प्रतिशतमा झर्छः व्यावसायी

पोखरा फेवातालमा डुंगामा रमाउँदै आन्तरिक तथा बाह्य पर्यटक। तस्बिरः सन्तोष/नागरिक

पर्यटन व्यवसायीले मार्च–अप्रिललाई पर्यटकीय सिजन मान्छन्। यो समयमा विदेशी पाहुनाको आगमन उच्च हुने भन्दै पर्यटन क्षेत्रले लाभको आशा पनि गर्छ। तर, यो पटक भने मुख्य सिजनमा पनि उत्ति सारो पाहुना नपाएको पर्यटन क्षेत्रको गुनासो छ।

सिजनको होटल बुकिङ पनि उत्साहजनक हुन नसकेको व्यवसायी बताउँछन्। पाहुनाको आगमनमा उतारचढावको अवस्था रहेको उनीहरुको भनाई छ। 

‘यो समय पर्यटन क्षेत्रका लागि सुखद् हुनुपर्ने हो। हामी व्यवसायी पनि त्यही अनुसार आशावादी थियौं। तर, तेस्रो मुलुकका विदेशी पाहुनाको आगमन कमजोर रह्यो,’ होटल ल्याण्डमार्कका संचालक ओम पाण्डे भन्छन्, ‘भारतीय पाहुनाको पनि सिजन त हो। तर, भारतीय पाहुना मात्र पर्याप्त हुँदैनन्।’ फेब्रुअरी मध्यदेखि सिजन सुरु हुने भएपनि यो बेलासम्म सिजनको संकेत खासै नदेखेको उनले बताए।

उनका अनुसार अहिले होटलको अकुपेन्सी अनुपात बढीमा ५० प्रतिशत हाराहारीमा छ। खासमा यो बेलाको अकुपेन्सी अनुपात कम्तीमा पनि ७० प्रतिशत हुनुपर्ने हो। पोखरामा जस्तै चितवनको सौराहामा पनि पाहुना आगमन सन्तोषजनक नभएको सौराहामा समेत होटल संचालन गरिरहेका उनले बताए।

‘कोरोना भाइरस संक्रमण सुरु हुनुभन्दा अघिको जस्तो त आगमन अहिलेसम्म हुनै सकेको छैन। नेपालमा पाहुना भित्रिए पनि पोखरा आउजाउको झन्झटले झनै असर पारेको छ,’ उनले भने, ‘काठमाडौंमा विदेशी पाहुना देखिए पनि पोखरामा उत्ति सारो आगमन हुन सकेको छैन। नेपालमा विदेशी पाहुनाको आगमन समग्रमा बढेको देखिन्छ। तर, पोखरामा पाहुना कम छन्।’

स्थलमार्गको यात्रा झन्झटमुक्त हुन नसकेकोले पोखरामा पाहुना पर्याप्त भित्रिन नसकेको उनले बताए। ‘पाहुनालाई घुमघाम गर्न पनि सकस छ। ठुला पर्यटकीय गन्तव्य जोड्ने मूल राजमार्गको यात्रा सकसपूर्ण छ,’ उनले भने, ‘पर्यटकीय गन्तव्य जोड्ने मुख्य राजमार्गको यात्रा सबैतिरको सकसपूर्ण हुँदा चाहेर पनि पाहुना हिँडडुल गर्न सकेनन्। त्यसको प्रभाव आन्तरिक पाहुनामा पनि परेको छ।’

पाण्डेका अनुसार पछिल्लो समय भित्रिएका पाहुना पनि सस्ता छन्, अर्थात् उनीहरुले धेरै रकम खर्च गर्दैनन्। सस्तो प्याकेजमा पाहुना आएका छन्। भित्रिएका चिनियाँ पाहुना पनि सस्ता छन्।

‘एउटा कोठाको प्रतिरात २५ सयदेखि ३५ सय रुपैयाँ पर्ने होटलमा अहिले पाहुना बढी छन्। ती भन्दा महँगा र सस्तो होटलमा अहिले पाहुना कम छन्,’ उनले भने, ‘केही सीमित होटलले शतप्रतिशत पाहुना पाउँदैमा पनि हुँदैन। समग्रमा पाहुनाको आगमन अनुपात ५० प्रतिशत नै हो।’ होटल संख्या थपिएको तर, पाहुना आगमन नबढेको कारणले पनि अभाव खेप्नुपरेको उनले सुनाए।

माउन्ट कैलाश रिसोर्टका संचालक नरेश भट्टराई पनि अपेक्षाकृत विदेशी पाहुनाको आगमन बढ्न नसकेको बताउँछन्। ‘यो बेला मुख्य सिजन हो। तर, जुन हिसाबले पाहुना आगमन हुनुपर्ने हो, त्यो छैन,’ भट्टराईले भने, ‘मुख्य सिजनमा पनि होटलका कोठा भरिभराउ हुन सकेनन्।’

उनका अनुसार अहिले होटलको अकुपेन्सी अनुपात ५० प्रतिशत हाराहारीमा मात्र छ। सिजनको हिसाबले यो आगमन कम हो।

‘कोरोना अघिको यो बेलाको अकुपेन्सी ७० देखि ८० प्रतिशत हाराहारीमा हुन्थ्यो। तर, अहिले ५० प्रतिशत भन्दा माथि उक्लिनै सकेन,’ उनले भने, ‘त्यसमा पनि उतारचढाव छ। कहिले ह्वात्तै आगमन ६०–६५ प्रतिशत पुग्छ। कहिले ३० प्रतिशतमा झर्छ। अनुपातमा ५० प्रतिशत रहेको हाम्रो अनुमान हो।’

उनका अनुसार विदेशीको आगमन पनि पहिलेजति अझै पुगेको छैन। त्यसबाहेक होटल संख्या पनि पर्याप्त थपिएका छन्। विदेशीको आगमनले पुरानै आकार लिँदै गएपनि होटलको संख्या थपिँदा पाहुना बाँडिएकोले पनि असर परेको उनको बुझाई छ।

‘कोरोनाले निकै नै कम आकारमा झरेको विदेशी पाहुना आगमन उकासिएर वर्षमा १० लाख नाघेको अवस्थामा पनि हामीलाई अभाव छ। पाहुना अभाव हुनुमा अर्को कारण व्यावसायिक प्रतिस्पर्धा पनि हो,’ उनले भने, ‘आगमन संख्या पर्याप्त नहुनु, तर, प्रतिस्पर्धा बढ्दा पाहुना बाँडिएका छन्।’

आगमन राम्रो हुँदा २०१९ अघिको यो बेलाको समयमा पोखराका होटलको अकुपेन्सी ७० देखि ८० प्रतिशत हुने गरेको थियो। उनका अनुसार अबको बुकिङ अहिलेको तुलनामा अप्रिलमा केही राम्रो छ। तर, त्यो पनि ७० प्रतिशत भन्दा माथि अकुपेन्सी पुग्ने अवस्था भने छैन।

‘विदेशीको आगमनले बिस्तारै लय लिँदै छ। आन्तरिक भने यो बेला केही खुम्चेको छ,’ उनले भने, ‘पोखरासम्मको आउजाउले असर परेकै हो। स्थलमार्ग असहज हुँदा आन्तरिक बढी प्रभावित हुन्छन्। केही असर विदेशीको आगमनमा पनि पर्छ।’

पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्जीज एसोसिएसन अफ नेपाल (टान)का गण्डकीका अध्यक्ष धर्मराज पन्थीका अनुसार यो बेला मुक्तिनाथको धार्मिक यात्राका लागि भारतीय पाहुना आउने समय हो। त्यसबाहेक पदयात्राको पनि यो बेला उत्तम समय मानिन्छ।

‘सिजन भएपनि कोरोना संक्रमण अघिको जस्तो आगमन छैन। पर्यटनको सिजन लागेको अनुभूति हुनै सकेको छैन,’ पन्थीले भने, ‘विभिन्न मुलुकमा जारी युद्धका कारण पनि पाहुना आउन सकेनन्। पाहुना आउने मुलुक नै अहिले युद्धको चपेटामा फसेका छन्।’

उनले पनि अहिलेको पाहुना आगमनबाट व्यवसायी सन्तुष्ट छैनन्। किनकि पदयात्राका लागि आउनुपर्ने आकारको पाहुना भित्रिनै सकेका छैनन्। ‘यो बेलाको आगमन निकै नै उत्साहजनक हुन्थ्यो। कोरोना अघिको यो बेलाको आगमनले व्यवसायीलाई उत्साह थप्ने गरेपनि कोरोनापछिको आगमनले भने सिजनमा पनि उत्साह दिलाउन नसकेको उनले बताए।

‘महिनैपिच्छे नेपाल भित्रिएको तथ्यांकले नेपालमा पाहुना बढेको देखिए पनि व्यवसायीलाई त्यसको लाभ उत्ति सारो छैन,’ उनले भने, ‘व्यावसायिक प्रतिस्पर्धा पनि बढ्यो। कोरोनाको असर अझै पनि केही मात्रामा छँदैछ। पर्यटन क्षेत्र सोचेको आकारमा चलायमान हुन सकेको छैन।’

प्रकाशित: २८ फाल्गुन २०८० १५:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App