१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अर्थ

जहाजको पर्खाइमा कालिकोटका जनता

कहिले आउला जहाज ?

जहाजको पर्खाइमा कालीकोटको सुनथराली विमानस्थल ।

झन्डै ३८ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको कालिकोटको सुनथराली विमानस्थलको निर्माण २०७९ साल माघ ११ गते सकियो।

संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री सुदन किराँती, नागरिक उड्डयन प्राधिकरण, कालिकोटका सांसद महेन्द्रबहादुर शाही, हिक्मतबहादुर विष्ट लगायतको छलफलपछि गत वैशाख १ गते पहिलो उडान गर्ने भनेर प्रचार समेत गरियाे।

स्थानीयले जहाज र जहाजमा आउने मान्छेहरूलाई लगाउन भनेर माला उने। तर निर्माण  सम्पन्न भएको १ वर्ष बित्दा पनि जहाज भने आएन।

त्यसपछि गत भदौ १३ गते कालिकोट विमानस्थलमा उडान हुने भनेर व्यापक प्रचार गरियो। त्यतिबेला पर्यटनमन्त्री सुदन किराँतीले परीक्षण उडान असोज १३ गतेका लागि सारिएको जानकारी दिए।

कालीकोटको नरहरिनाथ गाउँपालिकाका स्थानीय गणेश कुमार विष्टले भन्छन्, ‘पर्यटनमन्त्रीले भदौ १३ गतेको परीक्षण उडानको कार्यक्रम राखे, सबै तयारी पनि पुरा भयो। फेरी स्थगित गरी असोज १३ गते उडान हुने भनेपछि दुःखभित्र पनि खुसी हुन बाध्य भए। १३ गते बिहानदेखि दिनभर आकाशमा जहाज आउँछ कि भनेर हेर्न मन लाग्यो। तर जहाज आएन।’

विमानस्थल बनेको वर्ष दिन बितिसक्दा पनि जहाज नदेखेपछि स्थानीमा थप निराशा छाएको छ। 

‘कर्णाली आफैँमा विकट छ। यहाँको गरिबी, अशिक्षा, बेरोजगारी र विकासका पूर्वाधारको अभावमा गुज्रिरहेको छ।’ कालीकोटका युवा हिक्मतजंङ मल्ल भन्छन्, ‘पटकपटक राज्यका जिम्मेवार निकाय र व्यक्तिहरूले ढाँट्नु र विमानस्थल निर्माण सम्पन्न भएको वर्ष दिनसम्म पनि जहाज नआउनुले पीडा बोध भएको छ। अब त जहाज आउँछ कि आउँदैन भन्ने कुराको पनि टुंगो छैन।’ राजनीतिक खिचातानीले समस्या थपेको छ उनको बुझाइ छ।

कालिकोटबाट प्रतिनिधिसभा सदस्य रहेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफैं ढाँटिएको अनुभूत गर्छन्।

कालीकोटको प्रदेशसभा ‘ख’ बाट निर्वाचित प्रदेश सांसद हिक्मतबहादुर विष्टले सुनथरालीमा पटकपटक जहाज आउँछ भन्ने हल्ला मात्रै भएको सुनाए। सरकारबाटै जनतालाई भ्रममा पार्ने काम मात्र भएको उनको भनाई छ।

२०७३ सालमा कर्णालीकै नेता जीवनबहादुर शाही पर्यटनमन्त्री भएको बेला २०७३ साल माघ २९ गते पहिलो पटक कालिकोट विमानस्थलमा परीक्षण उडान भइसकेको भएको थियो।  

नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले भने, ‘अब नियमित उडानको कुरा हो। त्यसका लागि सरकारले तत्काल नियमित उडानको व्यवस्था गरी कालिकोटवासीको जहाज चढ्ने सपना पूरा गर्नुपर्छ। पटकपटक उडान गर्ने भनेर हल्ला गर्ने र नगर्ने गर्दा यहाँका नागरिक सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणप्रति आक्रोशित बनेका छन्।’

आफूले पनि सरकारलाई स्थानीय सरकारको भूमिकाबाट झकझकाइ रहेको उनले बताए।

प्रकाशित: ७ फाल्गुन २०८० २०:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App