१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अर्थ

अफ्रिकन स्वाइन फिभरले गण्डकीमा १६ हजार बंगुर मरे

अफ्रिकन स्वाइन फिभरबारे जानकारी दिँदै। तस्बिरः नागरिक

गण्डकी प्रदेशमा अफ्रिकन स्वाईन फिभर रोगको संक्रमण पुनः देखिएको छ। एक वर्षअघि देखिएर नियन्त्रणमा आएको यो रोग गण्डकीका जिल्लाहरुमा पुनः देखिन थालेको हो।  

गण्डकीका कास्की, तनहुँ, लमजुङ र गोरखामा अफ्रिकन स्वाईन फिभर रोगको संक्रमण पुनः देखिएको गण्डकी प्रदेश सरकार, कृषि तथा भूमि व्यवस्था मन्त्रालय अन्तर्गत रहेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो।

गण्डकी प्रदेशमा यो रोगबाट हालसम्म १६ हजार ५ सय ५४ वटा बंगुर मरिसकेका छन्। जसमध्ये कास्कीमा मात्र १५ हजार ३ सय ८८ वटा बंगुर मरेको निर्देशनालयका महानिर्देशक प्रेरणा सेढाईले जानकारी दिइन्। कास्कीमा मृत्यु भएको बंगुरको संख्या कुल मृत्यु संख्याको ९२.९ प्रतिशत हो। सो संख्यामा बंगुर मर्दा ५० करोड बढी रुपैयाँको क्षती पुगेको उनले बताईन्।

अघिल्लो वर्षदेखि देखा परेको अफ्रिकन स्वाईन फिभरले गण्डकीमा १२७ वटा फार्मका १६ हजार ४ सय ४२ वटा बंगुर मरेका थिए। यस वर्ष ढिला गरेर देखिएको यस रोगले हालसम्म ११२ वटा बंगुर मरिसकेको महानिर्देशक सेढाईले बताईन्। उनका अनुसार गण्डकीमा यस वर्ष कास्कीमा ५५ वटा, तनहुँमा ३० वटा, लमजुङमा १४ वटा र गोरखामा १३ वटा बंगुर मरेका छन्।

कास्कीमा यस वर्ष बंगुरको संख्या नै कम भएकाले मृत्यु संख्या कम देखिएको निर्देशनालयले जनाएको छ। कास्कीमा अघिल्लो वर्ष करीब ५० हजार बंगुर थिए। अफ्रिकन स्वाईन फिभर देखिएपछि निर्देशनालयले बंगुरको संख्या घटाउन आग्रह गरेपछि बंगुर पालक किसानहरुले ९० प्रतिशतसम्म बंगुरको संख्या घटाएका थिए। कास्कीमा हाल ५ हजारको हाराहारीमा बंगुर रहेकाले मृत्यु संख्या पनि कम देखिएको उनको भनाई छ।

अफ्रिकन स्वाईन फिभर रोग लागेपछि शतप्रतिशत बंगुरको मृत्यु हुन्छ। त्यसैले रोग लाग्नै नदिनका लागि सचेतना अभियान सञ्चालन गर्नेगरिएको निर्देशनालयका डा.बालकुमार श्रेष्ठले जानकारी दिए। न यसको भ्याक्सिन छ, न त यो रोग लागेपछि बंगुरलाई बचाउन नै सकिन्छ,’ उनले भने, ‘सकभर लाग्न नदिन र लागिसकेपछि त्यसको डिस्पोज गरेर निर्मलीकरण गर्नेबारे सचेतना जगाइरहेका छौं।’

बंगुरमा लाग्ने अफ्रिकन स्वाईन फिभर रोग रोगी सुंगुर, बंगुर, बंदेल, जंगली बँदेलसँगको सम्पर्कबाट, किर्नाको टोकाई, मासु वा रोगी पशुको सम्पर्कमा आएका सामग्रीहरुको लसपस वा ओसारपसारबाट र होटल तथा भोजभतेरबाट ल्याइएका जुठो खानाका कारण सर्ने र फैलिन सक्ने निर्देशनालयले जारी गरेको सूचनामा उल्लेख छ।

विश्व पशु स्वास्थ्य संगठनलाई हवाला दिदै निर्देशनालयले यसको रोकथापका लागि अन्य व्यक्तिलाई बंगुर वा सुंगुरको खोरमा पस्न नदिन, खोरमा पस्दा कपडा फेरेर वा डिस्ईनफेक्टेन्ट छरेर मात्रै प्रवेश गर्ने, खोरमा फोहोरको उचित व्यवस्थापन गर्ने, होटल तथा भोजभतेरबाट ल्याइएका जुठो खाना बंगुर, सुंगुरलाई सकभर नदिने, दिनै परे ३० मिनेट पकाएर मात्रै दिने, जंगली बंगुर र बंदेललाई सिधा सम्पर्कमा आउन नदिने आग्रह गरेको छ । यो रोग मान्छेमा भने नसर्ने उनले प्रष्ट्याए।

कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव टेकप्रसाद प्रसाईंले रोगका कारण मरेका बंगुरको क्षेतीपूर्ती किसानलाई दिएर पुनः व्यवसायमा फर्काउन मन्त्रालयले बिउ पुँजी उपलब्ध गराउने बताए।निर्देशनालयका पशु प्राविधिक सुरेश श्रेष्ठले बंगुर फार्मको नियमित अनुगमन गरेर किसानलाई सचेत बनाउने, बंगुरको संख्या घटाउन आग्रह गर्ने, रोग लागेका बंगुरको व्यवस्थापनका लागि सचेत गराउनेलगायतका कार्य आफूहरुले गरिरहेको बताए।

प्रकाशित: २९ माघ २०८० १५:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App