१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

प्रक्रिया पूरा भएका कम्पनीका आइपीओ नरोकौंः अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीका आइपीओहरू निष्कासन गर्न अनुमति दिन आग्रह गरेका छन्।

आज इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो आग्रह गरेका हुन्।

उनले करिब २५ देखि ३० वटासम्म कम्पनीहरू नियमित आइपीओमा लैजानका लागि लाइनमा रहेको भए पनि केही महिना यता रोकिएको बताए।

अध्यक्ष ढकालले प्रिमियममा दिनुपर्ने र गम्भीर प्रकृतिका बाहेक प्रक्रिया पूरा गरिसकेका कम्पनीका आइपीओ निष्कासन गर्न दिनुपर्ने बताए। उनले धितो पत्र बोर्डको अध्यक्ष नभएकै कारण प्रक्रिया पूरा भइसकेका कम्पनीको आइपीओ निष्कासन रोक्न नहुने बताए।

उनले भने, ‘करिब २५ देखि ३० वटासम्म कम्पनीहरू जुन एउटा रेगुलर आइपीओमा लैजानका लागि लाइनमा छ। त्यो धेरै महिनाअघिबाट रोकिएको अवस्था छ। म के आग्रह गर्न चाहन्छु भने प्रिमियममा दिनुपर्ने, गम्भीर हिसाबको इस्युहरु छन् भने भोलि अध्यक्षज्यु आइसकेपछि गर्ने होला तर एउटा प्रोसेसमा भएको र सबै पूरा गरेको एउटा चिठीको लागि मात्रै रोकिएका करिब मलाई लाग्छ ३० वटा जति कम्पनी लाइनमा छ। त्यस्तो किसिमको आइपीओमा जाने कुरा रोकिएको छ। हामीले मिडियामा पनि हेर्ने गरेका छाैँ, यो इस्युहरु धेरै उठेको छ। प्रक्रियामा भएको र प्रक्रियाको अन्तिम चरणमा पुगेको कम्पनीलाई आइपीओ निष्कासन गर्न दिनुपर्छ।’

अध्यक्ष ढकालले बैंकबाट लिएको ऋण तिर्नै पर्दैन भन्ने हिसाबले सन्देश गइरहेको कुराले आम सर्वसाधारणमा अन्योल सिर्जना भएको उल्लेख गरे।

उनले निजी क्षेत्रको आत्मविश्वास कमजोर बनिरहेको बताए। नेपालमा लगानी गर्ने वातावरणमा विशेष ध्यान दिन आवश्यक रहेको बताए।

प्रकाशित: २४ माघ २०८० १०:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App