१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

‘गोला ढुंगा र काँचो माटोबाट घर बनाउन प्रोत्साहन नगरौं’

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गोला ढुङ्गा र काँचो माटोबाट बनेका घर निर्माण गर्न प्रोत्साहन नगर्न अनुरोध गरेको छ। गोला ढुङ्गा र काँचो माटोबाट बनेका घर भूकम्पबाट अति जोखिममा रहने भएकाले यस्ता घर निर्माणमा कसैलाई पनि प्रोत्साहन नगर्न अनुरोध गरेको हो।

जाजरकोट भूकम्पमा परेर क्षति भएका घर यस्तै ढुङ्गा र काँचो माटोबाट बनेका धेरै रहेको बताउँदै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यसतर्फ सर्वसाधारण पनि आफैं सचेत हुनुपर्नेमा जोड दिए। उनले सरोकारवाला निकाय तथा स्थानीय तहले यस्ता घर निर्माणमा प्रोत्साहन गर्न नहुने बताए।

पोखरेलले कर्णाली प्रदेशमा यस्ता काँचो माटो र डल्लो ढुङ्गाबाट बनेका घरहरू करिब ८० प्रतिशत रहेको जानकारी गराउँदै अब गोला ढुङ्गाबाट घर नबनाउन अनुरोध गरे। ‘स्थानीय स्रोतसाधनबाट पनि राम्रा र बलिया घर बन्छन्। भूकम्प प्रतिरोधी घर निर्माणका लागि आवश्यक ज्ञान सीप दिन जरुरी छ‘, उनले भने, ‘घर कसरी बलियो र भूकम्प प्रतिरोधी बनाउन सकिन्छ भन्ने ज्ञानको अभाव देखिएको छ। जसले चुनौती खडा गरिरहेको छ, अब पालिकालाई त्यो सीप र ज्ञान प्रदान गरेर नागरिकसम्म पुर्‍याउनुपर्छ।’

प्रमुख कार्यकारी अधिकृत पोखरेलले प्राधिकरणले अब गोला ढुङ्गाबाट घर बनाउने चलनलाई अन्त्यका लागि योजना बनाएर अघि बढ्ने बताए। उनले विपद् व्यवस्थापनको प्रमुख जिम्मा स्थानीय तहको बढी हुने भएकाले पालिकाले यस विषयमा बढी ध्यान दिनुपर्नेमा जोड दिए। तीनै तहका सरकारसँगको समन्वयमा मात्रै विपद् व्यवस्थापनका काम प्रभावकारी गर्न सकिने प्राधिकरणको भनाइ छ।

‘जाजरकोट बारेकोटमा हेर्दा खानीका ढुङ्गा प्रयोग भएको पाइएको छ। जहाँ खानीका ढुङ्गा प्रयोग भएका छन्, त्यहाँ क्षति कम भएको देनिन्छ। जहाँ गोला ढुङ्गा प्रयोग भएका छन्, त्यहाँ क्षति बढी भएको छ‘, पोखरेलले भने। भूकम्प प्रतिरोधी घर निर्माणमा सर्वसाधारणलाई प्रोत्साहन गर्न प्रधिकरणले योजना बनाइरहेको उनले जानकारी दिए।

प्राधिकरणले गोला ढुङ्गालाई काट्ने फलामको आरोको बन्दोबस्त गर्ने जनाउँदै पोखरेलले सहरी विकास मन्त्रालय तथा प्राधिकरणले पुनःनिर्माणमा उक्त आरोको प्रयोग गरी निर्माण सामग्री तयार गर्ने गर्ने योजना बनाइरहेको बताए।

‘इन्टरलकिङका इँटका घर २०७२ को भूकम्पमा प्रयोग गरिएको थियो, अहिले ती घर सुरक्षित छन्। गोला ढुङ्गाका घर भने भूकम्पीय जोखिममा छन्’, उनले भने, ‘त्यसैले यस्ता घर निर्माण नगर्न प्राधिकरणले सबैमा अनुरोध गरेको छ।’ –रासस

प्रकाशित: १ माघ २०८० ०६:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App