२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

हिमालय एयरलाइन्स ‘आइओएसए’ मा दर्ता हुने पहिलो नेपाली वायुसेवा

हिमालय एयरलाइन्स नेपालको पहिलो र एक मात्र आइटा अपरेसन सेफ्टी अडिट ‘आइओएसए’मा दर्ता भएको वायुसेवा बनेको छ।

इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आईटा) द्वारा ३ मार्च २०२५ सम्म मान्य हुने गरी प्राप्त आइओएसए प्रमाणीकरण एक कोसे ढुङ्गाको रुपमा हिमालय एयरलाइन्सले उपलब्धि हासिल गरेको कम्पनीले जनाएको छ।

यस उपलब्धिले नेपालको उड्डयन क्षेत्रको सुरक्षा मापदण्ड सुदृढीकरण गर्न पहलकदमी गरेको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए। उनले हिमालय एयरलाइन्स आईओएसए कार्यक्रम म्यानुअलको प्रावधान अनुसार आइटा अपरेशनल सेफ्टी अडिट प्रोग्राम  अन्तर्गत आइओएसए अपरेटरको रूपमा सफलतापूर्वक दर्ता भएको जानकारी दिए।  

हिमालय एयरलाइन्सका लागि आईओएसए प्रमाणीकरणले यात्रुलाई सुरक्षित र भरपर्दो यात्राको अनुभव प्रदान गर्दै उच्च सुरक्षा मापदण्ड र उत्तम अभ्यासहरू पालना गरेको गर्ने उनले बताए। उनी भन्छन् ‘नेपालको पहिलो र एक मात्र आईओएसए प्रमाणित वायुसेवाको रूपमा हिमालय एयरलाइन्सले हवाई सुरक्षाको आफ्नो प्रतिबद्धताका सम्बन्धमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ।’ उनले थपे,‘यस कठिन परीक्षण प्रक्रियाले वायुसेवा सञ्चालनका विभिन्न पक्षहरूको मूल्याङ्कन गर्दै दक्षता, जोखिम व्यवस्थापन र समग्र कार्यसम्पादन सुधार भएको छ।’

यो कोसे ढुङ्गाले नेपालको उड्डयन उद्योगमा सकारात्मक परिवर्तनको सङ्केत गरेको उपाध्यक्ष श्रेष्ठको भनाई छ। यस प्रमाणीकरणले उच्च सुरक्षा मापदण्डहरू कायम राख्नका लागि एयरलाइन्सको निरन्तर प्रयासलाई मात्र प्रमाणित गर्ने मात्र नभएर विश्वव्यापी उडड्यान समुदायमा एक विश्वसनीय वायुसेवाको रूपमा समेत स्थान दिएको उनको दाबी छ।

यस्तै उडड्यान सुरक्षा तथा सुरक्षा नियमन निर्देशनालयका उप महानिर्देशक नबिना कर्माचार्यले हिमालय एयरलाइन्सको यस उपलब्धिले निश्चित रूपमा यात्रुहरूको विश्वासलाई सुदृढ गर्न तथा देशमा हवाई यात्राको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउँने बताइन।

आईओएसए अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट एसोसिएसन (आईटा)द्वारा वायुसेवाहरूको लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त परीक्षण कार्यक्रम हो। जुन अपरेसन सुरक्षा वृद्धि गर्ने र वायुसेवा उद्योग भित्र साझा सुरक्षा मानक प्रवर्द्धन गर्ने प्राथमिक लक्ष्यका साथ वायुसेवाको अपरेसन व्यवस्थापन र नियन्त्रण प्रणालीहरूको मुल्याङन गर्नको लागि विकास गरिएको हो।  

यो प्रक्रियामा वायुसेवाहरूको नीति, प्रक्रिया र अभ्यासहरूको परीक्षण समावेश हुन्छ। यसमा कागजातहरूको मूल्याङ्कनका साथै साइटको समीक्षा समेत समावेश हुन्छ।

परीक्षणको सफलता र सबै निष्कर्षहरूको पालना पश्चात् वायुसेवाहरूलाई आएओएसए प्रमाणीकरण प्रदान गरिन्छ।

हिमालय एयरलाइन्स नेपाल–चीनबिचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो। हाल यस एयरलाइन्सका चार वटा विमानहरूले मध्यपूर्व र दक्षिण एसियाका संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ।

प्रकाशित: २४ पुस २०८० १०:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App