२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ठन्डीले छेकेन ‘रारा’ पुग्न, बढ्दै छन् पर्यटक

पाँच महिनामा ६ हजार पर्यटक

आकाशको रङअनुसार रङ फेर्ने रारा ताल, मुगु। तस्बिर : नागरिक

कर्णाली प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा पाँच महिनामा ६ हजार दुई सय पर्यटक पुगेका छन्।

रारा राष्ट्रिय निकुञ्जको कार्यालयले दिएको जानकारीअनुसार गत साउन १ गतेदेखि मंसिर मसान्तसम्ममा आन्तरिक पर्यटक ६ हजार ७५, सार्क मुलुकका २६ र अन्य विदेशी ९९ सय जना गरी पाँच महिनामा ६ हजार दुई सय पर्यटकले रारा अवलोकन गरेका छन्।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी जयहरि धितालले पाँच महिनामा ६ हजार दुई सय पर्यटकले रारा भ्रमण गरेको बताए। यो वर्ष रारामा पर्यटकको संख्या वृद्धि भइरहेको उनको भनाइ छ।

दसैं-तिहार बिदाको मौका छोपेर रारामा आन्तरिक पर्यटक बढी आएको निकुञ्जले जनाएको छ। पाँच महिना भित्र पर्यटकबाट करिब १८ लाख राजस्व असुल भएको कार्यालयले जनाएको छ।

गत वर्ष ११ हजार आन्तरिक पर्यटकले रारा भ्रमण गरेका थिए भने सार्क मुलुकबाट २६ जना र अन्य विदेशी एक सय ८३ पर्यटक आएका थिए। कोरोना महामारीका कारण चार वर्षसम्म शिथिल बनेको पर्यटकीय क्षेत्र रारामा यो वर्ष पर्यटक आगमन बढ्ने देखिएको हो ।

निकुञ्ज कार्यालयले रारा भ्रमणमा आउने आन्तरिक पर्यटकबाट प्रतिव्यक्ति एक सय सार्क मुलुकका पर्यटकबाट प्रतिव्यक्ति एक हजार पाँच सय र अन्य विदेशी पर्यटकबाट प्रति व्यक्ति तीन हजारका दरले प्रवेश शुल्क उठाउने गरेको छ। हवाई मार्गबाट ७५ प्रतिशत र सडक मार्गबाट २५ प्रतिशत पर्यटक रारा भ्रमण गर्न आउने गरेका छन्।

पर्यटन व्यवसायीहरूले भने सडक र हवाईमार्ग भरपर्दो नहुँदा रारामा अझै पर्यटक आगमन उल्लेख्य रूपमा वृद्धि हुन नसकेको गुनासो गरेका छन्। अर्को तिर रारा क्षेत्रमा पर्यटकलाई बास बस्ने सुविधायुक्त होटल र मनोरञ्जनका साधन समेत छैनन्।

भरपर्दो सडक, सुविधा सम्पन्न होटल, नहुँदा पर्यटकले बोटोमा सास्ती खेप्नु परेको गुनासो छ। यो ठन्डी मौसममा पनि रारा आउने पर्यटकको संख्या बढेको देखिन्छ। अहिले कर्णाली राजमार्ग स्तरोन्नतिको कामले पनी बाटोमा पर्यटकलाई सास्ती हुने गरेको छ।

साउनदेखि हालसम्म रारा घुम्न आउने पर्यटकहरूबाट पाँच महिनामा १८ लाख राजस्व संकलन भएको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ।

प्रकाशित: १८ पुस २०८० ०१:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App