२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

‘आन्तरिक पर्यटक आकर्षित गर्न महोत्सव’

विश्वराज पौडेल, मेला संयोजक, रेबान

सुन्दर नगरी पाेखरा साैन्दर्यकाे खानीकाे रूपमा लाेकप्रिय रहेकाे छ। यही पोखरा सडक महोत्सवबारे नागरिककर्मी सन्ताेष पाेखरेलले मेला संयोजक विश्वराज पौडेलसित गरेकाे कुराकानी प्रस्तुत गरिएकाे छ :

पोखरा सडक महोत्सवको २५ औं संस्करणको तयारी कस्तो छ?

पोखरा सडक महोत्सवले यो वर्ष रजत जयन्ती मनाउँदैछ। यो महोत्सव पर्यटकीय दृष्टिकोणबाट निकै नै महत्वपूर्ण छ। २५ औं संस्करणको महोत्सव आयोजना भइरहँदा अघिल्ला वर्ष भन्दा फरक र विशेष बनाउने प्रयासमा छौं।

संस्कृति, खाना र संगीतलाई विशेष महत्व दिएका छौं। त्यसबाहेक यो वर्ष विभिन्न क्षेत्रमा योगदान दिएका २५ जनालाई सम्मान गर्ने तयारी छ। त्यसैगरी २५ थरिका खाना पनि यो संस्करणमा पस्कने प्रयास छ।

बर्सेनि हुने यो मेलाले पोखरालाई कसरी लाभ दिएको छ?

यो समय पर्यटकीय दृष्टिले अफसिजन हो। यो बेला विदेशी पाहुनाको आगमन निकै नै कम हुन्छ । २५ वर्ष अघि मेला सुुरु गर्दा विदेशी पाहुना निकै नै कम हुन्थे, बरु अहिले पाहुना बढी देखिन्छन्।

मेला सुरु गर्दाताका यो समयमा नेपालमा पर्यटकीय गतिविधि नहुने भएकाले भएका विदेशी पाहुना पनि क्रिसमस र न्यु इयर मनाउन स्वदेश फर्किने गर्दथे। नेपालीहरू पनि नेपालमा कुनै गतिविधि नहुँदा नयाँ वर्ष मनाउन भारतको गोवा जान्थे।

स्वदेश फर्किन चाहने विदेशी र गोवा जाने स्वदेशी पाहुनालाई नेपालमा रोक्न र पोखरा बोलाउन यो महोत्सवको आयोजना भएको हो। यसले अहिले बृहत् रूप लिएको छ। आर्थिक रूपले चलायमान बनाउन पनि मेलाले सघाएको छ।

पर्यटन क्षेत्रमा मात्र नभइ कृषि, पशुपालनसहित आसपासका ग्रामीण क्षेत्रका पर्यटकीय गाउँले पनि यतिबेला पाहुना पाउँदा आर्थिक गतिविधि बढ्ने गरेको छ।

 हवाई सेवा, बस, ट्याक्सी, पोखराभित्रको स्थानीय नगर बस सेवादेखि लत्ता, कपडाका सबै व्यवासायीले यो बेला कमाउन पाउँछन्। पर्यटन क्षेत्रले मात्र यो बेला कमाउँदैन, सबैले आम्दानी गर्छन्। व्यवसायीले मात्र कमाउने नभई मेलाकै कारण सरकारले पनि राजस्व पाउँछ।

एउटै मेलाले २५ वर्षसम्म निरन्तरता पाउनुको कारण के हो?

यो मेलाले खाना, संस्कृति र संगीतलाई प्राथमिकता दिएको छ। त्यसबाहेक अरू मेला निश्चित क्षेत्रभित्र बारले छेकेर गरिन्छ तर यो महोत्सव सडकमै आयोजना हुन्छ। सडकमै मेला हुने भएकाले यसको महत्व बढी छ।

लेकसाइडको तीन किलोमिटर क्षेत्रभित्र मेला चल्छ, जुन सबैका लागि नौलो छ। त्यसबाहेक सडकमै रेस्टुरेन्टले स्टल राखेर खाना पस्किने हुँदा सडकमै खान पनि पाइन्छ। सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं भन्ने सन्देश पनि यो मेलाले दिने गरेको छ। अरू मेलाभन्दा फरक शैलीमा मनाइने भएकाले पनि यसले निरन्तरता पाएको हो।

सडकमा गतिविधि हुने भएकाले पनि यो मेला नितान्त फरक छ। यो मेलामा सबैले कमाउन पाउने भएकाले पनि यसलाई महत्व दिएर निरन्तरता पाउन सहयोग मिलेको हो।

‘ब्रान्ड’ बनेको पोखरा सडक महोत्सव महोत्सवलाई यहाँसम्म ल्याउन कत्तिको सहज थियो?

मेला आयोजना गर्दा हामीलाई नै धेरै कुरा थाहा थिएन। यो संख्यामा पाहुना आउने अपेक्षा पनि थिएन। महोत्सवका प्रभाव जान्न बुुझ्न नै धेरै समय लाग्यो। अहिले हामीले पाहुनालाई दिएको कतिपय कुरा त्यो बेला हामीसँग हुँदाहुँदै पनि दिन सकेका रहेनछाैं। यो अवधिमा कहिले के कहिले के गरेर बेलाबेलामा अप्ठेरा आएका हुन्, तर ती सबै पार लाग्दै गए।

अहिले त धेरै सहज भएको छ। बीचबीचमा केही अप्ठेरा नआएका पनि होइनन् तर पनि पोखराको यो महोत्सवले निरन्तरता पाइरह्यो। जस्तोसुकै अप्ठेरोमा पनि महोत्सवले निरन्तरता पायो। यो महोत्सव पोखरेलीको मात्र नभई समग्र नेपालकै बनिसकेको छ। सबैक्षेत्रको सहयोगले पनि मेला गर्न हामीलाई हौसला मिलेको हो।

मेलाकै कारण पोखरा आएका पाहुनाको बसाइ लम्बिएको छ त?

पक्का पनि हो। यो मेला सुरु गर्दा नेपालमा अंग्रेजी नयाँवर्षको रमझम खासै हुँदैनथ्यो। नेपाली पनि रमाउन यो बेला भारतको गोवा जान्थे। नेपालमा कार्यरत कूटनीतिक निकायका पाहुना पनि स्वदेश फर्किन्थे तर अहिले स्वदेश फर्किने कूटनीतिक निकायका पाहुना पोखरा आउँछन् भने विदेश जाने आन्तरिक पाहुना पनि रमाउन पोखरा नै आउँछन्।

पछिल्लो समय अंग्रेजी नयाँवर्ष पोखरामा मनाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न सकेका छौं। मेलाकै कारण पाहुनाको बसाइ अवधि पनि लम्बिएको छ।

मेलामा त युवापुस्ता र आन्तरिक पाहुनाको मात्र भीडभाड हुन्छ त?

अफसिजन भएकाले यो बेला विदेशी पाहुना निकै नै कम हुन्छन् तर आन्तरिक पाहुनाको संख्या भने यो मेलाले बढाएको छ। पछिल्लो समय स्वदेशी पाहुनामा पनि बिदा मनाउन हिँड्ने प्रचलन सुरु भएको छ।

परिवारदेखि साथीसाथी मिलेर पनि घुम्न आउने गरेका छन्। घुम्ने संस्कार बढ्दै जाँदा आन्तरिक पाहुनाको हिस्सा स्वतः बढेको हो। पछिल्लो समय त आन्तरिक पाहुनाकै कारण पोखराको पर्यटन क्षेत्र चलायमान बन्न पनि सकेको छ। कोभिड संक्रमण पछि त आन्तरिक पाहुनाको आकार झनै बढेको छ।

यो संस्करणमा कति पाहुना भित्र्याउने लक्ष्य छ?

कोरोना भाइरस संक्रमणले गर्दा अघिल्ला केही संस्करण अलि प्रभावित भए। यो वर्ष महोत्सव गर्नका लागि निकै उपयुक्त समय छ। अहिले पाहुना आउजाउमा खासै अप्ठेरो पनि छैन।

यो संस्करणमा कम्तिमा पाँच लाख आन्तरिक पाहुना भित्र्याउने लक्ष्य छ। पाहुनाको यकिन तथ्यांक कतै नरहे पनि अनुमानित संख्याका आधारमा पाँच लाख पाहुना आउने हाम्रो अनुमान छ। यो मेला पाँचदिनसम्म चल्ने छ।

अंग्रेजी न्यु इयरको छाप यति धेरै जनमानसमा बसेको छ कि आन्तरिक पाहुनाले यो महोत्सवमा पोखरा घुम्न जानुपर्छ भनेर क्यालेन्डर मै उल्लेख गर्न पनि थालेका छन्। सडक महोत्सवको छाप सर्वसाधारणको क्यालेन्डरमा समेटिएको छ।

मेला आयोजना गर्दा सरकारी निकायको सहयोग कत्तिको पाउनुभएको छ?

सरकारी निकायले सहयोग गरेकै छन्। सुरक्षाकर्मीले मेला अवधिमा दिनरात सुरक्षा दिएका छन्। सरकारी निकायकै सहयोगले अहिलेसम्म छिटफुटबाहेक मेला नै प्रभावित हुने गरी कुनै अप्रिय घटना भएका छैनन्।

हामीले पनि निजीक्षेत्रका सुरक्षाकर्मी भिœयाएर सरकारी निकायसँगकै सहकार्यमा व्यवस्थापन गर्छाैं। यो महोत्सवको महत्व र यसले दिएको योगदान बुझेर सरकार आफैं सक्रिय रूपमा अघि बढेको भने छैन।

सरकारले महोत्सवको महत्व बुझ्ने हो भने मेला अझै भव्य बन्न सक्थ्यो। यही महोत्सवको बारेमा सरकारी निकायलाई बुझाउन धेरै नै मेहनत गर्नुपर्छ।

मेलाका लक्षित पाहुना को हुन्?

पछिलो समय यो मेला सबैको बनेको छ। धेरै आन्तरिक पाहुनाले यो बेला पोखरा घुम्न जानुपर्छ भनेर तयारी गरेका हुन्छन्। यो बेला परिवारसहित पोखरा आउने पाहुना पनि छन्। त्यस्तै साथीसँगी मिलेर आउने पनि धेरै नै हुन्छन्। समूहमा पनि पाहुना आउँछन्। घुम्न आउने युवा पुस्ताको संख्या बढी छ। यही नै उमेर समूह भन्ने छैन। सबैखाले पाहुना यो मेलाले तान्न  सकेको छ।

प्रकाशित: १२ पुस २०८० ०२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App