२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेपालमा लगानीको विस्तार गर्न क्यानाडाली राजदूतलाई मन्त्री रिजालको आग्रह

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालमा लगानी विस्तार गर्न  नेपालका लागि क्यानाडाका गैरआवासीय राजदूत क्यामेरोन डिन म्याकेलाई आग्रह गरेका छन्। मन्त्री रिजालले राजदूतसँग भएको शिष्टाचार भेटमा यस्तो आग्रह गरेका हुन्।

मन्त्रालयमा आज आइतबार भएको भेटमा नेपाल र क्यानडाबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धका विविध विषयमा छलफल गरेका छन्। भेटमा मन्त्री रिजालले पाँच दशक लामो दुईपक्षीय कूटनीतिक सम्बन्ध सौहार्दपूर्ण रहेको बताउँदै क्यानडाबाट नेपालमा गैरसरकारी संस्था मार्फत कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा विकास सहायता प्राप्त भईरहेको जानकारी गराए। त्यसैगरी, मन्त्री रिजालले क्यानेडाली विकास सहायता परिचालनमा नेपाललाई थप प्राथमिकता प्राप्त हुने अपेक्षा रहेको समेत स्प्ष्ट पारे।

नेपालमा क्यानेडाली लगानीकर्ताका लागि सूचना प्रविधि, जलविद्युत, कृषिमा आधारित उद्योग जस्ता क्षेत्रमा लगानीका पर्याप्त अवसर तथा सम्भावना रहेको बताउँदै मन्त्री रिजालले आगामी वर्षको अप्रिलमा नेपालमा लगानी सम्मेलन समेत आयोजना हुन लागेको जानकारी गराए। मन्त्री रिजालले नेपालमा लगानी गर्न आग्रह गरे।

भेटमा नेपालका लागि क्यानाडाका गैरआवासीय राजदूत म्याकेले अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा हुने स्तरोन्नति पश्चात समेत नेपालले हाल प्राप्त गरिरहेको सहुलियतपूर्ण बजार पहुँचलाई थप केही वर्षसम्म निरन्तरता दिने विषय महत्वपूर्ण रहेको बताए। यस बिषयलाई नेपाल र क्यानडाबीचको द्विपक्षीय परामर्श संयन्त्रको आगामी बैठकको प्रमुख एजेण्डाको रुपमा राख्न राजदूत म्याकेले सुझाव दिए।

यसैगरी, नेपालमा क्यानेडाली लगानीको विस्तार र प्रवर्द्धन गर्न क्यानडामा रहेको पेन्सन योजनामा रहेको वित्तलाई सार्वजनिक निजी साझेदारीको अवधारणा मार्फत परिचालन गर्न सकिने प्रचुर सम्भावना रहेको राजदुत म्याकेले स्पष्ट पारे।

प्रकाशित: १ पुस २०८० ०९:३३ आइतबार

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल लगानी विस्तार क्यानाडाली राजदूत क्यामेरोन डिन म्याके पेन्सन योजना