२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

राजनीतिमा सक्रिय हुन आयल निगमका कार्यकारी निर्देशक थानीद्वारा राजिनामा

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजिनामा दिएका छन्।स्रोतका अनुसार नेपाली कांग्रेसको सक्रिय राजनीतिमा जाने योजना सहित थानीले कार्यकाल बाँकी रहँदै पदबाट राजिनामा दिएका हुन् । थानीले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई राजिनामा बुझाएका छन्।

थानी खुल्ला प्रतिस्पर्धाबाट २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए।२१ महिना सफलतापूर्वक कार्य सम्पादन गरेका थानीले १५ महिना अगाबै पदबाट राजिनामा दिएका हुन् ।  

थानी नेपाली कांग्रेस निकट इन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)का निवर्तमान अध्यक्ष हुन्।स्रोतका अनुसार थानी नेपाली कांग्रेसको सक्रिय राजनीतिमा जाने योजना अनुसार राजिनामा दिएको बताइएको छ । थानी नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा निकट छन्।श्रोेतका अनुसार उनले कांग्रेसको केन्द्रीय सदस्यमा जान पनि लविङ गर्दै आएका छन्।उनी यस अघि नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य र  इन्जिनियरिङ परिषद्को रजिस्ट्रार भएर पनि काम गरेका थिए।

अधिकांश सरकारी स्वामित्वका संस्थानहरुमा व्यवस्थापकीय नेतृत्वको कमजोरीले घाटामा जाने, धरासायी हुने समस्या देखिरहेको अवस्थामा थानीको कार्य सम्पादन उत्कृष्ट भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। मन्त्रालयको मूल्यांकनमा थानीको कार्य सम्पादन उत्कृष्ट भएर ९०.५ अंक प्राप्त गरेका थिए ।

थानीको नेतृत्वमा इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई ३१ अर्ब रुपैयाँ बक्यौता चुक्ता र सरकारको ७ अर्ब ऋण तिरेर निगमलाई ऋणमुक्त गराएका थिए।थानीले निगमलाई आर्थिक वर्ष २०७९÷८०मा १८ अर्ब नाफा समेत लगेका थिए।

निगमको लागि आवश्यक पूर्वाधार निर्माणका परियोजना अघि बढाएको, पेट्रोलिमय पाइपलाइन परियोजना विस्तार गर्न भारतसँग सम्झौता गरेको, इन्धनको आपूर्ति तथा वितरण नियमित बनाएको जस थानीलाई जान्छ । त्यसैगरी, मोतीहारी–अमलेखगन्ज पाइपलाइनको दोस्रो चरणको परियोजना अन्तर्गत पेट्रोलसमेत ल्याउन आवश्यक अमलेखगन्जमा भण्डारण गृहको निर्माण , निगमको गण्डकी प्रादेशिक कार्यालय पोखरामा १० हजार किलोलिटरको डिजेल भण्डारणगृह निर्माणलाई अन्तिम रुप दिएर सञ्चालन, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा हवाई इन्धन भण्डारण गृह निर्माणको सुरुवात लगायत भौतिक पूर्वाधार निर्माण काम पनि उनले अघि बढाएका थिए।थानीले स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याउने प्रयास गरे पछि सरकारको असहयोगको कारण सफल हुन सकेनन्।

कार्यकारी निर्देशक थानीले नेपाल इन्जिनियरिङ एसोसिएसनबाट बेस्ट म्यानेजमेन्ट अवार्ड प्राप्त गरेका थिए। निगमको हितमा कार्य गरी आफ्नो इन्जिनियरिङ व्यवस्थापकीय क्षमता प्रमाणित गरी रसिया–युक्रेन युद्धका बीच सृजना भएको इन्धनको विश्वव्यापी संकटको अवस्थामा नेपालमा सहज आपूर्ति तथा वितरण  गरेकोले अवार्ड दिइएको जनाइएको थियो।

प्रकाशित: २६ मंसिर २०८० १०:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App