२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

ताप्लेजुङमा करदाता शिक्षा : स्वेच्छिक कर सहभागितामा जोड

ताप्लेजुङ उद्योग वाणिज्य संघसँग मिलेर करदाता सेवा कार्यालय फिदिम पाँचथरले सोमबार फुङलिङमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरेको छ। कार्यक्रम कर सप्ताहको अवसर पारेर आयोजना गरिएको ताप्लेजुङ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्षसमेत रहेका बरिष्ठ उपाध्यक्ष दावा शेर्पाले जानकारी दिए। नेपालमा मूल्य अभिवृद्धि कर लागु भएको दिनको अवसर पारेर २०७९ साल देखि प्रत्येकवर्ष मंसिर १ देखि ७ गतेसम्म सप्ताहव्यापी राष्ट्रिय कर दिवस मनाइँदै आइएको छ। २०५४ साल मंसिर १ गते नेपालमा मूल्य अभिवृद्धि कर लागु भएको थियो।  

यसवर्ष ‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासनः सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नाराका साथ कर सप्ताह मनाइँदै छ । कर शिक्षाको माध्यमबाट स्वेच्छिक कर सहभागितामा जोड दिई कराधार फराकिलो बनाउने उद्देश्यसहित करदाता सेवा कार्यालयले अभियान चलाएको करदाता सेवा कार्यालय फिदिम पाँचथरका कर अधिकृत सरोज मरासिनीले बताए। सो अवसरमा करदाता सेवा कार्यालयले मूल्य अभिवृद्धि कर, स्थायी लेखा नम्बर, अन्तःशुल्क, व्यावसायिक तथा निकायगत रूपमा स्थायी लेखा नम्बर लिन आवश्यक कागजातहरू, आयकरको दर, मूल्य अभिवृद्धिमा जाने अवस्था, इटिडिएस, अन्तःशुल्क दर र करपाटी राख्नुपर्ने विषयका बारेमा जानकारी गराएको थियो।  

यस्तै व्यक्तिको करको दर र व्यावसायिक मापदण्ड पालना नगर्दा हुन सक्ने दण्ड र जरिवानाबारे समेत जानकारी गराएको ताप्लेजुङ उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत भीष्मराज बरालले जानकारी दिए। संघका महासचिव कमल लिम्बूले करदातालाई केन्द्र विन्दुमा राखी कर सम्बन्धी जागरण ल्याउने, करको दायरा थप बिस्तार हुने तथा गुणस्तरीय सेवा प्रवाहका लागि स्वेच्छिक कर सहभागिताका लागि अभियान चलाउने बताए। करदाता सेवा कार्यालयले निजीक्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूको सहयोग तथा सहकार्यमा करको दाहेरा वृद्धिका लागि अभियान चलाइएको समेत बताएको छ।

 

प्रकाशित: ५ मंसिर २०८० ०८:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App