१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

आयात वृद्धिसँगै अर्थतन्त्रमा सुधारको संकेत, निर्यात अझै ऋणात्मक

बाह्य अर्थतन्त्रका सूचकमा सुधार भएसँगै आन्तरिक अर्थतन्त्रको सूचकमा पनि क्रमशः सुधारको संकेत देखिएको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनदेखि खुम्चिरहेको आयात तेस्रो महिना अर्थात् असोज महिनामा आएर आयातमा वृद्धि भएसँगै सुधारको संकेत देखिएको हो ।  

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको तेस्रो महिनामा मात्रै आयातमा वृद्धि भएको जनाएको छ । चालु आवको साउन र भदौमा आयात पनि ऋणात्मक हुँदै आइरहेको थियो । जसका कारणले मुलुकको राजस्व संकलनमा पनि प्रत्यक्ष असर पार्दै आइरहेको थियो । असोजमा दशैं÷तिहारलगायतका पर्वलाई लक्षित गरेर वस्तु तथा सामानको आयात वृद्धि भएसँगै आन्तरिक अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ ।  

नेपालको अर्थतन्त्र आयातित वस्तुमा लगाइने करमा निर्भर रहँदै आएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० साउनदेखि असोजसम्मको तीन महिनाको अवधिमा चार खर्ब रूपैयाँको वस्तु तथा सामान आयात भएको थियो ।

चालु आवको सोही अवधिमा गरिएको आयातमा १.६९ प्रतिशतले वृद्धि भएर चार खर्ब सात अर्ब रूपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ । चालु आवको असोजमा मात्रै विदेशी मुलुकबाट डेढ खर्ब रूपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ ।

चालु आवको तीन महिनाको अवधिमा नेपालमा आयात गरिने वस्तु तथा सेवामा केही बढे पनि नेपालबाट विदेशी मुलुकमा हुने निर्यात भने अझै पनि खुम्चिएकै छ । विभागका अनुसार नेपालले आव २०७९/८० को तीन महिनाको अवधिमा ४१ अर्ब ८२ करोड रूपैयाँको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात गरेको थियो । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा नेपालबाट भने विदेशी मुलुकमा हुने निर्यात २.२६ प्रतिशतले घटेर ४० अर्ब ८७ करोड रूपैयाँमा सीमित भएको छ ।

अर्थ मन्त्रालयले चालु आवको असोज मसान्तसम्मको अवधिमा एक खर्ब ४५ अर्ब आठ करोड रूपैयाँ भन्सार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । सो अवधिसम्म भन्सार विभागले लक्ष्यको ७४.९५ प्रतिशत अर्थात् एक खर्ब आठ अर्ब ७५ करोड रूपैयाँ मात्रै भन्सार राजस्व संकलन गरेको छ । 

महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी तथ्यांक अनुसार कात्तिक १२ गतेसम्मको अवधिमा संघीय सरकारले सबै शीर्षकमा राजस्व बापत दुई खर्ब ४४ अर्ब रूपैयाँ संकलन गरेको छ । जबकि सरकारले सोही अवधिमा कुल राजस्व संकलन गर्ने लक्ष्यका साथ १६. ६१ प्रतिशत मात्रै संकलन गरेको हो । त्यसैगरी सरकारले चालु आवको हालसम्मको अवधिमा सबै शीर्षकमा खर्चबापत कुल लक्ष्यको १७.२८ प्रतिशत अर्थात् तीन खर्ब दुई अर्ब रूपैयाँ खर्च गरेको छ ।

वैदेशिक व्यापार पनि बढ्यो

चालु आर्थिक वर्षको तीन महिनामा वैदेशिक व्यापार चार खर्ब ४८ अर्ब ६३ करोड रूपैयाँको भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने चार खर्ब ४२ अर्ब ८१ करोड रूपैयाँ बराबरको भएको थियो । गत आवको तीन महिनाको तुलनामा चालु आवमा वैदेशिक व्यापार १.३१ प्रतिशतले बढेको छ ।  

चालु आर्थिक वर्षमा नेपालबाट निर्यात हुने भन्दा आयात हुने वस्तु तथा सामान धेरै हुँदा वैदेशिक व्यापार घाटा भने बढेको बढ्यै भएको छ । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्मको अवधिमा वैदेशिक व्यापार घाटा १.३१ प्रतिशतले वृद्धि भएर तीन खर्ब ६६ अर्ब ८८ करोड रूपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा वैदेशिक व्यापार घाटा भने तीन खर्ब ५९ अर्ब १७ करोड रूपैयाँ रहेको छ । गत आर्थिक वर्षको कुल वैदेशिक व्यापारमा आायतको हिस्सा ९०.५६ प्रतिशत र निर्यातको हिस्सा ९.४४ प्रतिशत रहेको थियो । 

चालु आवको तीन महिनामा आयातको हिस्सा ९०.८९ प्रतिशत र निर्यातको हिस्सा भने ९.११ प्रतिशत रहेको छ । विभागका अनुसार आव २०७९÷८० मा समग्रमा वैदेशिक व्यापारमा तीव्रतापूर्वक गिरावट आएको थियो । आव २०७९÷८० मा मुलुकको आयात, निर्यात दुवैमा उच्च गिरावट आएको थियो । गत आवमा वैदेशिक व्यापार साढे तीन खर्ब रूपैयाँले खुम्चिएको थियो । आव २०७८÷७९ मा मुलुकको कुल वैदेशिक व्यापार २१ खर्ब २० अर्ब रूपैयाँ रहेकोमा आव २०७९÷८० मा खुम्चिएर १७ खर्ब ६८ अर्बमा झरेको थियो ।

कुल वैदेशिक व्यापारमा १६.५८ प्रतिशतले कमी आएको विभागले जनाएको छ । आयात १६.०८ प्रतिशत र निर्यात २१.४४ प्रतिशतले गिरावट आएको छ । विभागका अनुसार गत आवमा १६ खर्ब ११ अर्ब ७३ करोड रूपैयाँको वस्तु तथा सामान आयात हुँदा एक खर्ब ५७ अर्ब रूपैयाँ बराबरको सामान निर्यात भएको थियो । 

नेपाल राष्ट्र बैंकले गत आवमा विदेशी डलर सञ्चिति कम भएको भन्दै सुविधा सम्पन्न सवारी साधन र अन्य बहुमूल्य धातु आयातमा प्रतिबन्ध लगाएको थियो । जसका कारण गत आवमा विदेशी मुलुकबाट हुने आयातमा पनि केही कमी आएको हो । आव २०७८/७९ मा १९ खर्ब २० अर्ब रूपैयाँको वस्तु तथा सामान आयात भएको थियो । 

आव २०७९/८० मा भने अघिल्लो वर्षको तुलनामा आयात १६.८ प्रतिशतले खुम्चिएर १६ खर्ब ११ अर्बमा झरेको छ । गत आवमा कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा ८.८८ प्रतिशत र आयातको हिस्सा ९१.१२ प्रतिशत थियो । अघिल्लो आवमा भने निर्यातको हिस्सा ९.४३ प्रतिशत र आयातको हिस्सा ९०.५७ प्रतिशत थियो ।  

गत आवमा आयात मात्रै होइन, निर्यात पनि धेरै खस्किएको छ । अघिल्लो आवमा दुई खर्ब रूपैयाँको निर्यात भएको थियो । सोही आवको तुलनामा गत आवमा भने निर्यातको हिस्सा २१.४४ प्रतिशतले खुम्चिएर एक खर्ब ५७ अर्ब रूपैयाँको नेपाली वस्तु तथा सामान विदेशमा निर्यात भएको हो । 

गत आवमा आयातको हिस्सा ९०.५७ प्रतिशत र निर्यातको हिस्सा ९.४७ प्रतिशत थियो । आव २०७८/७९ मा विदेशी मुलुकहरूसँग नेपालको व्यापार घाटा १७ खर्ब २० अर्ब रूपैयाँ थियो । अघिल्लो आवको तुलनामा गत आवमा विदेशी मुलुकसँगको व्यापार घाटा पनि १५.४५ प्रतिशत अर्थात् दुई खर्ब ६६ अर्ब रूपैयाँले घटेको छ । गत आवमा विदेशी मुलुकसँगको व्यापार घाटा १४ खर्ब ५४ अर्ब रूपैयाँमा खुम्चिएको छ ।

प्रकाशित: १३ कार्तिक २०८० ००:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App