१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

मुस्ताङमा ५५ करोडको स्याउ उत्पादन

हिमालपारिको जिल्ला मुस्ताङमा यो वर्ष करिब ५५ करोड रूपैयाँको स्याउ फलेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ (स्याउ जोन) जोमसोमका सूचना अधिकारी नेत्रप्रसाद भट्टका अनुसार यो वर्ष करिब ५५ सय मेट्रिक टन स्याउ फलेको अनुमान छ । किसानले प्रतिकिलो एकसय रूपैयाँका दरले बेचे पनि करिब ५५ करोड रूपैयाँ यसपटक मुस्ताङले स्याउबाट मात्र भित्र्याउने उनले सुनाए ।  

भट्टका अनुसार यसपटक भने उत्पादनमा केही गिरावट आएको छ । यो वर्ष २० प्रतिशत उत्पादन घट्ने अनुमान रहेको उनले बताए । यसपटक स्याउ उत्पादन घट्नुमा मुख्य कारण बेलैमा हिउँ नपर्नु मुख्य रहेको उनले बताए । त्यसबाहेक फूल फुल्ने बेलामा पानी पर्दा पनि असर परेको हो । पानी पर्दा परागसेचन हुन नपाएर उत्पादनमा कमी भएको भट्टले बताए । ‘पानी परेपछि फूल पनि झर्यो, दाना पनि झरे, त्यसले गर्दा यसपटक उत्पादनमा केही असर परेको हो,’ उनले भने । स्याउका लागि हिउँ पर्नु राम्रो मानिन्छ । पानी बढी पर्दा किरा लाग्ने डर हुन्छ ।’ पोहोर ६ हजार मेट्रिक टन फलेको थियो ।

अबको केही दिनमा बजारमा मुस्ताङको स्याउ आउँदै छ । गुलियोपना कम हुने भन्दै असोज १ अगाडि स्याउ टिप्न नपाइने निर्णय जिल्लामा भएकाले असोज १ पछि मात्र हिमाली जिल्लाको स्याउ बजारमा आउनेछ । यसपटक बेलैमा हिउँ नपर्दा उत्पादनमा भने केही कम हुने आँकलन गरिएको छ ।  

केही वर्ष अघिसम्म त्यहाँ भदौ पहिलो साता नै स्याउ टिप्ने गरिएको थियो । तर, राम्रोसँग पाक्न नपाउँदै टिप्दा त्यसको वास्तविक स्वाद नपाइएको भन्दै पछिल्लो दुई वर्षदेखि स्याउ टिप्ने समय तोक्न थालिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ (स्याउ जोन) जोमसोमका अनुसार यो वर्ष असोज १ पछि मात्र मुस्ताङको स्याउ टिपेर बजार ल्याउन पाइनेछ । टिप्नुअघि नै ठेकेदारले बगैंचाबाटै स्याउ खरिद गरिसकेको भए पनि टिप्न भने थालिएको छैन ।  

जिल्ला समन्वय समिति, स्थानीय तह र किसानसहितको भेलाले यसपटक असोज १ देखि मात्र स्याउ टिप्न पाउनेगरी समय तोकिदिएको परियोजनाका सूचना अधिकारी नेत्रप्रसाद भट्टले जानकारी दिए । ‘यो पटक असोज १ देखि मात्र स्याउ टिप्न पाउनेगरी निर्णय भएको छ,’ भट्टले भने, ‘स्याउको वास्तविक स्वाद आउने भएकाले असोजसम्म पर्खिनुपरेको हो ।’  

चाडबाडको मौका पारेर धेरै बिक्री हुने लोभमा काँचैमा टिपेको स्याउको स्वाद हराएको भन्ने गुनासो आएपछि असोज १ गतेदेखि मात्र टिप्न पाउनेगरी जिल्लास्तरमा निर्णय भएको उनले बताए । पोहोर भदौ २५ देखि मात्र स्याउ टिप्न अनुमति दिइएको थियो । अघिल्ला वर्षमा त भदौ पहिलो साता नै टिप्ने पनि गरिन्थ्यो । पाक्न नपाउँदै टिपेको स्याउमा स्वाद र गुलियोपन नभएको गुनासो उपभोक्ताले गरेपछि पोहोरदेखि समय तोक्न थालेको उनले बताए ।  

मुस्ताङको स्याउ देशभर प्रख्यात छ । चिसो हावापानी भएको भूगोलमा फल्ने भएकाले मुस्ताङको स्याउले उपभोक्ताको मन जितेको हो । तर पछिल्लो समय मुस्ताङी स्याउको स्वाद हराउँदै गएको गुनासो आउने गरेको थियो । सूचना अधिकारी भट्टका अनुसार ‘हाइ डेन्सिटी’ को ‘गाला’ र ‘किङरोट’ ब्रान्डको स्याउ भने यतिबेला नै पाकिसकेको छ ।

केही किसानले टिप्न पनि थालिसकेका छन् । हाई डेन्सिटीमा गाला, किङरोट, गोल्डेन डेलिसियस, फुजी, र जोनाप्रिन्स जातको स्याउ हुन्छ । अरूभन्दा केही समय छिटो पाक्ने यो स्याउ टिप्न योग्य भइसकेको छ । ‘हुन त सबै स्याउ पाक्ने बेला भएको छ । तर, हाई डेन्सिटीको स्याउ भने टिप्न योग्य बनिसकेको छ,’ उनले भने । ‘हाई डेन्सिटीको स्याउ पाकेको केही दिनपछि मात्र अरू स्थानीय जातको टिप्न योग्य हुनेछन् ।’  

उनका अनुसार हाई डेन्सिटी एक मिटरको फरकमा रोपिने जात हो । यो जातको विरुवा एक रोपनीमा झन्डै २ सय वटा रोपेर स्याउ फलाइन्छ । सानो बोटमा लटरम्म दाना लाग्छन् । तर स्थानीय जातको विरुवा भने एक रोपनीमा १५ देखि १८ वटा रोपिन्छ । स्थानीय जातको ठुलो रुख नै हुन्छ । उनका अनुसार मुस्ताङमा हाई डेन्सिटीको स्याउ खेती करिब ५५ हेक्टर क्षेत्रफलमा मात्र गरिएको छ ।

पोहोरसम्म यो क्षेत्रफल ४० हेक्टर मात्र थियो । ५५ हेक्टर क्षेत्रफलमा हाई डेन्सिटीको स्याउ खेती भए पनि ३० हेक्टरमा रोपेको मात्र फलेको छ । अरूमा अहिल्यै दाना लागिसकेको छैन । स्थानीय जातको स्याउमा भने रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन र फुजी जातको स्याउको उत्पादन बढी छ ।  

मुुस्ताङमा सबैगरी १५ सय हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ । ती सबै विरुवामा दाना भने लाग्दैन । करिब ५५० हेक्टर क्षेत्रफलमा गरिएको स्याउ खेतीमा मात्र दाना लाग्ने गरेको छ । परार एक हेक्टर बराबर १६ मेट्रिक टन स्याउ फलेको थियो । पोहोर उत्पादन १५ प्रतिशत जति थपिएको थियो । पोहोर मुस्ताङले करिब ६० करोड रूपैयाँको स्याउबाट भिœयाएको भट्टको अनुमान छ । किसानले बगैंचाबाट प्रतिकिलो ८० देखि ९० रूपैयाँमा स्याउ बिक्री गरेका थिए । परार भने मुस्ताङले स्याउ बेचेर ५० करोड रूपैयाँ कमाएको थियो ।  

‘एकैजना किसानले २५–३० लाख रूपैयाँ स्याउबाटै कमाउँछन् । मौसमले साथ दिने हो भने मुस्ताङले स्याउबाट राम्रो कमाइ गर्छ,’ उनले भने । असोज महिनाभरमा मुस्ताङको स्याउ बोटबाट टिपेर सकिन्छ । करिब ७० प्रतिशत उत्पादन सिजनअनुसार बिक्री हुन्छ । बाँकी ३० प्रतिशत उत्पादन भने कोल्डस्टोरमा राखिन्छ ।  

मुस्ताङको धमाङ कृषक समूहका सचिव दीपक लालचनले पनि यस पटक पोहोरजति स्याउ नफलेको बताए । ‘पोहोरभन्दा केही कमी मात्र भएको हो । करिब २० प्रतिशत मात्र घटेको अनुमान छ,’ लालचनले भने, ‘यस पटक हिउँ परेन । फूल खेल्ने बेलामा पानी परेकाले उत्पादनमा असर परेको हो ।’ उनले आफ्नो बगैंचामा चार सय जति स्थानीय र ३ हजार विरुवा हाई डेन्सिटीका रोपेका छन् । ‘२० लाख रूपैयाँ जति कमाइ हुन्छ । हामी त स्याउ टिप्न व्यस्त छौं,’ लालचनले भने,  

‘असोज १ सम्म हाई डेन्सिटीको स्याउ बजारमा आउँछ । हाई डेन्सिटीको स्याउ टिप्न थालिएको छ । अरू पनि बिस्तारै टिप्दै जाने हो । गुलियोपना नभएको भन्दै असोज १ पछि मात्र स्याउ टिप्न पाइने भनेर निर्णय भएको छ ।’  

स्याउ फुल्ने समय फागुन–चैत हो । मुस्ताङको घरपझोङ र वारागुँ मुक्तिक्षेत्र गाउँपालिकामा बढी स्याउ खेती हुन्छ । समुन्द्री सतहदेखि २२ सयदेखि ३२ सय मिटरसम्म स्याउ खेती हुन्छ । तर, चारहजार मिटरसम्म पनि स्याउ खेती भने गरिएको छ । माथिल्लो भेगमा भने थोरै मात्रामा खेती हुने गरेको छ । 

प्रकाशित: २९ भाद्र २०८० ०३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App