१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

४२ पालिका समयमै बजेट ल्याउन असफल

फाइल तस्वीर

आगामी आर्थिक वर्ष २०८०/८१ का लागि असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने कानुनी व्यवस्थालाई ४२ स्थानीय तहले लत्याएका छन्। अघिल्लो वर्ष ५३ वटा स्थानीय तहले तोकिएको समयभित्र बजेट ल्याएका थिएनन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार यसपटक जेठ १० गतेभित्र ७ सय ११ वटा स्थानीय तहले बजेट ल्याएका छन्।

संघीय सरकारले जेठ १५, प्रदेश सरकारले असार १ र स्थानीय सरकारले असार १० गतेभित्र आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था छ। तर यस वर्ष आठराई, मेन्छयायेम, मिक्लाजुङ, औराही, धनौजी, कालिकामाई, छिपहरमाई, धोबिनी, बिन्दवासिनी, सखुवा पसौनी, आदर्श कोतवाल, यमुनामाई, रूपनी, लक्ष्मीपुर पतारी, नौकुण्ड, जलजला, विरुवा, मायादेवी, कोटहीमाई, रोहिणी, सम्मरीमाई, खत्याड, कुमाखलगायतका स्थानीय तहले तोकिएको मितिभित्र बजेट ल्याएका छैनन्।

आगामी आर्थिक वर्ष २०८०/८१ का लागि असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने कानुनी व्यवस्थालाई ४२ स्थानीय तहले लत्याएका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव कमल भट्टराईले ४२ वटा स्थानीय तहले तोकिएको मितिभित्र बजेट नल्याएर कानुन उल्लंघन गरेको बताए। ‘तोकिएको मितिभित्र बजेट नल्याउनु वित्तीय अनुशासनबाहिरको कुरा पनि हो। वित्तीय अनुशासन उल्लंघन गर्ने स्थानीय तहलाई केन्द्र सरकारले दिने अनुदान रकम कटौती हुन सक्छ,’ भट्टराईले भने, ‘तोकिएको मितिभित्र बजेट नल्याउँदा महालेखा परीक्षकको कार्यालयले बेरुजु तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कानुनबाहिर गई खर्च गरेको भनी प्रश्न उठाउन सक्छ।’

अघिल्लो वर्ष तोकिएको मितिभित्र हेटौंडा उपमहानगरपालिका, बिदुर नगरपालिकासहित मधेस प्रदेशका अधिकांश स्थानीय तहले बजेट ल्याएका थिएनन्। यस वर्ष पनि मधेस प्रदेशका अधिकांश स्थानीय तहले तोकिएको मितिभित्र बजेट नल्याएको मन्त्रालय स्रोत बताउँछ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव कमल भट्टराईले ४२ वटा स्थानीय तहले तोकिएको मितिभित्र बजेट नल्याएर कानुन उल्लंघन गरेको बताए।

मन्त्रालयका अनुसार केही स्थानीय तहले बजेट ल्याए पनि त्यसको औपचारिक विवरण संघीय मामिला मन्त्रालयमा पठाएका छैनन्। ‘केन्द्र सरकारले दिएको निर्देशन नमान्ने र कानुनअनुसार नचल्ने प्रवृत्ति केही स्थानीय तहमा देखिएको छ। हामी पनि सरकार हाैं। केन्द्रको निर्देशन हामीले किन मान्ने भन्ने सोच केही स्थानीय तहमा देखिएको छ,’ मन्त्रालयका एक उपसचिवले भने, ‘यो भनेको अनुशासनहीन प्रवृत्ति हो। यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ।’

आगामी आर्थिक वर्षका लागि समयमै बजेट ल्याएका कतिपय स्थानीय तहले गत वर्ष (चालु आर्थिक वर्ष) को तुलनामा बजेटको आकार घटाएका छन्। काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि झन्डै ५० करोड रूपैयाँ कमको बजेट ल्याएको छ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुन्ठ सापकोटाका अनुसार चालु आर्थिक वर्षका लागि २ अर्ब २० करोड रूपैयाँको बजेट ल्याएको नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ७६ करोड रूपैयाँको बजेट घोषणा गरेको छ। गोकर्णेश्वरले यही असार ९ गते नगरसभामा आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट पेस गरेको थियो।

आगामी आर्थिक वर्षका लागि समयमै बजेट ल्याएका कतिपय स्थानीय तहले गत वर्ष (चालु आर्थिक वर्ष) को तुलनामा बजेटको आकार घटाएका छन्।

राजस्व बाँँडफाँटमा केन्द्र सरकारले दिएको अनुदान कम भएकाले बजेटको आकार घटेको सापकोटाले बताए। मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि बजेटको आकार घटाउने पालिकाको संख्या करिब साढे तीन सयजति छ।

प्रकाशित: १७ असार २०८० ०१:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App