७ वैशाख २०८१ शुक्रबार
अर्थ

छेङदु–पोखरा चार्टर्ड उडान् !

प्राधिकरण भन्छः अझै टुंगो लागिसकेको छैन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल। फाइल तस्बिरः नागरिक

पोखरामा ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोटरेस फेस्टिभल’ आयोजना गरिने र त्यही अवसर पारेर चीनको सिचुआन एयरलाइन्सले छेङदु–पोखरा सिधा हवाई उडानको प्रस्ताव गरेको छ। आगामि असार ८ र ९ गते पोखरामा यो फेस्टिभल आयोजना हुँदैछ। त्यही फेस्टिभलका सहभागीलाई ल्याउन र लैजानका लागि छेङदु–पोखरा उडान गर्ने योजना बनाएको व्यावसायीले बताएका छन्।  

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाका अनुसार सिचुआन एयरलाइन्सले छेङदु–पोखरा उडान गर्न प्रस्ताव गरेको भएपनि टुंगो लागिनसकेको बताए। उनका अनुसार असार ६ गते (जुन २१) मा उडानको प्रस्ताव आएपनि सुनिश्चित नभएको बताए। 

‘हामीले पनि सिचुआन एयरलाइन्सले छेङदु–पोखराका लागि उडान भर्ने भन्नेबारे सुनेका हौ, तर, अझै यकिन भईसकेको छैन,’ प्रवक्ता निरौलाले भने, ‘प्राधिकरणमा चार्टर उडानका लागि अहिलेसम्म आधिकारीक जानकारी वा पत्र आइसकेको छैन। उडान स्वीकृत गर्ने प्राधिकरणले नै हो। तर, अहिलेसम्म कुनैपनि औपचारिक पत्र आइसकेको छैन।’

उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि एयरलाइन्सका पदाधिकारीले सोधपुछ गरेको भएपनि यकिन भने भईसकेको छैन। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडान सहितका सुविधाबारे एयरलाइन्समा पदाधिकारीले सोधपुछ गरेको उनले बताए। पोखरामा हुने फेस्टिभलका पाहुनालाई ल्याउन र लैजानका लागि यो उडानको योजना बनाएको हुनसक्ने उनले बताए। ‘प्राधिकरणले नियमित उडान नै चाहेको हो। तर, अहिलेसम्म उडानको कुनै टुंगो लागिसकेको छैन,’ उनले भने।

उनका अनुसार हिमालय एयरलाइन्सले पनि चीनकै छेङदु–पोखरा उडानको योजना बनाएको भएपनि त्यसको पनि अहिलेसम्म टुुंगो लागेको छैन। ‘अहिलेसम्म कतैबाट निवेदन पनि आएको छैन। हिमालय एयरलाईन्सले पनि उडानको चाहना राखेको हो भन्ने जानकारी पाएका छौं, तर, यकिन भएको छैन,’ निरौलाले भने। त्यस्तै कोरियन एयरलाइन्सले पनि उडान चाहना राखेको भएपनि यकिन भईसकेको छैन। ‘एयरलाइन्सले पनि अध्ययन गरिरहेका छन्। अर्काे गन्तव्यसम्मको स्लट पनि पाउनुपर्छ, व्यावसायिक अध्ययन पनि गरिरहेका छन,’ उनले भने।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको ६ महिना लागेको छ। तर, अहिलेसम्म विमानस्थल आन्तरिक उडानमै सिमित रहेको छ। अन्तर्राष्ट्रिय उडानका लागि अहिलेसम्म उचित पहल र चाँसो नदेखिएको पोखराले आरोप लगाउँदै आएको छ। केहीगरि सिचुआन एयरलाइन्सले चार्टर उडान गरेमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने त्यो नै पहिलो अन्तर्राष्ट्रिय उडान हुनेछ।

पोखरामा हुने फेस्टिभलको सहआयोजक पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले भने सिचुआन एयरलाइन्सले फेस्टिभलकै अवसर पारेर चार्टर उडानको तयारी गरेको दावि गरे। ‘फेस्टिभलका सहभागि र अरु चिनियाँ पाहुना ल्याउन र लैजानका लागि सिचुआन एयरलाइन्सले उडान गर्न थालेको हामीले थाहा पाएका छौ। यदि उडान भएमा त्यसले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि निकै नै ठुलो अर्थ राख्नेछ,’ श्रेष्ठले भने, ‘चिनियाँ पर्यटक भिœयाउन हामी आतुर छौ। फेस्टिभलका लागि मात्र नभई पोखराले चिनियाँ पाहुनाबाट ठुलो आस गरेको छ। यसअघि पनि चिनियाँ पाहुना पोखरामा आउने भएकोले पनि व्यवसायी चिनियाँप्रति बढी झुकाव राख्छन।’

पोखरामा पहिलोपटक नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोटरेस फेस्टिभल आयोजना गर्न थालिएको हो। बढी भन्दा बढी चिनियाँ पाहुना भित्र्याउने लक्ष्य सहित ड्रागन बोटरेस फेस्टिभल आयोजना गर्न थालेको आयोजकले बताएको छ। नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दुतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेस्टिभल गर्न थालिएको हो। उक्त कार्यक्रममा पोखरा पर्यटन परिषद (पिटिसी) र नेपाल–चीन ओभरसीज एशोसिएसन सहआयोजक रहेका छन।  

दुई देशबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्ध सुमधर बनाउन तथा नेपालमा चिनियाँ पर्यटकको आगमन बढाउने उद्देश्यले फेस्टिभल आयोजना गरिएको आयोजकले बताएको छ। यस प्रकारको बोटरेस फेस्टिभल दक्षिण एशियामै पहिलोपटक पोखरामा आयोजना गर्न लागेको चिनियाँ पक्षले यसअघि नै जानकारी दिएको छ। रेसका लागि चीनबाटै आठवटा विशेषखालका बोट सहित अन्य सहभागि नेपाल आउनेछन्। बोटहरु आइसकेको पनि श्रेष्ठले बताए।  

कोभिड संक्रमण सुरु भएपछि आफ्ना नागरिकलाई घुमघाममा रोक लगाउँदै आएको चीनले गत मार्च १५ देखि लागु हुनेगरि चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले आफ्ना नागरिकलाई नेपाल घुम्न अनुमति दिएको थियो। त्यसअघि चीनले आफ्ना नागरिकलाई घुम्न जान पाउने २० मुलुकभित्र नेपाललाई समेटेको थिएन। तर, दोश्रोपटक सूँची प्रकाशित गर्दै नेपाललाई पनि लिष्टमा अटाएको थियो। त्यसपछि बल्ल चिनियाँ पर्यटकको नेपाल आगमनमा केही सुधार देखिँदै गएको व्यावसायीले बताएका छन्।  

प्रकाशित: २३ जेष्ठ २०८० ०९:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App