१४ पुस २०८२ सोमबार
image/svg+xml
अर्थ

मदन भण्डारी लोकमार्गलाई बजेट अभाव, ठेकेदारले पाएनन् भुक्तानी

लोक मार्गको गाईघाट–कटारी खण्डको धप्पर खोलामा पुल बनाउन फाउण्डेशन हाल्दै। तस्बिर: महेश्वर।

राष्ट्रिय महत्त्वको सडक मदन भण्डारी लोकमार्ग अन्तर्गत सदरमुकाम गाईघाट–कटारी खण्डमा निर्माणाधीन पुलमध्ये अर्ने खोलामा ढिला हुँदा यो वर्षायाममा पनि सास्ती हुने भएको छ।

कटारी नगरपालिका ७ नं. वडास्थित भुसुने धप्पर खहरेमा निर्माण हुनुपर्ने पुल निर्माणमा ढिलाइ भएका कारण यो वर्षामा पनि आउजाउमा समस्या पर्ने भएको हो।

६५ मिटर लामो सिंगल स्पानको उक्त पुलको भर्खर पिल्लर गाड्ने काम भइरहेको छ। पहुँच सडक (एप्रोच) कालोपत्रेसहित झण्डै १३ करोड लागतको उक्त पुल यही असारभित्र सम्पन्न गरिसक्नु पर्ने आयोजना कार्यालय उदयपुरले जनाएको छ।

कार्यालयका सूचना अधिकारी इन्जिनियर प्रभातकिरण राईका अनुसार बसाहा–गाईघाट–कटारी–सिन्धुली खण्डमा पहिलो सर्भेमा छुटेर थपिएका दर्जन पुलमध्ये धप्पर पनि एक हो। आर्थिक वर्ष ०७७/७८ मा लागेको ठेक्का अनुसार ०७७ जेठ १५ गते सम्झौता भएको पुलको काम ३ वर्षभित्र अर्थात् ०८० जेठ १४ भित्र सकेर हस्तान्तरण गर्नुपर्ने समय सीमा तोकिएको इन्जिनियर राईले बताएका छन्।

एकै पटक ठेक्का लागेका अन्य पुलहरु लगभग निर्माणको अन्तिम चरणमा पुगिसकेको तर, धप्परको भने केही ढिला हुन गएको उनले बताए। सो पुल निर्माणको ठेक्का लुम्बिनी/खानी/समानान्तर जेवीले लिएको छ। धप्परसहित उक्त जेवीले कटारीकै रातु खोला र सिन्धुलीका ३ सहित ५ वटा पुल बनाउने ठेक्का लिएको छ।

जसमध्ये रातु र सिन्धुलीका ३ पुलहरु अन्तिम चरणमा पुगिसकेको लुम्बिनीका प्रतिनिधि शंकर राउतले बताए। उनका अनुसार धप्परको पुल भने केही प्राविधिक कारणले थाल्नै ढिला भएको तर, छिट्टै काम सक्ने बताए। एकातर्फको पिल्लर गाडिसकेको र अर्कोतर्फ गाड्ने काम भइरहेकाले तोकिएको मितिभित्र नसके पनि आउँदो असारभित्र पुलको स्वल्याब ढलान सक्ने राउतले बताए।

सो पुलसँगै ठेक्का लागेका अन्य १० वटा पुलहरु सबै ढलान सकेर पहुँच सडक (एप्रोच) कालोपत्रे गर्ने तयारी भइरहेको छ भने कतिपयको एप्रोज पनि सकिइसकेको छ।

चौदण्डीगढी ४ बसाहाका छाउरी र लामा खोला तथा ९ को खैराहा खोलाका पुलहरुको एप्रोच कालोपत्रे भइसकेको छ। सोही रुटको त्रियुगा १३ स्थित असारी पुल सकेर एप्रोच कालोपत्रेको तयारी भइरहेको छ।

उता पश्चिमतर्फ उदयपुरगढी ७ मौवासी र कटारी ७ का बकपतिको पुल पनि एप्रोच कालोपत्रे गर्ने तयारी भइरहेको ठेकेदार जेडआईईसी/लामा/शर्मा जेवीका परियोजना प्रबन्धक (पिएम) द्रोण आचार्यले बताए। आचार्यले आफ्नो कम्पनीले ठेक्का लिएका सबै पुलहरु सम्झौता अवधिभित्रै सक्ने, केही ढिला भई हाले असार दोस्रो साताभित्र सक्ने बताए।

पुल निर्माणको काम छिट्टै भईरहे पनि भुक्तानी भने समयमा नपाएको गुनासो जेवीका प्रतिनिधिहरूको छ। लुम्बिनी कन्स्ट्रक्सनका प्रतिनिधि राउतले काम जत्ति छिटो गरे पनि भुक्तानी समयमा नपाउँदा थप काम गर्न कठिनाई भइरहेको गुनासो गरे।

पुलको काम सम्झौता अवधिभित्रै सक्ने गरी गरेको भए पनि पेश्कीबाहेक थप कामको भुक्तानी पाउन नसक्दा काममा अवरोध आउन थालेको राउतले सुनाए। जेडआईइसीका पिएम आचार्यले पनि समयमा भुक्तानी नपाउँदा कामलाई गति दिन नसकेको भन्दै पैसा अभावले काम रोकिन सक्ने खतरा रहेको बताए। आचार्यका अनुसार काम गरेको रनिङ बिल भुक्तानी नपाएपछि सामान खरिद र कामदारलाई पारिश्रमिक दिनसमेत हम्मे भएकाले काममा ढिलाइ हुने अवस्था आएको छ।

लोकमार्ग कार्यालयका प्रमुख (डिई) गोपाल खकुरेलले समयमा भुक्तानी दिन नसकेको स्वीकारे। चालु वर्ष सरकारले बजेट नै सीमित दिएकाले काम गरे अनुसार भुक्तानी दिन नसकेको भन्दै उनले थप बजेट माग्न विभाग र मन्त्रालयलाई आग्रह गरिरहेको बताए।

डिई खकुरेलका अनुसार चालु वर्ष मदन भण्डारी लोक मार्गको काम ८० करोड हाराहारीको भएको तर, बजेट भने २४ करोड मात्र प्राप्त भएकाले थप बजेट व्यवस्था नभएसम्म भुक्तानी गर्न नसकिने अवस्था छ। उनले ठेकेदारहरुले गरेको कामको बिल कार्यालयमा चाङ लागे पनि भुक्तानी गर्न पैसै नभएकाले पत्राचार र भौतिक उपस्थिति जनाएरै विभागमा थप बजेटका लागि धाउँदै गरेको बताए। 

‘जम्मा बजेट २४ करोड आएको हो, काम भने झण्डै ८० करोडको हुँदै छ’ डिई खकुरेलले भने ‘थप बजेट नआए भुक्तानी गर्न सक्ने अवस्था छैन, भुक्तानी रोकिएका कारण ठेकेदारले हात झिक्ने अवस्था आउला जस्तो छ।’ थप बजेट मागको फाईल विभाग हुँदै मन्त्रालय पुगिसकेको भन्दै बजेट पाउने अपेक्षा गरेको बताएका छन्।

सदरमुकाम त्रियुगा, बेलका, चौदण्डीगढी र कटारी नगरपालिका तथा उदयपुरगढी गाउँपालिका भएर निर्माणाधीन लोक मार्गको पूर्वी खण्ड सम्पन्नको अन्तिम बिन्दुमा पुगिसकेको छ। डिई खकुरेलका अनुसार १ हजार २ सय किलोमिटर लामो लोकमार्गले पूर्वमा झापाको बाहुनडाँगीदेखि पश्चिममा डढेल्धुराको रुपालसम्म जोड्नेछ।

सुनसरीको धरानदेखि गाईघाट–कटारी–सिन्धुलीको भिमान हुँदै मकवानपुरको हेडौँडासम्मको खण्ड अन्तिम चरणमा पुगेको खकुरेल बत्ताउँछन्। सो खण्डमा पहिलो चरणमा बनाउन छुटेका विभिन्न खोला खहरेमा पुल पुलेसा बनाउने काम पनि लगभग अन्तिम चरणमा पुगेको उनले बताएका छन्।

प्रकाशित: २१ वैशाख २०८० १२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App