पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि यहाँस्थित सराङकोटको आकाशमा उडान भईरहेको प्याराग्लाइडिङ झन्डै पाँचकिलोमिटर पश्चिमको मान्द्रेढुंगा स¥यो। पर्यटकीय सिजनको बेला सराङकोटको आकाशमा उडान हुँदाताका प्याराग्लाइडिङ क्षेत्र निकै नै व्यस्त हुन्थ्यो, तर, मान्द्रेढुंगा सरेको प्याराग्लाइडिङले सोचेजति गति लिन नसकेको व्यवसायीले बताएका छन्।
गत जनवरी १ देखि विमानस्थल संचालनमा आएपछि सराङकोटको आकाशबाट प्याराग्लाइडिङ मान्द्रेढुंगा सरेको भएपनि अझै लयमा फर्किन नसकेको व्यवसायीले बताएका छन्। पोखराबाट केही बढी दूरीमा उडान भईरहेको प्याराग्लाइडिङबारे अहिले पर्यटन क्षेत्र नै बेखबर जस्तो रहेको पाइलटहरुको पनि गुनासो छ। सिजनको बेलाको उडान पनि सोचेजति हुन नसकेको उनीहरु बताउँछन्। नियमित उडान गर्न नपाउँदा प्याराग्लाइडिङको व्यवसायिक उडान (टेण्डम) गर्ने पाइलट नै बेरोजगार बनेको र कतिपय त विदेश पलायन भईसकेको पनि पाइलटहरुले बताए।
‘लामो समयदेखि प्याराग्लाइडिङ उडान गरिरहेका पाइलट अहिले कामविहीन भएका छन। हामीले चिनेका कतिपय पाइलट त विदेश नै पलायन भईसकेका छन, केहीले भाषा सिकिरहेका छन,’ प्याराग्लाइडिङका एकजना टेण्डम पाइलट भन्छन, ‘पोखरामा उडान गर्दा राम्रो कमाई गरेका पाइलट अहिले कामविहीन बनेका छन्। जानेको र गरिरहेको काम नपाएपछि पलायनको बाटोमा लाग्नुको विकल्प छैन।’ ती पाइलटका अनुसार कतिपय पाइलट अहिले कोरिया जाने सुरमा भाषा सिकिरहेका छन् भने कतिपय गईसकेका छन्। केहीले विकल्पमा अन्यत्र ठाउँ उड्ने ठाउँ खोज्न थालेको उनले बताए।
‘पोखरा घुम्न आएका पाहुनाले सहर घुम्दा होस वा फेवातालमा डुंगा सयर गर्दा सराङकोट आकाशमा प्याराग्लाइडिङ उडेको देख्थे। त्यही दृष्य हेरेर पनि धेरै पर्यटक प्याराग्लाइडिङ उड्न लोभिन्थे,’ ती पाइलट भन्छन, ‘तर, अहिले पोखरामा प्याराग्लाइडिङ नै भए नभएको थाहा हुँदैन। नियमित उडान नै भए नभएको पत्तो पाइँदैन। हिजोका दिनसम्म आफै बजारीकरण भएको प्याराग्लाइडिङ अहिले गुमनाम जस्तै बनेको छ। झन्डै अडाईदशक उडान इतिहासमा अहिले पूर्णबिराम लागेजस्तै भएको छ।’
ती पाइलटका अनुसार सराङकोटबाट बिस्थापित भएको प्याराग्लाइडिङ निकै नै धिमा गतिमा लयमा फर्किने प्रयासमा छ। ‘मान्द्रेडुंगा उड्नका लागि उत्तिसारो नराम्रो ठाउँ पनि होईन, तर, जुनरुपमा लय लिनुपर्ने हो, त्यो हुन सकेन, कतै पर्यटन क्षेत्र नै सुस्ताएको कारणले पनि यो अवस्था आएको हो की भन्ने हाम्रो अनुमान छ,’ ती पाइलटले भने, ‘हिजो देखेको भरमा उड्न जाने पाहुना अहिले पाइदैनन। मुखै खोलेर भनेमात्रै उड्न जाने पाहुना छन्।’
प्याराग्लाइडिङ पाइलट क्लवका अध्यक्ष विमल पहारीका अनुसार सराङकोटमा उड्न पाउँदा यो बेला दिनमा कम्तिमा २–३ पटक उडान गर्ने मौका पाइलटले पाउँथे। तर, मान्द्रेढुंगा पुगेपछि सातामा एकदिन मात्र उड्न पाइएको छ। ‘प्याराग्लाइडिङका लागि यो ‘पिक टाइम’ हो, तर, पोखराको पर्यटन क्षेत्रमा निकै नै फराकिलो पहिचान बनाएको प्याराग्लाइडिङ गुमनाम जस्तै भएको छ,’ पहारीले भने, ‘ठाउँ सरेपछि प्याराग्लाइडिङ माथि उठ्नै सकेन।’
उनका अनुसार मान्द्रेढुंगाबाट उडान गर्दा सराङकोटबाट देखिनेजस्तो दृष्य देख्न पाइदैन। सराङकोटबाट उड्दा फेवाताल सिरानमा देखिने हर्पन खोलाको नागबेली स्वरुप, फेवाताल, उत्तरतिरको हिमाली चुचुरा, हरियाली, पोखरा बजार देख्न सकिन्थ्यो, तर, ती सबै दृष्य अहिले मान्द्रेढुंगाबाट उड्दा मिस भएको उनले बताए। ‘तोकिए भन्दा बढी उचाँइमा जान पाइदैन, जति नै माथि गएपनि सराङकोटबाट उड्दा जस्तो देखिने दृष्य देख्नै पाइदैन,’ पहारीले भने, ‘भ्यू नै नदेखिएपनि पाहुना पनि रमाउन सक्दैनन।’
मान्द्रेढुंगाको आकाशको टेकअफ प्वाइन्ट समुन्द्री सतदेखि करिब १७ सय मिटर (५७०८ फिट) मा छ। नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले मान्द्रेढुंगामा ६ हजार फिट भन्दा माथि उड्न नपाउनेगरि उचाइँ तोकिदिएको छ। उडेपछि झन्डै ३ सय फिट माथिसम्म मात्र जान पाइन्छ । मान्द्रेढुंगाबाट उडेको प्याराग्लाइडिङ फेवातालको सिरान क्षेत्रको पामे क्षेत्रमा अवतरण गर्छन। टेकअफ पछि पूर्वतर्फ (तोरिपानी–सराङकोट) र पश्चिम (पञ्चासे) तर्फ ५–५ सय मिटरसम्म मात्र आउजाउ गर्न पाउँछन्। उत्तर (सुइखेत) तिर ५० मिटरसम्म मात्र जान पाउँछन । दक्षिणतिर (पामे) भने साढे ४ किलोमिटरसम्म आउन पाउँछन।
पोखराको पर्यटमा प्याराग्लाइडिङ उडानले बनाएको इतिहास अहिले धरापमा पर्दै गएको उनले बताए। अध्यक्ष पहारीका अनुसार यो बेला सराङकोटमा उडान हुँदाताका दिनमा कम्तिमा दुइसय उडान हुने गरेकोमा अहिले त्यसको आधा संख्यामा पनि भएका छैनन। उड्ने मान्छे नभएपछि पाइलटले पनि काम पाएनन।
‘सराङकोटमा नदिएपनि तोरीपानीबाट उड्न पाएको भए केही राहत मिल्थ्यो, तर, तोरीपानीबाट पनि टाढा जानुपर्दा प्याराग्लाइडिङ क्षेत्र सुनसान बन्यो, सातामा २–३ वटा उडान गरेर पेशा जोगाउन सकिन्न,’ उनले भने, ‘धेरै पाइलट बिस्थापित भईसके। नयाँ आउन थालेका पाइलट पनि अन्योलमा छन्। प्याराग्लाइडिङको क्षेत्रमा आउने तयारीमा रहेका करिब ४० जना पाइलटको भविश्य नै के हुने भन्ने अन्योल छ।’
उनका अनुसार पर्यटन क्षेत्र समग्रमा खस्किएकोले पनि अहिले उडानमा पाहुना कम भएका हुन्। तर, सबैभन्दा बढी मार उडान क्षेत्र टाढिँदा भएको हो। ‘सराङकोटमा उडान हुँदाताका मुख र आँखाको भरमा बजारीकरण भएको थियो। फेवातालमा डुंगा सयर गर्दा देखिने उडानको दृष्यले पनि धेरैलाई प्याराग्लाइडिङ उड्न जाउँजाउँ लाग्ने बनाउँथ्यो,’ उनले भने, ‘तर, अहिले त अत्तोपत्तो नै छैन।’
प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) का निवर्तमान अध्यक्ष कृष्ण भण्डारी पनि सराङकोटको जस्तो आकार मान्द्रेढुंगाबाट प्याराग्लाइडिङले लिन नसकेको बताउँछन। ‘हामीले मान्द्रेढुंगाबारे केही दायाँबायाँ गर्न सकिन्छ की भनेर प्राधिकरणसँग अनुरोध गरेका छौ। मान्द्रेढुंगामा व्यवसायिक रुपमा प्याराग्लाइडिङ फस्टाउन नसकेकै हो,’ भण्डारीले भने, ‘लोकेसनले केही फरक पारेको हो । हुन त यो बेला समग्र पर्यटन क्षेत्र कमजोर बनेको छ । तरपनि प्याराग्लाइडिङ झनै खुम्चिएको छ।’
उनका अनुसार मान्द्र्रेढुंगाको आकाश प्याराग्लाइडिङको एकल (सोलो)उडानका लागि उपयुक्त भएपनि व्यवसायिक उडानका लागि भने उत्तिसारो उपयुक्त हुन सकेको छैन। ‘सराङकोटमो यो बेलामा निकै नै राम्रो हुने ठाउँ हो। तर, मान्द्रेढुंगाबाट एकतिहाई मात्र उडान भएका छन,’ उनले भने, ‘सराङकोट आफै बजारीकरण भएको ठाउँ हो। तर, मान्द्रेढुंगाले बजार लिन सकेको छैन।’
प्रकाशित: ७ चैत्र २०७९ १०:४५ मंगलबार