६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

ऋण तिर्न नसक्ने बनाएको भन्दै गोरखामा लघुवित्तविरुद्ध धर्ना

मंगलबार जिल्ला प्रशासन कार्यालय गोरखामा धर्नामा बसेको लघुवित्त पीडितहरु। तस्बिर : नागरिक

लघुवित्तहरुले महँगो ब्याज लिएर ग्राहकलाई ऋण तिर्न नसक्ने बनाएको भन्दै केही ग्राहकले मंगलबार जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना दिएका छन्। एकै ब्यक्तिलाई तीन/चारवटा लघुवित्तले ऋण लगानी गर्ने, लगानीको सुरुका चरणमा जवरजस्ती पैसा दिने, महँगो ब्याज असुल्ने गरेकाले लघुवित्त खारेजीको धर्नामा बसेकाहरुले माग गरेका थिए।

‘सवाँ भन्दा धेरै ब्याज तिर्दापनि तिर्न बाँकी छ भन्छन्’ लघुवित्त वित्तिय संस्था विरुद्धको संघर्ष समिति गोरखाका अध्यक्ष शुसिला गुरुङले भनिन् ‘ऋण मिनाह गरेर लघुवित्त खारेज भएन भने हामी थप संघर्ष गर्छौँ, पैसा तिर्ने कुनै उपाए छैन।’ लामो समयदेखि लघुवित्तको सदस्य रहेको बताउँदै जवरजस्ती लगानी गराउने र एक दिन किस्ता ढिला भयो भने मानसिक तनाव दिने गरेको उनले गुनासो गरिन्।

पालुङटार नगरपालिका ७ च्याङ्लीकी कुमारी कुमालले स्वाभलम्ब लघुवित्त बाट दुई लाख ५० हजार, बिजय लघुवित्तबाट तीन लाख र हामी सबैको लघुवित्तबाट दुई लाख लिएको बताइन्। ‘मैले एक दिन किस्ता तिर्न ढिलो हुँदा जवरजस्ती तिर्नुपर्छ भने मैले सकिन’ उनले भनिन् ‘एकदुई दिनपनि समय नदिने, सँधै ब्यवहार सहज कहाँ हुन्छ?, त्यसपछि आफु संघर्ष समितिमा सहभागी भएको उनले बताइन। उक्त पैसा घर बनाउको झिकेको बताउँदै उनले एकतिर ऋण लिने अर्कोतिर तिर्ने गर्दै यसअघि मिलाएको बताइन।

मंगलबार जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना बसिरहेका कैले चेपाङले गोरु किन्न एक लाख झिकेको र पछि फेरी लघुवित्तले अर्को हल गोरु पनि किन्नु भनेर एक लाख आवश्यक नपर्दापनि दिएको बताए। ‘ऋण थोरै भए तिर्न सजिलो हुन्थ्यो, ज्याला मजदुरी गरेर खाने मान्छे हामी, ऋण धेरै भयो तिर्न सकिएन’ चेपाङले भने ‘घर आउने बेइज्जत गर्ने गर्दा चित्त दुखेको छ।’

ऋण भएपनि लघुवित्त पिडितहरु बाँच्न पाउने अधिकार रहेको धनकुमारी गुरुङले बताइन। ‘हामीले ऋण लिएको हो, तिर्न सकेका छैनौँ, तिर्न सक्ने अवस्थापनि छैन, हामी यो देशको नागरिक हैन, हामीलाई बाँच्ने अधिकारी छैन’ उनले भनिन् ‘हाम्रो सामाजिक बेइज्जत भएको छ, मानिसक तनाब भएको छ, यो अवस्था रहने हो भने लघुवित्त सँग कुनैदिन झडपको अवस्था सिर्जना हुन सक्छ।’

गोरखाको विभिन्न ठाउँबाट लघुवित्तका कारण पिडित भएको भन्दै महिलाहरुको उपस्थिती धर्नामा धेरै थियो। उनीहरुले लघुवित्तबाट झेल्नुपरेको पिडाका बारेमा पालैपालो गुनासो गरेका थिए। लघुवित्त र ऋण खारेजी नहुँदा सम्म आन्दोलनका कार्यक्रम चलिरहने लघुवित्त बित्तिय संस्था विरुद्धको संघर्ष समिति गोरखाका अध्यक्ष शुसिला गुरुङले बताइन।

केही दिनअघि पनि लघुवित्त वित्तिय संस्थाले ज्यादती गरेको भन्दै महिलाहरुले गोरखा सदरमुकाममा प्रर्दशन गरेका थिए। त्यसलगत्तै गोरखामा क्रियाशिल लघुवित्त संस्थाहरुले लघुवित्तले ग्राहकलाई ब्यवशायीक बनाएको भन्दै बित्तिय साक्षरता नाम दिएर अर्को प्रर्दशन गरेका थिए। लघुवित्त पीडितहरु खारेजीको माग सहित आन्दोलनमा छन् भने लघुवित्तहरु आफ्ना कारण नभई ग्राहक आफ्नै कारण समस्यामा परेको बताएका थिए।  

प्रकाशित: १६ फाल्गुन २०७९ ०९:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App