६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

भूकम्पमा भत्किएको प्रवासी मन

‘मुलुकभर ७.८ रेक्टर स्केलको भूकम्प गएको छ। कति घरहरू नि भत्किएछ। भूकम्पको धक्का महसुस भएका सबै क्षेत्रका दाजुभाइ दिदीबहिनीहरू आज घरभित्र नबस्नु होला, बाहिर खुला ठाउँमा बस्नु होला किनभने पटकपटक भूकम्प आइरहेको छ। काठमाडौंका पुराना घर भत्किएका छन्। धरहरा रहेन, भूकम्पले ढाल्यो।' भन्ने महेश श्रेष्ठजीले लेखेको स्ट्याटस पढेपछि आत्तिएँ।
शनिबारको दिन इजरायलमा पनि सब्बात भएकोले अलि ढिलैसम्म सुतिन्छ। बिहानको खाजा ढिला नै खाएको ९ बजेतिर यसो फेसबुक खोलेको त मेरीबास्सै के के पो भइसके छ नेपालमा.....।त्यतिखेर एकनाथ दुवाडीले ढलेको धरहराको तस्विर देखाउँदै भन्नुभयो – हेर्नुस्, हाम्रो धरहरा त!
आत्तिएर काठमाडौं, पोखरा र चितवनमा फोन गरेँ, कतै लागेन। मन अल्तालियो। उकुसमुकुस भयो।
देशमा महाविपत्ति छ। परिवारहरू बिचल्लीमा छन्। कतै कसैसँंग सम्पर्क छैन। सबैले विलाप गरेर स्ट्याटस राखिरहेका छन्। बल्लतल्ल पोखरामा छोरीसँग कुरा भयो – ‘सबै ठीक छ, भाई कलेज गएको छ।' भनिन्।
धेरै प्रयास गरेपछि मात्रै सम्पर्क भयो। घर भत्किए पनि सबै सकुशल भएको जानकारी पाए। घरपरिवार सकुशल पाएँ।
धरहरा र वसन्तपुरदरबारजस्ता ऐतिहासिक धरोहरको भूकम्पबाट भएको अकल्पनीय क्षतिको तस्बिर र भिडियो देख्दा निकैबेर आखाबाट आँसु रोकिएन।
यसैबेला पटकपटकको भुइँचालोले थर्कमान मेरी बूढी आमालाई  फोन गरेँ ु ‘हामी बाँचेका छौँ, नानी पीर नगर!'  स्वाँस्वाँ गर्दै भन्नु भयो। मुटु भक्कानियो। मेरी आमालाई मेरो सहारा चाहिएको छ। मेरो छोरालाई न्यानो काख चाहिएको छ। एकछाक जुटाउन यो प्रवासमा म भने बन्धकी बस्नुपरेको छ।
फेसबुकबाट आखाँ हटाउन मन लागेन। आफ्नो देशले विपत्ति खेपिरहँदा, म भने यसरी प्रवासमा बस्नुपर्दा आफैँलाई धिक्कार्न मन लाग्यो।
इजरायलमा भइरहने पटकपटकको युद्धको साक्षी मेरो जिन्दगी मातृभूमिको पीडा, आफन्तको दुःखमा एक चिम्टी मलम लगाउन नपाउनु कति विवश! सात समुन्द्र पारीबाट समाचार पत्र र टिभीमा आँखा पुर्या उँदा मलाई लाग्यो क्षितिजहरू चित्कार गर्दैछन्।
लास पोलेको धुवाले धुवाँ भरिएको छ रे पशुपति क्षेत्र। गाउँबस्ती लासले भरिएका छन् रे र लास उठाउने मान्छे छैनन् रे।
सांस्कृतिक महत्व बोकेर उभिएको भीमसेन स्तम्भ सयाँै नेपालीको प्राण लिएर आफैँ अलप भयो।
हिजोसम्म मुस्कुराइरहेका बसन्तपुरका कान्तिपुरी नगरीका पुरातात्विक धरोहर सबै भताभुङ्ग र लथालिङ्ग भए। कतिपय डाडापाखाका गाउँ केही सग्ला रहेनन्।
फेसबुकमा साथीहरुले सेयर गरेको फोटो हेर्दा मन थाम्न सकेको छैन। मन मस्तिष्क खल्बलिएको छ। शब्द र भावविहीन भएको छु।
काठमाडौँको अवस्था देख्दा आँसु रोकिएको छैन। त्यहाँ बत्ती छैन। फोन छैन। हिँड्न सक्ने अवस्था छैन। भूकम्प कतिखेर आउँछ थाहा छैन? जनता खुल्ला आकाशमुनि, सडकमा, टुडिखेलमा, खाली जग्गामा भूइँमै बसेका छन्।
हिजोसम्म सुरक्षित भनिएको घर कालमा परिणत भएको छ। लाग्छ, कति च्यापिएर चिच्याइरहेका होलान्। यतिबेलै उद्धार गर्न सके धेरैको जीवन बाँच्थ्यो। के गर्ने? प्रार्थनाबाहेक अरू केही गर्नसक्ने अवस्था छैन।
जताततै हताहतको संख्या बढिरहेको समाचार छ। सगरमाथा बेस क्याम्पदेखि सहर, गाउँ सबै प्रभावित भएको छ। अन्तर्राष्ट्रिय जगत सहयोगमा जुटेको छ। यो संसारमा माया सद्भाव मानवता, आत्मीयताभन्दा ठूलो के नै हुन्छ र? यो भयाबह स्थितिमा संसारभरिबाट नेपालप्रति माया र सहानुभूतिका साथ सहयोगी हातहरु बढ्दै गरेको देख्दा मन थाम्न सकिएन अविरल आँसुका धारा गाला चुम्दै खसिरहे।
यो दुखद् घडीमा टाढा हुनुपर्दाको पीडा यिनै आँसु बगाएर मन शान्त पार्नुको विकल्प छैन। हामी टाढा बसेर देख्दा त यति धेरै मर्माहित भएका छौँ। भोग्नेलाई त कस्तो भएको होला, उफ! जसरी नेपाली आमालाई भूकम्पले हल्लाएर भत्कायो क्षतविक्षत पार्योो, मलाई पनि देश र आफन्तको मायाले उसैगरी हल्लायो, भत्कायो मुटु पोल्यो, मानसिकरूपमा क्षतविक्षत पार्योद।
नयाँ वर्ष २०७२ सँगै इतिहास र संस्कृति मेट्दै नेपाली इतिहासकै डरलाग्दो क्षति भोगिरहँदा प्रकृतिसँग पौठेजोरी खेल्न र दैवलाई सराप्न मन लाग्यो। हे दैव तिमीले यो के गर्यौत? आमनेपाली पटकपटकको भूकम्पले भयाबह र त्राहिमामको अवस्थामा छन्। नेपालीहरु घरभित्र जाउन् भूकम्पको डर, बाहिरचाहिँ पानी परेर बस्न नसकिने अवस्था छ। कति निष्ठुरी दैव पनि। प्राकृतिक र सांस्कृतिक सुन्दरताले भरिएको हाम्रो सुन्दर देशलाई दैविक प्रकोपरूपी महाविनाशकारी भूकम्पकले सगरमाथाको चुचुरोदेखि बारपाकको फेदीसम्म तहसनहस पार्दा र लासको लस्कर देख्दा साँच्चै नै मातृभूमि भेन्टिलेटरमा राखिएको बिमारी जस्तै  महसुस भइरहेको छ। मुटुमै कडा चोट पर्दा कस्तो हुन्छ अहिले त्यस्तै महसुस भएको छ। देशमा भएका भौतिक तथा मानवीय क्षति अपूरणीय छ।
अहिले नेपाललाई विभिन्न देशले सहयोग गरिरहेको समाचार सुन्दा मन अत्यन्तै भावुक भएको छ। संसार एउटै हो। संसारका मानिस हामी एउटै हौं। उद्धारमा संलग्न सबैलाई अझै प्रेरणा मिलोस्। विपत्तिको बेला सहयोग गर्नुभन्दा पर अर्को कुनै धर्म छैन। ‘आज देशले मलाइ के दियो भन्दा पनि देशलाई मैले के दिएँ' भनेर सोच्नुपर्ने अवस्था छ। हाम्रो सानो सहयोगले हाम्रै दाजुभाइ/दिदीबहिनीलाई सहयोग मिल्नेछ। जहाँ भए पनि जहाँ रहे पनि हामीले हाम्रो एकता देखाउनुपर्ने आजको आवश्यकता छ। यो दूरदेशबाट सकुशल बाँच्न सफल हुने हरेक व्यक्तिहरुको मनमा सहनशीलता जगाइदिउन् भगवानले, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभ होस् र मृतकको आत्माले चिरशान्ति पाउन् भन्ने हार्दिक कामना गर्छु। सबैले संयमित भएर यो समस्या सामना गर्न सकौं। वैशाख १२ गते नेपालको इतिहासमा कालो दिन रहेछ।

हाल इजरायल

प्रकाशित: १८ वैशाख २०७२ ००:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App