१५ पुस २०८२ मंगलबार
image/svg+xml
प्रवास

एमआरपी फारम भर्दा चर्को असुली

क्वालालाम्पुर— मलेसियास्थित नेपाली दुतावासमा मेसिन रिडेवल पासपोर्ट(एमआरपी) बनाउन जाने नेपाली ठगिन बाध्य छन्। एमआरपी बनाउन दिनुपर्ने आवेदन फाराम भरेको र त्यसमा लाग्ने फोटोखिचे बापत नेपाली व्यवसायीले ४० रिङ्गेट (एक हजार एक सय आठ रुपैयाँ) लिएर नेपालीलाई नै ठग्ने गरेका हुन्। दूतावास परिसरमा फोटो खिच्ने र एमआरपीकाका लागि फाराम भर्ने व्यवसायी नेत्र केसीले आफूले फोटो खिचेको र फाराम भरेको ४० रिङ्गेट लिने गरेको स्वीकारे। 'नेपालीलाई सेवा दिएर ४० रिङ्गेट लिने गरेको छु' उनले नागरिकन्युजसँगत भने,'व्यवसाय मेरो हो। कति पैसा लिने भन्ने मेरो इच्छा हो।'

जानकारहरुका अनुसार फोटो खिचेको र फाराम भरेको खर्च पाँच रिङ्गेट (करिब एक सय ५० रुपैयाँमा) मा पूर्ति हुन्छ। तर व्यसायीले भने ४० रिङ्गेट (एक हजार एक सय आठ रुपैंया) असुली गर्दा मजदूरी गर्न आएका गरिब नेपाली मर्कामा परेका हुन्। एम्आरपी फाराम भरेको र फोटो खिचेको नेपालमा बढीमा २ सय ५० लाग्नेगर्छ। मलेसियाको दूतावासमा एमआरपी बनाउन फाराम भरेको र फोटो खिचेको ११ सय भन्दा बढी रुपैयाँ तिर्नु परेको बिजौरी दाङका प्रकास शर्माले गुनासो गरे। 'दुतावासभित्रैबाट नेपालीलाई सेवाका नाममा लुट्ने काम भयो', ठगीबारे दुतावासका कर्मचारी समक्ष जानकारी गराउँदा आफूहरुले केहीगर्न नसक्ने जवाफ दिएको शर्माले गुनासो गरे ।

फारम भर्ने जिम्मा एनआरएनलाई दिइएन

एमआरपीका लागी फाराम भरेको र फोटो खिच्दा चर्को रकम असुलेपछि दुतावास आफैँले एनआरएनका अध्यक्ष शेष घलेको उपस्थितिमा एनआरएन मलेसियालाई सस्तोमा फाराम भर्न र फोटो खिच्न आग्रह गरेको थियो। एनआरएनले काम सुरु गर्न खोज्दा अन्तिम समयमा दुतावासले अनुमती दिएन। एनआरएन मलेसियाका महासचिव सुनिल चालीसेका अनुसार राजदुत नीरञ्जनमानसिंह बस्न्यातले फाराम भर्नका लागि दुतावासकै कार्यालयभित्रै आठ रिङ्गेट फाराम भर्नुपर्ने भन्दै ठाउँ समेत देखाएका थिए। एनआरएन ८ रिङ्गेट (करिब २ सय २० रुपैयाँ) मा फारम भर्न र फोटो खिच्न तयार भएको थियो।

एलआरएनले ८ रिङ्गेट दिँदा पनि केही रकम बच्ने भएकाले बचेको रकम जेल परेका नेपालीलाई घर पठाउन टिकटमा खर्च गर्ने समेत बताएको थियो। एनआरएनले काम सुरु गर्न जाँदा राजदुतले कार्यालयभित्र एनआरएनलाई काम गर्न नदिने भन्दै फर्काइदिएको महासचिव चालीसेले जानकारी दिए। 'राजदुतले एमआरपी बनाउने नेपाली ठगिए एनआरएनले दुतावासभीत्रै फारम भर्ने र फोटो खिच्ने काम गर्नुपर्योन भनेकाले काम सुरु गर्न गयौं तर अन्त्यमा हुँदैन भन्नुभयो', चालीसले भने, 'पहिले आफैँ आग्रह गरेका राजदुतलाई पछि कतैबाट आकाशवाणि भएछ। एनआरएनलाई काम गर्न दिनुभएन।'

४० रिङ्गेटको ठाउँमा ८ रिङ्गेटमा काम गर्छौ भन्नेलाई काम गर्न नदिनु कमीशनको चलखेल भएको चालीसेको आरोप छ। उनले एनआरएनसग कसैलाई कमीशन दिने पैसा नभएको भन्दै त्यही कारणले एनआरएनलाई काम गर्न नदिइएको हुनसक्ने शंका गरे। उनले ४० रिङ्गेटको ठाउँमा ८ रिङ्गेटमा काम गर्छौं भन्नेलाई गर्न नदिनुले दुतावासको बदनीयत प्रष्ट भएको बताए।

दुतावास स्रोतका अनुसार एनआरएनलाई कार्यालयभित्रै फारम भर्ने र फोटो खिच्न दिनेमा दुतवास सकारात्मक थियो। त्यसैले राजदुत बस्न्यात आफैँले नेपालीलाई ठगिनबाट जोगाउन एनआरएनलाई फाराम भर्न आग्रह गरेका थिए। एनआरएनसग सहकार्य गरी एमआरपी फाराम भर्नलाई दुतावासको तर्फबाट द्वितिय सचिव उत्तम शाही र एनआरएनबाट प्रेम पाण्डेलाई जिम्मा दिने सहमती समेत भैसकेको थियो। दुतावासकै तल्लो तलामा ४० रिङ्गेट असुलेर फाराम भरिरहेका व्यवसायीले एनआरएनलाई फाराम भर्ने काम नदिए दुतावासलाई जस्तोसुकै सहयोग गर्ने सन्देश दुतावास अधिकारी समक्ष पुर्‍याएपछि राजदूतले एनआरएनलाई अनुमति नदिएको स्रोतले बतायो।

प्रकाशित: ९ वैशाख २०७२ ०१:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App