४ माघ २०८२ शनिबार
image/svg+xml
प्रवास

९ बुँदे प्रतिबद्धतापत्र जारी गर्दै न्यूजिल्याण्डमा एनआरएनको ओसियाना क्षेत्रीय वैठक सम्पन्न

काठमाडौं— गैरआवासीय नेपाली संघको ओसियाना क्षेत्रिय बैठक ७ फेब्रुअरी २०१५ (माघ २४ २०७१) का दिन न्यूजिल्याण्डको अकल्याड शहरमा सम्पन्न भएको छ। 'अनेकतामा एकता' भन्ने मुख्य नारा रहेको यस वैठक ९ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दै सम्पन्न भएको छ।


 


बैठकमा न्यूजिल्याण्ड माननीय मन्त्री पासेता साम, सांसद फिल गोफ, अष्टे्रलिया र न्यूजिल्याण्डका लागि महामहिम नेपाली राजदुत रुद्रकुमार नेपाल, गैरआवासीय नेपाली संघ अन्तरार्ष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घले, संरक्षक इन्द्रा वन, उपाध्यक्ष भवन भट्ट लगायत ओसियाना क्षेत्रमा रहेका एक सयभन्दा बढी एनआरएन प्रतिनिधिहरुको सहभागिता थियो।

बैठकले माघ ८ गते नयाँ संबिधान जारी गर्ने दलहरुको घोषित प्रतिबद्धता पुरा हुन नसकी दलहरुवीच झनै तिक्तता बढ्ने अबस्था सिर्जना भएकोप्रति दुःख ब्यक्त गर्दै संबिधानमार्फत् स्थायित्व कायम भई मुलुकको आर्थिक सम्बृद्धिका लागि हातेमालो गर्ने अवसरका लागि गैरआवासीय नेपाली प्रतिक्षारत रहेको बताएको छ।

बैठकले नेपालमा एक अर्ब रुपैयाँको परोपकारी कोष स्थापना गर्ने गैरआवासीय नेपाली संघका अध्यष शेष घले एवं उहाँकी पत्नी जमुना गुरुङको घोषणाप्रति हार्दिक आभार प्रकट गर्दै गैरआवासीय नेपालीहरुलाई नेपालमा परोपकारी तथा सामाजिक कार्यमा लगानी बढाउन हार्दिक आह्वान गरेको छ ।

साथै वैठकले बिदेशमा आर्जन गरेको ज्ञान, शीप र पूँजीलाई स्वदेशमा लगानी गर्ने गैरआवासीय नेपालीहरुको प्रमुख उद्देश्यअनुरुप संघले सुरु गरेका सामुहिक तथा ब्यक्तिगत लगानीको अभियानमा सामेल हुन आहृवान गरेको छ ।

वैठकले ओसियाना क्षेत्रभित्र रहेका बिभिन्न नेपाली संघसंस्थासँग सहकार्य गर्दै जाने र गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय समिति स्थापना नभएका देशहरुमा संजाल विस्तार गर्ने निर्णय गरेको छ । साथै न्यजिल्याण्डमा गैरआवासीय नेपाली संघको महिला फोरम स्थापना भएकोमा संघले खुसी ब्यक्त गरेको छ ।

उद्घाटन वैठकलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले बिगत १५-२० वर्षमा बिश्वमा नेपाली समुदायको बिकाश र विस्तार निकै आश्चर्यजनक रहेको बताए। 'सायद सर एडमण्ड हिलारी पनि यो तिब्र विस्तार देखेर छक्क पर्नुहुन्थ्यो होला' अध्यक्ष घलेले भने- 'वास्तवमै कसैको कल्पनाभन्दा धेरै नेपाली समुदायले बिश्व मानचित्रमा आफूलाई विस्तार गरिरहेको छ।'

एडमण्ड हिलारीकै कारण नेपाल र न्यूजिल्याण्डवीच जनस्तरमै बिशेष सम्बन्ध रहेको भन्दै अध्यक्ष घलेले न्यूजिल्याण्डमा नेपाली समुदायले गरेको प्रगतिप्रति सन्तोष ब्यक्त गरे। गैरआवासीय नेपाली संघले गैरआवासीय नेपालीहरुवीच सम्पर्क संजाल बढाउनुका साथै बिदेशमा सिकेको सीप र पूँजी नेपालमा लगानी गर्न महत्वपूर्ण भूमिका खेलेको बताए।

वैठकमा बिभिन्न सेसनमा गैरआवासीय नेपाली संघका मुद्दा र प्राथमिकतामाथि छलफल भएको थियो। ओसियाना क्षेत्रीय संयोजक बिष्णु हमालले सहभागीहरुलाई स्वागत गर्नुभएको थियो एनआरएन न्यूजिल्याण्डका संस्थापक अध्यक्ष बाबुराजा महर्जनले पनि आफ्ना धारणा राखेका थिए।

भवन निर्माणका लागि १५ हजार डलर

यसैबीच गैरआवासीय नेपाली संघको काठमाण्डौमा बन्न लागेको केन्द्रीय कार्यालयका लागि न्यूजिल्याण्डमा १५ हजार डलर संकलन भएको छ। एनआरएन न्यूजिल्याण्डलाई ५ हजार डलरको लक्ष्य दिइएकोमा शनिवार साँझ आयोजित डिनर कार्यक्रममा १५ हजार डलर संकलन भएको एनआरएन ओसियाना क्षेत्रका बिल्डिङ फण्ड रेइजिङ संयोजक गणेश केसीले जानकारी दिए। उनका अनुसार एनआरएन न्यूजिल्याण्डले कम्तीमा २० हजार डलर संकलन गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित: २६ माघ २०७१ ०३:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App