'निकै खुसी छु', उत्कृष्ट अन्तर्राष्ट्रिय रेफ्रीको उपाधि पाएपछि महर्जनले नागरिकन्युजसँग भने–'मैले तेक्वान्दोलाई जीवनपद्धतिका रुपमा लिएको छु। यसमा मैले निकै मिहिनेत गर्दै आएको छु। आज आफ्नो त्यो मिहिनेतको मिठो फल पाए जस्तो लागेको छ।'

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ३० राष्ट्रका एक हजार ६ सय खेलाडीहरूको सहभागिता रहेको थियो। प्रतियोगितालाई विश्व तेक्वान्दो अर्गनाइजेसनका ४५ जना अन्तर्राष्ट्रिय रेफ्रीले सञ्चालन गरेका थिए।
लामो समयदेखि यहाँ बसोबास गर्दै आएका महर्जनले तेक्वान्दो स्कुल पनि सञ्चालन गर्छन्। प्रतियोगितामा सहभागिता जनाएको उनको स्कुल युएस वर्ल्ड क्लास तेक्वान्दो हलिउडले कुल ४ स्वर्ण १ रजत र ७ कास्य पदक जितेको छ। हलिउड स्कुलका नेपाली खेलाडी सुजेन्द्र बज्राचार्यले जुनियर मिडिल तर्फको स्पर्धामा पुम्सेमा स्वर्ण जितेका थिए भने स्पाइरिङमा कास्य पदक जितेका थिए ।
विश्वको पहिलो वरियताका खेलाडी संयुक्त अधिराज्यका आइरन कुक तथा तिन पटक ओलम्पिक एवं चार पटक विश्व च्याम्पियनसिप विजेता स्टिभन लोपेजको समेत सहभागिता रहेको प्रतियोगितामा नेपाली ओलम्पियन सिता राइले पनि निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् । त्यस्तै युएस नेसनल रेफ्रि अस्मिता राइ एवं स्मिता रंजित पनि निर्णायकको भूमिकामा थिए ।
प्रकाशित: १० पुस २०७१ २१:३२ बिहीबार





