२ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रवास

सिड्नीमा भव्य नेपाल महोत्सव

सिड्नी– नेपाल र नेपालीलाई अस्ट्रेलियाको मूल प्रवाहको समुदायसँग परिचित गराउने उद्देश्यसाथ सिड्नीमा नेपाल महोत्सव सम्पन्न भएको छ। प्रत्येक दुई वर्षमा आयोजना हुने यो महोत्सव शनिबार सिड्नीको मुख्य भाग डार्लिङ हार्वरमा भएको हो।
गैरआवासीय नेपाली संघ अस्ट्रेलिया न्यु साउथ वेल्स राज्य समितिको संयोजनमा नेपाली दूतावास क्यानवेरा, महावाणिज्यदूतको कार्यालय न्यु साउथ वेल्स र सिड्नीका सामुदायिक संस्थाहरूको सहकार्यमा कार्यक्रम भएको हो। नेपाली गीतसंगीत, नृत्य, खानाका परिकार, हस्तकलाका सामान र नेपालीको व्यवसायसम्बन्धी जानकारी महोत्सवको मुख्य आकर्षण थिए।
वर्षा र प्रतिकूल मौसमका बाबजुद क्यानवेरा, मेलवर्न, ब्रिसवेन र एडिलेटबाट पनि सहभागीहरू महोत्सवमा भेला भएका थिए। बिहान १० देखि राति ९ बजेसम्म चलेको महोत्सव करिब २० हजार दर्शकले अवलोकन गरेको एनआरएन अस्ट्रेलियाका अध्यक्ष महेन्द्र ओलीले बताए। यो वर्ष नेपाल महोत्सवलाई भव्य बनाउन २२ वटा विभिन्न तयारी समितिहरू बनाइएको थियो।
महोत्सवमा प्रमुख अतिथि अस्ट्रेलियाको केन्द्रीय मानव सेवामन्त्री मेरिस पेनीले नेपाल महोत्सवमार्फत अस्ट्रेलियामा नेपाल चिनाउन सफल भएकोमा नेपाली समुदायको प्रसंशा गरिन्। करिब एक घन्टाको औपचारिक कार्यक्रमलाई अस्ट्रेलियाका लागि नेपाली राजदूत रुद्रकुमार नेपाल, केन्द्रीय एमपी मिसेल रोलेन, सिनेटर स्याम डास्टायरी, न्यु साउथ वेल्स राज्यका विपक्षी नेता जोन रोर्वसन, महावाणिज्यदूतहरू दिपक खड्का र चन्द्र योञ्जन, गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेलगायतले सम्बोधन गरेका थिए।
महोत्सवमा ३२ वटा स्टल राखिएको थियो, जसमा १० वटा फुड स्टल थिए। बाँकी २२ स्टल विभिन्न व्यावसायिक क्षेत्रलाई छुट्याएको थियो। महोत्सवमा राखिएको नेपाल हाउस धेरैको आकर्षण बनेको थियो। यो स्टलमा नेपाललाई चिनाउने हस्तकलाका सामान, नेपालका पर्यटकीय क्षेत्र, परम्परा, रीतिरिवाज प्रदर्शन गरिएको सचिव भरत पोखरेलले बतए।
महोत्सवमा पूर्वी पहाडका राई लिम्बूदेखि तराईका राजवंशी र थारु अनि पश्चिमका रोधी र मारुनी नृत्यहरू देखाइएको थियो। नेपालबाट आएका कलाकारहरू निमा रुम्बा, अनिल सिंह, लोकगायक शिरिष देवकोटालगायतको प्रस्तुतिले महोत्सवमा आकर्षण थपेको थियो। साथमा एक खुट्टाले मात्र नच्ने क्षमता भएकी रोमा न्यौपानेले नृत्य गरेकी थिइन्।
Sydney NEpal festival 2
सिड्नीका स्थानिय कलाकारहरूले गायन र नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रम स्थलमा नियमित रूपमा लाखे र इन्द्रजात्रामा देखाइने गणेश (हात्ती)को नाच पनि देखाइएको थियो। नेपाल महोत्सवको सञ्चालन भीमसेन सापकोटा र जीना केसीले गरेका थिए। सन् २००६ देखि सुरु भएको नेपाल महोत्सव यो वर्ष मेलवर्न र ब्रिसबेनमा पनि हुँदैछ। पर्थमा सम्पन्न भइसकेको छ।

प्रकाशित: २२ भाद्र २०७१ ०६:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App