क्यालिफोर्निया– कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)–युएसएमा आगामी दुई वर्षको नेतृत्वको जिम्मेवारी प्रदीप खनालले पाएका छन्। दुई वर्षे कार्यकालका लागि भएको निर्वाचनमा खनाल नेतृत्वको १९ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो। क्यान युएसए अमेरिकामा सूचना प्रविधिमा कार्यरत नेपालीहरूको संस्था हो।
नवनिर्वाचित समितिमा नवीन आचार्य र सुशील सुवेदी उपाध्यक्ष छन् भने महासचिव र कोषाध्यक्षमा क्रमशः हिरा डंगोल र पुष्कर भण्डारी चयन भएका छन्।
कार्यसमितिका सदस्यहरूमा जगदीश पाण्डे, निली श्रेष्ठ, सामना घिमिरे, सचिन महर्जन, विक्रम शर्मा, दुर्गाप्रसाद भुर्तेल र हरिहर दाहाल छन्। त्यस्तै टोपराज गुरुङ, क्षितीज थपलिया, राज गुरुङ, मन्दिप गुरागाई, प्रमोद पौडेल, प्रभात अधिकारी र सुरेशप्रसाद ओझा पनि सदस्यमा निर्वाचित भएका छन्। कार्यसमितिको सदस्यहरूमा पूर्व अध्यक्षहरु आमोद पोखरेल, नवीन खनाल र विनीत शर्मा पदेन सदस्य रहनेछन्।
नवनिर्वाचित अध्यक्ष खनाल हाल कम्प्युटर चिप्स निर्माता कम्पनी इन्टेलमा कार्यरत छन्। इन्टेलमा सन् २००८ देखि कार्यरत उनी त्यहाँका सिनियर डिजाइन इन्जिनियर हुन्। युनिभर्सिटी अफ टेक्सस अस्टिनबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातकोत्तर गरेका उनी काठमाडौंस्थित सेन्ट जेभियर कलेजबाट १२ कक्षा उत्तीर्ण गरेपछि स्नातक अध्ययनका लागि अमेरिका आएका हुन्।
क्यान युएसएमा एक कार्यकाल महासचिव र एक कार्यकाल उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका खनालले निर्वाचित भएपछि नागरिकसँग कुरा गर्दै भने, ‘आगामी दुई वर्षमा क्यान युएसएको संगठन विस्तार र प्रोफेसनलहरूलाई एकजुट गराएर नेपालको हितमा केही उपलब्धिमूलक काम गर्ने अठोट लिएको छु।'
क्यान युएसएमार्फत अमेरिकामा रहेका मात्र नभएर अरु देशमा रहेका सूचना प्रविधिमा कार्यरतहरूबीच नेटवर्क विस्तारलाई समेत अघि बढाउने तयारी भएको छ। अहिले क्यान युएसएले नेपालमा सम्भाव्य क्षेत्रमा लगानीबारे हरेक महिना एकपटक सिलिकन भ्यालीमा छलफल कार्यक्रम गर्दै आएको छ।
क्यान युएसएमा अमेरिकाका विभिन्न राज्यमा रहेका सूचना प्रविधिसँग निकट रहेका झन्डै तीनसय सदस्य छन्।
प्रकाशित: १३ भाद्र २०७१ ०९:४७ शुक्रबार




