गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले अर्थ संकलन अभियानको नेतृत्व गर्दै करिव १५ दिनदेखि सो क्षेत्रका बिभिन्न कार्यक्रममा सहभागी भएका थिए।
पछिल्लोपटक अगष्ट २४ तारिखमा न्यूयोर्कमा आयोजित कार्यक्रममा सबैभन्दा धेरै करिव २ लाख ११ हजार डलर अर्थात दुई करोड ११ लाख रुपैयाँ संकलन भएको छ। अमेरिकामा नेपालीहरुको एउटै कार्यक्रमबाट यति ठूलो रकम संकलन भएको सम्भवतः यो नै पहिलोपटक हो।
यसअघि सियाटलमा भएको पहिलो कार्यक्रममा २१ हजार, क्यालिफोर्नियामा २९ हजार, बोष्टनमा १५ हजार, सिकागो १० हजार ५ सय, टेक्सास १७ हजार र वासिङटन डीसीमा ७० हजार डलर संकलन भएको थियो । यी सवै कार्यक्रममा गरी कूल ३ लाख ७३ हजार अमेरिकी डलर अर्थात् करिब ३ करोड ६३ लाख रुपैयाँ जम्मा भएको एनआरएन अमेरिकाका संचार संयोजक कृष्ण केसीले जानकारी दिए।
उनकै उपस्थितिमा सियाटलमा २१ लाख रुपैयाँ संकलन गरिएको छ भने लस एन्जलसमा आयोजित कार्यक्रममा ३० लाख रुपैयाँ संकलन भएको एनआरएनले जनाएको छ। लस एन्जलसबाट १५ लाख रुपैयाँको लक्ष्य राखिएकोमा उत्साही नेपालीहरुले झण्डै दोब्बर योगदान गरेका हुन्। बोष्टनबाट १५ लाख रुपैयाँ संकलन भएको एनआरनले जनाएको छ।
अमेरिकाका सबै ठाउँमा गरी करिव ६६ लाख रुपैयाँ संकलन भएको छ। अमेरिकामै अझै ४ वटा शहरमा कार्यक्रम आयोजना हुन बाँकी छ।
अगष्ट १३ मा आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघ अमेरिका तथा लस एन्जलस क्षेत्रका नेपाली संघसंस्थाका प्रतिनिधिको बाक्लो उपस्थिति थियो।
एनआरएन अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यमा बोष्टन भएको कार्यक्रममा एनआरएन अमेरिकाका अध्यक्ष खगेन्द्र जिसी, भुवन गुरुङ, बिष्णुमाया परियार लगायतका एनआरएन अगुवाहरुको उपस्थिति थियो ।
हाल उत्तर अमेरिका भ्रमणमा रहेका अध्यक्ष घले यो क्षेत्रमा आयोजना हुने बिभिन्न कार्यक्रममा सहभागी भइरहेका छन्। उनी अगष्ट १६ तारिख आइतवार एनआरएन क्यानडाले टोरन्टोमा आयोजना गर्ने कार्यक्रममा सहभागी हुनुहुनेछन्। १८ तारिखमा सिकागो, २० तारिखमा टेक्सास, २२ तारिखमा वासिङटन डीसी र २४ तारिखमा न्यूयोर्कमा आयोजित कार्यक्रममा सहभागी हुने एनआरएनले जनाएको छ।
'यो क्षेत्रका गैरआवासीय नेपाली साथीहरुको उत्साह र साथ पाएर निकै उर्जा मिलेको छ' एनआरएन अध्यक्ष घलेले भने-'एनआरएन भवनमा आफ्नो स्वामित्व लिने उहाँहरुको चाहना निकै प्रसंसायोग्य छ।'
यसअघि अष्ट्रेलियामा भएका बिभिन्न कार्यक्रममा २ करोड रुपैयाँ संकलन भइसकेको छ भने एनआरएन हङकङ, चीन, मकाउ लगायतका देशमा पनि रकम संकलन अभियान संचालन भइसकेका छन्। करिव १५ करोड लागतमा बन्ने भवनको शिलन्यास आगामी 'एनआरएन डे' अर्थात् अक्टुवर ११ तारिखमा गर्ने योजना छ।
प्रकाशित: १० भाद्र २०७१ ०३:३२ मंगलबार





