देशको दक्षिणी भूभागमा गरिएको आगजनी र लुटपाटको एक दिनपछि चीनविरोधी दंगा मध्य भागमा पनि फैलिएको छ। जलसीमा विवादका कारण सन् १९७९ मा भएको सीमायुद्धपछि चीन–भियतनाम सम्बन्ध यसरी अत्यन्त बिग्रेको थिएन।
भियतनामको विदेश मन्त्रालयका प्रवक्ता ली हाई बिन्हले दंगामा एक जना मारिएको पुष्टि गर्दै सामाजिक सञ्जालमा उल्लेख भएका मृतक संख्या आधारहीन भएको बताए।
चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले भने कम्तिमा दुई जना चिनियाँ मारिएको र सय भन्दा बढी घाइतेलाई अस्पताल भर्ना गरिएको जनाएको छ।
भियतनामका प्रधानमन्त्री न्गुएन तान डङले स्थानीय प्रहरी, राज्य र स्थानीय प्रशासनलाई प्रान्तमा शान्ति तथा सुरक्षा कायम गर्न निर्देशन दिएका छन्। उनले सर्वसाधारणको जनधनको सुरक्षा गर्न पनि निर्देशन दिएका छन्।
योजना तथा लगानी मन्त्रालयले अतिवादीमाथि दंगाको आरोप लगाएको छ। मन्त्रालयले अतिवादीका यस्ता हिंसक क्रियाकलापले देशमा वैदेशिक लगानीको वातावरण बिगार्ने चिन्ता व्यक्त गरेको छ।
दंगाकारीले हा तिन्हस्थित निर्माणाधीन स्टिल कारखानामा आगजनी गरेका थिए। ताइवानको फर्मोसा प्लास्टिक समूहले उक्त स्टिल कारखाना स्थापना गर्न लागेको थियो। फर्मोसा समूह भियतनाममा सर्वाधिक लगानी गर्ने विदेशी समूह हो। भियतनामी र चिनियाँ कामदारबीच झडप हुँदा कारखानामा आगजनी भएको थियो। ताइवानले झडपमा एक जना चिनियाँ कामदार मारिएको र ९० जना घाइते भएको जनाएको छ। तर ती घाइते हा तिन्ह अस्पतालमा उपचार भइरहेका हुन् वा अरु नै हुन् स्पष्ट भएको छैन।
हा तिन्हमा निर्माणाधीन कारखाना दक्षिण पूर्वी एसियाकै सबैभन्दा ठूलो स्टिल कारखाना हुने बताइएको छ। सन् २०१७ मा कारखानाले उत्पादन सुरु गर्ने अपेक्षा थियो। आगजनीबाट भएको क्षतिको एकिन विवरण तत्काल आउन नसकेको कम्पनीले जनाएको छ। भियतनामको मध्यमा हा तिन्ह औद्योगिक पार्क निर्माण भइरहेको छ। सन् २०२० मा निर्माण पूरा हुने पार्कको निर्माण लागत २० अर्ब अमेरिकी डलर हुनेछ। पार्कमा एउटा बन्दरगाहसहित ६ भट्टीयुक्त २१ सय मेगावाटको ऊर्जा संयन्त्र पनि हुनेछ।
भियतनामको दक्षिणी भूभागका औद्योगिक क्षेत्रमा मंगलबार चीनविरोधी दंगा सुरु भएको थियो। चीन–भियतनामबीच विवादित दक्षिण चीन समुद्रको जलसीमा क्षेत्रमा चिनियाँ तेल उत्खनन संयन्त्र ल्याइएपछि दुवैबीच तनाव उत्पन्न भएको थियो। दंगामा चिनियाँ कारखानाको भ्रममा आगजनी गरिएका अधिकांश कारखाना ताइवानका परेका छन्।
चीनले दंगा हिंसक भएको र चिनियाँलाई निसाना बनाइएकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै भियतनामसँग आफ्ना नागरिक र लगानीको सुरक्षा गर्न आग्रह गरेको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुन्यिङले प्रदर्शनकारीको वितण्डामा आँखा चिम्लेको आरोप भियतनाममाथि लगाएकी छन्।
हो चि मिन्ह सहरनजिकैका बिन्ह डुओङ र डोङ नाई प्रान्तका औद्योगिक क्षेत्रमा मंगलबार प्रदर्शनकारीले ४ सय ६० कम्पनीमा लुटपाटपछि तोडफोड र आगजनी गरेका थिए। त्यहाँ कार्यरत चिनियाँ मजदुर दंगापछि कम्बोडियातर्फ भागेका छन्। कम्बोडियाका प्रहरी प्रवक्ता कर्ट चान्थारिथले बुधबार ६ सयभन्दा बढी चिनियाँ कामदार आफ्नो देश पसेको बताए।
दंगामा ४० जनाभन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन्। प्रहरीले बिन्ह डुओङ प्रान्तमा दंगा गर्ने करिब ६ सय जना पक्राउ गरेको छ।
प्रकाशित: १ जेष्ठ २०७१ २१:५१ बिहीबार





