बैंकक, (रोयटर्स)– थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री यिङलक सिनावात्रालाई अख्तियार दुरुपयोग अभियोगमा दोषी ठहर गर्दै पदबाट बर्खास्त गरेको छ।फैसलामा यिङलकले पदको दुरुपयोग गरी सन् २०११ मा सुरक्षा प्रमुख हटाएर आफन्तलाई लाभका पदमा सरुवा गरेको उल्लेख छ। अदालतले सरुवामा मुछिएका अन्य नौ मन्त्रीलाई समेत पद छाड्न आदेश दिएको छ। अन्य मन्त्री र सत्तारुढ दलकै कामचलाउ मन्त्रिपरिषद बनाउन अदालतले भनेको छ। यिङलकको बर्खास्तगीसँगै थाइल्यान्डमा ६ महिनायता गहिरिएको राजनीतिक संकट समाधान हुने सम्भावना टाढिएको छ। सत्तारुढ दल प्यु थाई र विपक्षी दल डेमोक्रेट्सबीच सडक प्रदर्शनसँगै हिंस्रक झडपको आशंका बढेको छ।
अदालतको फैसलालगत्तै बसेको मन्त्रिपरिषद बैठकले उपप्रधानमन्त्री तथा वाणिज्यमन्त्री निवाथाम्रोङ बुन्सोङफैजानले प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने निर्णय लिएको छ। कामचलाउ मन्त्रिपरिषद नेतृत्व गर्दै ६६ वर्षे निवाथाम्रोङको मुख्य प्राथमिकता जुलाई २० को चुनाव सफलतापूर्वक गराउनु हुनेछ।
प्रकाशित: २४ वैशाख २०७१ १९:३७ बुधबार