७ माघ २०८२ बुधबार
image/svg+xml
प्रवास

नरेन्द्र मोदीविरुद्ध कंग्रेसका अजय राय

बनारस– भारतको सत्तारुढ दल कंग्रेसले लोक सभा चुनावमा भाजपाका ‘प्रधानमन्त्री' उम्मेदवार नरेन्द्र मोदीविरुद्ध आफ्ना स्थानीय नेता अजय रायलाई उठाएको छ।
गुजरातका मुख्यमन्त्रीसमेत रहेका मोदी उत्तर प्रदेशको बनारस लोकसभा चुनाव क्षेत्रबाट उम्मेदवार भएका छन्। कंग्रेसका राय त्यहाँका स्थानीय विधायक हुन्। मोदीविरुद्ध आम आदमी पार्टीका नेता तथा दिल्लीका पूर्वमुख्यमन्त्री अरबिन्द केजरीवालले पनि बनारसबाट लोक सभा चुनावमा उम्मेदवारी दिएका छन्।
कंग्रेसका राय यसअघि सन् २००९ मा समाजवादी पार्टीबाट लोक सभा चुनावमा उठेका थिए। त्यसबेला रायले करिब १ लाख २५ हजार मत ल्याए पनि तेस्रो स्थानमा रहेका थिए। राय भाजपाका पूर्वनेता हुन्। उनी त्यहाँबाट पाँचपल्ट विधान सभा सदस्यमा विजयी भएका छन्। यसपल्ट मुलायमसिंह यादवको समाजवादी पार्टीले बनारसबाट कैलास चौरसिया र मायावतीको बहुजन समाजवादी पार्टीले विजयप्रकास जायसवाललाई चुनावमा उम्मेदवार बनाएको छ। कौमी एकता दलले भने मुख्तार अन्सारीलाई चुनावी मैदानमा उतारेको छ।
यसअघि सन् २००९ को लोक सभा चुनावमा बनारसबाट भाजपाका मुरलीमनोहर जोसीले जितेका थिए भने बसपाका मुख्ता अन्सारी दोस्रो स्थानमा रहेका थिए। त्यहाँ सन् २००९ मा कंग्रेसले भाजपाका जोसीविरुद्ध पूर्वसांसद राजेस मिश्रालाई उतारेको थियो। लोक सभा चुनावमा उनी चौथो स्थानमा रहेका थिए।

प्रकाशित: २५ चैत्र २०७० २१:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App