७ माघ २०८२ बुधबार
image/svg+xml
प्रवास

पृथकतावादीद्वारा स्वतन्त्रताको घोषणा

किभ, (एजेन्सी)– युक्रेनको पूर्वी सहर डोनेस्कमा सोमबार रुस समर्थक पृथकतावादीले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गरेका छन्।डोनेस्कका रुस समर्थक पृथकतावादीले सोमबार करिब ५० लाख सर्वसाधारणका लागि सार्वभौम जनगणतन्त्र स्थापनाको घोषणा गरे। रुसी भाषा बोल्ने पृथकतावादी वक्ताले आफूहरूले सार्वभौमसत्तासम्पन्न राज्य स्थापना गर्ने उद्धेश्यले जनगणतन्त्र डोनेस्क स्थापना भएको घोषणा गरेका थिए। 
घोषणाअघि उनीहरूले त्यहाँका सरकारी कार्यालय कब्जा गरेका थिए। डोनेस्कमा विकसित नयाँ घटना क्रमले युक्रेनमा विघटनको संकट देखा परेको छ। पृथकतावादीले युक्रेनको उक्त भूभाग रुसमा गाभिन जनमत संग्रह गर्ने दृढता व्यक्त गरेका छन्। 
उनीहरूले घोषणापछि अमेरिका समर्थक युक्रेनी नेताले आफ्नो स्वतन्त्रता अभियान रोक्न प्रयास गर्नसक्ने भन्दै रोक्ने प्रयास भए रुसी सेनासँग सहायता मागेका छन्। पृथकतावादीको घोषणापछि ४ करोड ६० लाख जनसंख्या भएको युक्रेन विभाजन संघारमा पुगेको छ। पृथकतावादीले रुसी सेना डाकेपछि युक्रेनमा रुसको सैन्य हस्तक्षेपको सम्भावना पनि बढेको छ। तीन दिनअघि मात्र नेटोका एक वरिष्ठ जनरलले युक्रेनी सीमामा जम्मा भएको रुसी सेना आक्रमण आदेशमात्र पर्खेर बसेको भन्दै युक्रेनमा एक साताभित्रै आक्रमण हुनसक्ने चेतावनी दिएका थिए। 
युक्रेनको रुससँग जोडिएको सीमाक्षेत्रमा १०औं हजार रुसी सेैनिक जम्मा भएको छ र लगातार अनुगमन गरिरहेका छन्। रुसले ब्ल्याक सीस्थित युक्रेनको पूर्वी प्रायद्विप क्रिमिया यसअघि नै आफूमा विलय गरिसकेको छ। क्रिमियाको विलयअघि युक्रेनमा रुससमर्थक राष्ट्रपति सत्ताच्युत भएका थिए। 
युक्रेनमा मे २५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ। युक्रेनमा रुस समर्थक पूर्वी भूभागले रुसमा गाभिन जनमत संग्रह गराउने प्रयासमा छन्। राष्ट्रपति पदका दुई मुख्य उम्मेदवारले छिमेकी शक्ति राष्ट्र रुसमाथि निर्भरताबाट मुक्त भएर युरोपेली संघमा आबद्ध हुने घोषणा गरेका थिए। 
रुस समर्थक हजारौं पृथकतावादीले ‘रुस, रुस' भन्ने नारा लगाउँदै खार्किभ र डोनेस्कस्थित प्रशासनिक तथा पूर्वी क्षेत्र लुगान्स्कमा सुरक्षा निकायका कार्यालय आइतबार कब्जा गरेका थिए। 
स्वतन्त्रताको घोषणापछि त्यहाँ उपस्थित भीडले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आफूहरूलाई मद्दत गर्न आग्रह गर्दै नारा लगाएका थिए। पृथकतावादी नेताले यसका लागि मे ११ भन्दाअघि नै क्षेत्रीय सार्वभौमसत्ताका लागि जनमत संग्रहसमेत गर्ने घोषणा गरे। पृथकतावादीले स्वतन्त्र राज्य युक्रेनको विरोधमा उभिन र शान्ति कायम गर्न आफ्नो सेना त्यहाँ पठाउन रुसी राष्ट्रपति पुटिनसँग आग्रह गरेका थिए। 
युक्रेनका प्रधानमन्त्री आर्सेनिक यात्सेन्युकले आफ्ना सहयोगी भिटाली यारेमालाई पृथकतावादीले कब्जा गरेको पूर्वी भूभागमा शान्ति व्यवस्था कायम गर्न पठाएका छन्। डोनेस्कको प्रशासकीय भवन सोमबार करिब दुई हजार रुस समर्थक पृथकतावादीले घेर्दा तीमध्ये केही सशस्त्र थिए। 
पूर्वी क्षेत्र लुगान्स्कको सुरक्षा निकायको कार्यालय रुस समर्थक पृथकतावादीले नियन्त्रणमा लिएका छन्। पृथकतावादीले खार्किभको प्रशासकीय कार्यालयसमेत आफ्नो कब्जामा लिएका छन्। युक्रेनका ३९ वर्षे प्रधानमन्त्रीले युक्रेन युरोपेली संघको सदस्य बन्ने र आर्थिक साझेदारी गर्ने भएपछि क्रुद्ध भएर आफ्नो देशमा हस्तक्षेप गर्न रुसले यस्ता हथकन्डा अपनाएको आरोप लगाए। 
उनले राजधानी किभमा भएको एउटा सरकारी बैठकमा परिस्थिति अझै अस्थिर बनाएर रुसी सेना युक्रेनमा पसेर देशका विभिन्न भूभाग कब्जा गर्ने रुसको योजना रहेको आरोप लगाए। उनले यस्तो परिस्थिति युक्रेन टुक्र्याउने उद्धेश्यबाट रुसी महासंघले सिर्जना गरेको आरोपसमेत लगाए। 
अमेरिका र युरोपेली संघको गठबन्धनले पहिले नै क्रिमिया आफूमा विलय गराएको भन्दै रुस युक्रेनलाई अझै विभाजन गर्न युक्रेनको क्षेत्रीय नीति नै आफ्नो हातमा लिन चाहेको आशंका गरेका छन्। युक्रेनले गएको साता मात्र क्षेत्रीय राजनीतिक सुधारको मस्यौदा स्वीकृत गरेको थियो।

प्रकाशित: २४ चैत्र २०७० २१:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App