पछिल्लो समय त्यस क्षेत्रमा चीन र फिलिपिन्सबीच जल सीमा विवाद चर्कंदै गएको छ। जनवरीमा आफूविरुद्ध मुद्धा हालेपछि चीनले कसैको पनि मध्यस्थता स्वीकार नगर्ने र मुद्धाले द्विपक्षीय सम्बन्ध बिग्रने चेतावनी फिलिपिन्सलाई दिएको थियो। चिनियाँ युद्धपोत छलेर विवादित टापुमा तैनाथ आफ्नो जल सेनालाई फिलिपिनी जहाजले रसदपानी पुर्याएको भोलिपल्टै फिलिपिन्सले उक्त जल क्षेत्र आफ्नो भएका प्रमाण पेस गरेको हो।
फिलिपिन्सले भने जल क्षेत्रमा चीनको दाबी सामुद्रिक कानुनबारे राष्ट्र संघीय कन्भेन्सनअनुसार अवैध भएको बताउँदै आएको छ। फिलिपिन्सका विदेशमन्त्री अल्बर्ट डेल रोजारियाले राष्ट्र संघीय अदालतमा फिलिपिन्सद्वारा ४० भन्दा बढी नक्सा र करिब ४ हजार पाना लिखित प्रमाण पेस गरेको जानकारी दिए।
उता, अदालतमा प्रमाण पेसबारे चीनले सोमबार फिलिपिन्सका राजदूतसँग बेइजिङमा कडा विरोध जनाएको छ। दक्षिण चीन समुद्रका विवादित जल क्षेत्रबारे अन्तर्राष्ट्रिय मध्यस्थता खोजेकोमा चीनले फिलिपिनी राजदूतसँग विरोध जनाएको हो।
चीनको राजधानी बेइजिङमा चिनियाँ विदेश उपमन्त्री लिऊ झेन्मिनले फिलिपिनी राजदूतसँग मुद्धाबारे अन्तर्राष्ट्रिय मध्यस्थता चीनले कहिल्यै नस्विकार्ने र सहभागी नहुने भन्दै विरोध जनाएका थिए।
प्रकाशित: १७ चैत्र २०७० २१:२२ सोमबार





