१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

जो ४४ वर्षदेखि लगातार चुनाव लडिरहे, अहिले १० औँ पटक उम्मेदवारी

यस पटकको प्रतिनिधि सभा निर्वाचनका लागि महोत्तरी–२ बाट उम्मेदवारी दिएका शरत्सिंह भण्डारी यस्ता पात्र हुन जसले २०३८ सालदेखि हालसम्म लगातार सबै निर्वाचनमा उम्मेदवारी दिँदै आएका छन्।

भण्डारीले यस पटक दिएको उम्मेदवारी १० औँ पटक हो। यसअघि ९ वटा निर्वाचनमा उनी उम्मेदवार भइसकेका थिए। ६ पटकका निर्वाचनमा उनी जितेका छन् भने, तीन पटक पराजित भएका छन्। 

हरेक पटकका निर्वाचनमा फरक फरक दलबाट निर्वाचन लडेको इतिहास पनि उनको छ। यस पटक भने जनता समाजवादी पार्टी (जसपा) नेपालबाट उम्मेदवारी दिएका छन्।

भण्डारीनिकट स्रोतले दिएको जानकारी अनुसार सुरुमा भण्डारीले ०३८ मा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य(रापस)को चुनाव लडेका थिए। त्यति बेला उनले महोत्तरीबाट चुनाव लडेर विजयी भएका थिए। भण्डारी लडेको दोस्रो चुनाव २०४३ को रापसकै थियो। महोत्तरी–२ बाट लडेका उनी त्यसमा पनि उनी विजयी भएका थिए। 

०४६ को परिवर्तनपछि पनि भण्डारी उम्मेदवार हुन छाडेनन्। २०४८ को प्रतिनिधिसभा निर्वाचनमा उनी राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)बाट महोत्तरी–५मा चुनाव लडेका थिए। त्यो बेला उनले ९ हजार ४५४ भोट ल्याए, तर चुनाव जित्न सकेनन्। 

२०५१को मध्यावधि प्रतिनिधिसभा निर्वाचनमा भण्डारी महोत्तरी–४ बाट स्वतन्त्र उम्मेदवार बने। त्यति बेला ११ हजार ३९५ मत ल्याएर विजयी भए। 

०५६ मा भने उनी नेपाली कांग्रेस प्रवेश भए। कांग्रेसले उनलाई महोत्तरी–५ मा उम्मेदवार बनाएको थियो। त्यति बेला उनले २० हजार ४८६ भोट ल्याएर जितेका थिए। 

०६४ मा उनी मधेसी जनअधिकार फोरमतिर लागे। पहिलो संविधानसभा निर्वाचनमा उनी महोत्तरी–६मा उम्मेदवार बने। त्यति बेला उनले १२ हजार १९४ भोट ल्याए पनि पराजित भएका थिए। 

२०७० को दोस्रो संविधान सभा निर्वाचनमा राष्ट्रिय मधेस समाजवादी पार्टीबाट भण्डारी महोत्तरी–६ र महोत्तरी–१ गरी दुई ठाउँमा चुनाव लडेका थिए। दुवै ठाउँमा उनी पराजित भए। त्यो बेला महोत्तरी–१ मा ७ हजार ४९ र महोत्तरी–६ मा  ६ हजार ६६० मत पाएका थिए। 

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा भण्डारी राष्ट्रिय जनता पार्टी(राजपा) बाट महोत्तरी–२ मा उम्मेदवार बनेका थिए। त्यति बेला ३० हजार ७२२ मत ल्याएर चुनाव जिते। 

२०७९को निर्वाचनमा उनी लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)मा पुगिसकेका थिए। त्यो बेला उनले महोत्तरी–२ रोजेका थिए। यो चुनाव पनि उनले जितेका थिए। 

भण्डारीले १० पटक चुनाव लडेका मात्र छैनन्, २० पटक मन्त्री भएर रेकर्ड समेत कायम गरेका छन्। उनी पहिलो पटक २०४३ असार २ गते मरिचमानसिंह श्रेष्ठ नेतृत्वको सरकारमा पञ्चायत तथा स्थानीय विकास सहायक मन्त्री भएका थिए।

त्यसपछि मन्त्री हुने उनको यात्रा निरन्तर जारी रह्यो । २०४५ कात्तिकमा उनी श्रेष्ठ नेतृत्व सरकारमै राज्यमन्त्रीमा नियुक्ति भए।

मरीचमान सरकार ०४६ भदौ १४ गते र ०४६ चैत १९ गते हेरफेर भयो। दुवै हेरफेरमा उनी वाणिज्य राज्यमन्त्री भए। दुवै पटक उनले राज्यमन्त्रीका रूपमा शपथ लिए। 

०४६ सालको परिवर्तनपछि गणतन्त्र कार्यान्वयन नहुँदासम्म उनी ११ पटक मन्त्री भएका छन्। गणतन्त्रपछि अहिलेसम्म पाँच पटक मन्त्री भएका छन्। 

बहुदल आएपछि भण्डारी २०५२ मंसिर २६ गते शेरबहादुर देउवा नेतृत्वको सरकारमा बिना विभागीय राज्यमन्त्री भएका थिए। २०५३ जेठ ४ गते मन्त्रिमण्डल हेरफेर हुँदा उनी पुनः बिना विभागीय राज्यमन्त्री भए। 

२०५३ पुस २४ गते भएको हेरफेरमा भने उनी राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा भए। तर त्यति बेला पनि उनी बिना विभागीय मन्त्री बनेका थिए। 

२०५४ असोज २७ गते सूर्यबहादुर थापा नेतृत्वको सरकारमा उनी युवा, खेलकुद तथा संस्कृति मन्त्री भए। थापाले २०५४ कात्तिक ११ गते र २०५४ मंसिर १८ गते मन्त्रीमण्डल पुनर्गठन गरे। दुवै हेरफेरमा भण्डारी पुनः युवा खेलकुद तथा संस्कृति मन्त्री नै कायम रहे।

२०५६ जेठ १७ गते कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा उनी युवा, खेलकुद र संस्कृति मन्त्री नियुक्त भएका थिए। भट्टराईले २०५६ असार १६ गते र २०५६ फागुन २७ गते मन्त्रीमण्डल हेरफेर गरे। पहिलो हेरफेरमा उनी युवा, खेलकुद तथा संस्कृति मन्त्री र दोस्रो हेरफेरमा उनी स्वास्थ्य मन्त्री नियुक्त भए।

२०५८ साउन ११ गते शेरबहादुर देउवा नेतृत्व सरकारमा उनी स्वास्थ्य मन्त्री नियुक्त भए। २०५८ कात्तिक २ गते देउवाले मन्त्रीमण्डल हेरफेर गरे। त्यसमा उनी स्वास्थ्य मन्त्री नियुक्त भए। 

२०६५ जेठ ११ गते माधव नेपाल नेतृत्व सरकारमा उनी पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त भए। यसै गरी २०६८ भदौ २९ गते डा. बाबुराम भट्टराई नेतृत्व सरकारमा उनी रक्षा मन्त्री नियुक्त भए। 

२०७८ जेठ २१ गते केपी शर्मा ओली नेतृत्व सरकारमा उनी छोटो समयका लागि ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री नियुक्त भए। यसै गरी २०७९ चैत १७ गते पुष्पकमल दाहाल नेतृत्व सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री नियुक्त भए। 

केपी शर्मा ओली नेतृत्व पछिल्लो सरकारमा उनी पुनः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री नियुक्त भए। भण्डारीले मरीचमान सिंह श्रेष्ठ, शेरबहादुर देउवा, कृष्णप्रसाद भट्टराई, सूर्यबहादुर थापा, माधव नेपाल, बाबुराम भट्टराई, केपी शर्मा ओली, पुष्पकमल दाहाल सरकारमा मन्त्री भइसकेका छन्। 

यसै गरी यस पटक लमजुङमा एमालेबाट प्रतिनिधि सभा सदस्यको लागि  उम्मेदवारी दिएका पृथ्वी सुब्बा गुरुङले पनि २०४३ साल देखि हरेक निर्वाचनमा उम्मेदवारी दिँदै आएका छन्। यस पटक उनको नवौँ पटकको उम्मेदवारी हो।

प्रकाशित: ६ माघ २०८२ १९:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App